ला लिगामा बार्सिलोना २९ वर्षपछि काडिजसँग पराजित
स्पेनिस ला लिगामा बार्सिलोना २९ वर्षपछि पहिलोपटक काडिजसँग पराजित भएको छ। काडिजले सन् १९९१ यता जित निकाल्ने क्रममा घरेलु मैदानमा बार्सालाई २-१ गोल अन्तरले पराजित गरेको छ।
खेलमा तीनै गोल काडिजले नै गरेको हो। आठौँ मिनेटमा अल्भारो गिमेनेजले गोल गर्दै काडिजलाई अगाडि बढाएका थिए। तर, पेड्रो अल्कालाले आत्मघाती गोल गरेपछि बार्साले ५७औँ मिनेटमा बराबरी गरेको थियो।
६३औँ मिनेटमा अल्भारो नेग्रेडोले गोल गर्दै कार्डिजलाई ऐतिहासिक जित दिलाए। १२ खेलबाट १८ अंकसहित कार्डिज पाचौँ स्थानमा उक्लेको छ भने १० खेलबाट १४ अंक भएको बार्सा सातौँ स्थानमा यथावत छ।
अर्को खेलमा एट्लेटिको मड्रिडले रियल भाल्लाडोलिडलाई २-० ले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ। एट्लेटिकोका लागि थोमस लेमार र मार्कोस लोरेन्टले गोल गरे। जितपछि एट्लेटिकोको १० खेलबाट २६ अंक भएको छ। दोस्रो स्थानको रियल सोसिडाडको ११ खेलबाट २४ अंक छ।
११ खेल नै खेलेको रियल मड्रिड २० अंकसहित तेस्रो स्थानमा छ। उसले हिजै भएको खेलमा सेभिल्लालाई १-० गोलले हराएको छ। सेभिल्लाका यासिन बोउनोउले आत्मघाती गोल गरेपछि रियल विजयी भएको हो। सेभिल्ला १० खेलबाट १६ अंकसहित छैटौँ स्थानमा छ।