सुर्खेतमा एक कोरोना संक्रमितको मृत्यु, कर्णालीमा अहिलेसम्म २० जनाको ज्यान गयो
सुर्खेतमा शनिबार राति कोरोनाभाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।
गए राति सुर्खेतको पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो। उनलाई गएको ९ मंसीरमा संक्रमण पुष्टि भएको थियो।
घरैमा बसिरहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि कर्णाली प्रदेश अस्पताल कालागाउँको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। तर, शरीरमा अक्सिजनको मात्रा घट्दै गएर उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
उनको शवलाई जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाको समन्वयमा व्यवस्थापन गर्ने जनाइएको छ।