प्रहरीको पेस्तोल खोसेर चलाउँदा आफैँलाई गोली लागी एक जना घाइते, खाग तस्करका आरोपी अरु दुई जना पक्राउ
बुटवलको सुख्खानगरस्थित एक होटलमा आज बिहान प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ। प्रहरीको गोली खोसेर प्रहार गर्ने क्रममा आफैँलाई गोली लागेर एक जना घाइते भएका छन्।
बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा खागको कारोवार हुँदै गरेको सूचना पाएपछि प्रहरी त्यहाँ पुगेको थियो। तर, तस्करले प्रहरीकै पेस्तोल खोसेर गोली चलाएका थिए।
आफूले चलाएको गोली आफैँलाई लागेपछि उनी घाइते भएका छन्। प्रहरीले घाइतेको नाम खुलाएको छैन। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार तस्कर समूहका ती सदस्यको चिउँडोमा गोली लागेको छ। उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
प्रहरीले तस्कर समूहका चारमध्ये सुर्खेत घर भएका भक्तबहादुर थापा र जाजरकोट घर भएका कर्णबहादुर रावतलाई नियन्त्रणमा लिएको छ। अर्का एक जना प्रहरीको घेरा तोडेर भागेको प्रनाउ राठौरले जानकारी दिए।
होटेलमा खाग तस्कर बसिरहेको सूचनाका आधारमा प्रहरी सादा पोशाकमा पुगेको थियो। खाग तस्करले प्रहरीकै पेस्तोल खोसेर गोली प्रहार गरेको थियो।