हार मानेका छैनन् ट्रम्प, परिणाम उल्टाउन जर्जियाका गर्भनरलाई दिँदैछन् दबाब
अमेरिकाको जर्जिया राज्यमा मतपरिणाम उल्टाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँका रिपब्लिक गभर्नरलाई दबाब दिएका छन्।
ट्रम्पले ट्विटहरुको श्रृङ्खला नै बनाएर उनले गर्भनर ब्रायन केम्पलाई संसदको विशेष अधिवेशन बोलाउन आग्रह गरेका छन्। उनले आगामी सिनेट निर्वाचनको प्रचार क्याम्पेनमा उपस्थित हुनुभन्दा केही घन्टाअघि यस्तो आग्रह गरेका हुन्।
राष्ट्रपति ट्रम्प अझै पनि कुनै प्रमाणविना नै डेमोक्र्याट उम्मेद्वार जो बाइडेनले धाँधली गरेर राष्ट्रपतिको चुनाव जितेको आरोप लगाइरहेका छन्। उनले धेरै राज्यमा कानूनी चुनौती दिए पनि सफल हुन सकेका छैनन्।
निर्वाचनमा जर्जिया निर्णायक राज्य थियो र यसका जो बाइडेनले साँघुरो जित हासिल गरेका थिए। सन् १९९२ यता यो राज्यमा पहिलोपटक डमोक्र्याटहरुले जितेका हुन्।
अब यहाँ सिनेटमा नियन्त्रणका लागि संघर्ष शुरु भएको छ। आगामी जनवरीमा यहाँ हुने निर्वाचनमा डेमोक्र्याटहरुले जिते माथिल्लो सदनमा रिपब्लिकहरुले नियन्त्रण गुमाउनेछन्।
वाशिङ्टन पोष्टले जनाए अनुसार ट्रम्पले गभर्नर केम्पलाई शनिबार बिहान प्रयोग नभएका हस्ताक्षर गरिएका मतपत्रको अडिट माग्न आग्रह गरेका थिए। तर, यस्तो अधिकार आफूलाई नभएको भन्दै केम्पले अस्विकार गरेका थिए।
त्यसपछि उनले ट्विट गर्दै गर्भनरमाथि दबाब सिर्जना गरेको बीबीसीले उल्लेख गरेको छ। उनले गर्भनर केम्पलाई मेन्सन गर्दै ट्विटरमा लेखेका छन्, “यदि गर्भनर ब्रायन केम्प वा राज्य सचिवले हस्ताक्षर रुजु गर्ने आदेश दिए म सजिलै र चाँडै जित्छु... तर, किन यी दुई ‘रिपब्लिकन्स्’ अस्वीकार गरिरहेका छन्?”
केम्पले पनि जवाफ दिँदै भनेका छन्, “सार्वजनिक रुपमा हस्ताक्षर अडिटका लागि तीन पटक आह्वान गरिएको छ।” यसमा फेरि ट्रम्पले लेखेका छन्, “तिम्रा मानिस त्यसलाई अस्वीकार गरिरहेका छन्। तिनीहरु के लुकाइरहेका छन्?” उनले थपेका छन्, “कम्तीमा तत्काल संसदको विशेष सत्र बोलाउ। तिमी यो काम सजिलै र तुरुन्तै गर्न सक्छौ।”