महान् मोचार्ट, जसको शव बाटैमा छाडेर मलामी फर्के
अंग्रेजी मितिका हिसाबले नारायणगोपालको निधन डिसेम्बर ५, १९९० मा भएको थियो । संयोग, यही दिन डिसेम्बर ५, १७९१ मा अस्ट्रियाका महान् संगीतज्ञ मोचार्टको देहान्त भएको थियो । तर, त्योभन्दा पनि महासंयोग त यिनै नारायणगोपालले यूरोपका दुई शताब्दी पुराना प्रतिभालाई सम्झेर लेख नै लेखेका रहेछन् । नारायणगोपालको दुर्लभमध्येको एक लेख ।
अष्ट्रियाको साल्चबुर्ग भन्ने नगरमा २७ जनवरी, सन् १७५६ ई. मा ह्वोल्फगाङ्ग अमादयोज मोचार्टको जन्म भएको थियो।
तीन वर्षको उमेरदेखि नै संगीतमा विलक्षण गुणहरू देखाउन थालेकाले उनका बाबा संगीतकार लियोपोल्डले उनलाई संगीत सिकाएका थिए र थोरै अवधिमा संगीतको पाठमा असाधारण प्रगति गरेको देखेर लियोपोल्ड स्वयं आश्चर्यचकित भए। बालकको त्यस्तो गुण देखेर अनि आफू पनि गरीब भएको हुँदा उनले बालक मोचार्टलाई ६ वर्षको उमेरदेखि नै यूरोपका विभिन्न मुलुकहरूमा लगेर कन्सर्ट भ्रमण गरे।
मोचार्ट कलिलो बालक छँदाखेरि पनि तत्कालीन यूरोपका ठूल्ठूला संगीत–रचनाकार तथा राजा–महाराजाहरूको नजरमा एउटा प्रतिभासम्पन्न, परिपक्व कलाकार भैसकेका थिए। त्यसको ज्वलन्त उदाहरण हामी उनले ८ वर्षको उमेरमा एउटा सिंफोनी, १० वर्षको उमेरमा ओराटोरियो र १२ वर्षको उमेरमा अपेरा संगीत तयार पारेकोबाट दिन सक्छौं।
उनको स्मरणशक्ति पनि यति असाधारण थियो कि एकदिन रोमको सिष्टाइन च्यापेलमा ‘मिजरेरे’ संगीत कार्यक्रम सुनेर घर फर्किदा सम्झनाशक्तिद्वारा छेउदेखि टुप्पोसम्म नोटेशन अथवा स्वरलिपि तयार पारेछन् र भोलिपल्ट त्यहीं गएर अर्को एक पटक सुनेर आफूले अघिल्लो दिन तयार पारेको स्वरलिपिमा एक दुईवटा भूल सच्याएर त्यहींका पादरीहरूलाई सुनाए। पहिले त उनीहरू रीसले आगो भएका थिए कारण ‘मिजरेरे’ संगीत सिष्टाइन च्यापेलभन्दा बाहिर कहीं लान पाइँदैन थियो। तर पछि १५ वर्ष जति उमेरको कलिलो मोचार्टले त्यस्तो आश्चर्यको काम गरेको देखेर उनीहरूलाई खुशी पनि लाग्यो।
२९ अक्टूबर सन् १७८३ मा प्रागमा ‘डन जियोभानी’ नामक अपेरा प्रदर्शित हनु एक दिनअघि त्यसको लागि ओभरच्योर-संगीत तयार पारेर उनले आफ्नो सृजनात्मक प्रतिभालाई परिचय दिएर संगीतको जगत्मा हलचल मच्चाइदिएका थिए।
आफ्नो संगीतको जादूले सारा यूरोपलाई स्तब्ध पारे। तरपनि उनी जीवनभर गरीबको गरीब रहे। संगीतको त्यत्रो सेवा गरेर जीवनमा उनले केही पाएनन्, सिवाय ताली र कोशेली। यी सबदेखि उनलाई यति वाक्क लागिसकेको थियो कि सौगात स्वरूप पाएका १४ वटा घडी दुइटै हातमा लगाएर सडकमा हिंड्ने गर्थे यसनिम्ति कि अब पन्ध्राैं घडी कसैले दिने साहस नगरोस् भनेर।
तर जतिसुकै प्रतिभाशाली तथा महान् किन न होऊन् जीवनभर उनलाई जीवन धान्नै समस्याले भने छोडेन। ६ देखि २५ वर्षको उमेरसम्म कुनै राम्रो संरक्षकको खोजीमा, जसबाट उनको आर्थिक अवस्था सुध्रोस् भन्ने हेतुले यूरोपका विभिन्न ठाउँमा पटकपटक गरेर ११ वटासम्म कन्शर्ट यात्रा गरे भनी उनका जीवनी–लेखकहरूले लेखेका छन्।
उनी यात्राको क्रममा म्युनिख, बर्लिन, भियना, मामहैन, औग्सबर्ग, पेरिस, लण्डन, हलैण्ड, जूरिख, इटली आदि ठाउँहरूमा पुगे र आफ्नो संगीतको जादूले सारा यूरोपलाई स्तब्ध पारे। तरपनि उनी जीवनभर गरीबको गरीब रहे। संगीतको त्यत्रो सेवा गरेर जीवनमा उनले केही पाएनन्, सिवाय ताली र कोशेली। यी सबदेखि उनलाई यति वाक्क लागिसकेको थियो कि सौगात स्वरूप पाएका १४ वटा घडी दुइटै हातमा लगाएर सडकमा हिड्ने गर्थे यसनिम्ति कि अब पन्ध्राैं घडी कसैले दिने साहस नगरोस् भनेर।
जे होस्, उनले हिम्मत कहिल्यै हारेनन्। ईश्वरमाथि उनको अगाध श्रद्धा एवं भक्ति थियो। आफ्ना पितालाई उनी देवतुल्य मान्थे। दीनदुःखीमाथि माया र सहयोग गर्ने उनको बालककालदेखिको गुण थियो। उनको यही आध्यात्मपन र सोझोपनाले गर्दा नै होला उनलाई जीवनमा ठग्ने व्यक्तिहरू पनि कम देखा नपरेका हैनन् तर उनलाई यसको केही परवाह थिएन। आफूले खान आँटेको गाँस पनि अरूलाई दिएर उनी सन्तोषको सास फेर्थे। यसबाट मोचार्टको उदारता र मानवताको झल्काे प्रष्ट देखा पर्दछ।
सत्यम्, शिवं, सुन्दरंको आधारमा आफ्नो कला पोख्ने मोचार्टलाई शेक्सपियर, गोएथे, माइकल एञ्जेलो जस्ता महान् व्यक्तिहरूसित तुलना गरेको पाउँछौं तापनि राफेलसित उनको तुलना राम्ररी गरेको हामी ग्रोम्स डिक्सनेरीमा पाउँछौं।
कसै कसैले बेथोभेनसित पनि उनलाई तुलना गरेको हामी पाउँछौं। एक दुईवटा कुरामा दुवैको मेल खान्छ होला तर बेथोभेन र मोचार्टमा हामी त्यत्तिकै विरोधाभास पाउँछौं जत्तिको समुद्रको छालको माझ सदियौंदेखि ठिंग उभिराखेको ठूलो चट्टान र पहाडी खोलाको किनारमा फुलेको एउटा सुन्दर फूल। अर्को वाक्यमा भन्ने हो भने बेथोभेन विद्रोही र क्रान्तिकारी थिए भने मोचार्ट शान्तिप्रिय तथा निराशावादी।
मोचार्टको जीवनमा शत्रु र मित्र पनि बराबर आइरहेको हामी पाउँछौं। समय समयमा उनको ख्यातिदेखि जल्नेहरूले उनलाई खूब सताएका थिए तापनि जे. सी. बाख, हाइडन, हेसे आदि जस्ता उदार मित्रहरूले उनलाई सघाउ पनि पुर्याएका थिए भन्ने तथ्यलाई कसैले अस्वीकार नगर्ला। तर उनको संगीतलाई प्रभाव पार्नेमा मुख्यतः जोजफ हाइडनलाई नै मान्नुपर्छ। हाइडन तथा मोचार्टले एक अर्काबाट निकै शिक्षा हासिल गरेको पनि हामीलाई थाहा छ। स्ट्रिङ क्वार्टेटको बारेमा त मोचार्टले ‘हाइडनबाट न सिकेको हुँ’ भनेर स्वीकार गरेका छन्।
अर्केष्ट्राको परिस्कृत रूप उनले सन् १७७८ ई.मा मानहैन भन्ने नगरमा देखेका थिए। मानहैनबाट नै सिंफोनीको विकसित रूप जन्मेको हो भन्ने धेरैको भनाइ छ। जुन बेला मोचार्ट मानहैन पुगे, त्यस बखत त्यहाँ क्रिश्चियन कानाथीष भन्ने महाशयले मानहैन संगीत विद्यालयमा संगीतनिर्देशकको काम गर्दै थिए। त्यहाँको वातावरणले मोचार्टलाई तुरून्त आकृष्ट पार्यो। उनले धेरै दिन त्यहाँ बसेर अर्केष्ट्राको अध्ययन गरे। सायद क्लेरिनेटको पहिलो प्रयोग पनि उनले यहीं देखेका थिए।
पछि गएर मोचार्टको संगीतमा विशेष गरेर सिंफोनी तथा कंचेर्टोहरूमा यहाँको छाप परेको प्रष्ट देखिन्छ। त्यति मात्र होइन मानहैन पुगेर उनले पहिलो पटक एलोइसिया ह्वेबर नामक गायिकासित पनि प्रेम गरे। फलस्वरूप आफ्नो पेरिस यात्रा पनि बिर्सेर निकै दिन त्यहीं अलमलिएर रहे।
तर, पछि आफ्ना बाबाले संझाई बुझाई चिठीमा लेखेर पठाएछन् र पेरिस पुगेर तुरून्त आफ्नो नाम रोशन पारू भनी लेखी पठाएको हुँदा पिताको आज्ञा शिरोपर गरी उनी आफ्नी प्रेयसी र मानहैनलाई छोडेर पेरिस तिर प्रस्थान गरे। आफ्नो बाबुको आज्ञाको अगाडि स्त्री-प्रेमलाई त्याग्नु मोचार्टको लागि कुनै ठूलो कुरो थिएन। त्यति बेला उनका पिता नै उनका लागि सर्वस्व थिए।
उनी भन्थे– ईश्वरपछि बुबा संसारमा सबभन्दा ठूलो भनेर। जेहोस्, पेरिसबाट फर्केपछि म्युनिखमा उनकी प्रेयसी एलोइसियाले उनलाई ठुक्राई दिइन्, अनि एलोइसियाकी बहिनी कंस्टेजी ह्वेबरसित लागेर १७८२ को अगष्ट महीनामा विवाह गरे, जसबाट उनका दुई सन्तान पनि भए।
वैवाहिक जीवनले उनीहरूलाई अब झन आर्थिक संकट पैदा भएर आयो। यस्तै संकटको समयमा सन् १७८२ मा उनको ‘फिगारोको विवाह’ नामक अपेराले भियनामा सफलता हासिल गरेकाले अष्ट्रियाका राजा फ्रांसिस जोजेफले उनलाई वार्षिक चार सय डलर जतिमा आफ्नो दरबारको संगीतकार बनाई राखे। तर त्यतिले मोचार्टको आर्थिक जीवनमा कुनै अन्तर आएन कारण मोचार्ट दम्पतीलाई आम्दानी खर्चको ज्ञान पटक्कै थिएन।
त्यस्तो अवस्था देखेर प्रसियाका राजा फ्रेडरिख विलियम द्वितीयले उनलाई वार्षिक १६००० जतिमा आफ्नो दरबारमा राख्न खोज्दा मोचार्टले भनेका थिए– ‘म मेरो राजालाई कसरी छाड्न सकुँला ?’ पछि जीवनदेखि वाक्क भएर प्रसिया दरबारमा नोकरी गर्न लागेका बेलामा अष्ट्रियाका राजाले भनेका थिए– ‘के मोचार्ट, तिमीले साँचै मलाई छाड्न लागेको ?’ यस्तो सुन्दा उनले विन्ती गरे– हैन सरकार म यस्तो गर्न सक्तिन, मबाट भूल भयो, क्षमा पाऊँ’ । यो घटनाले मोचार्टको देश तथा राजभक्तिको भावना कति विशाल रहेछ भन्ने कुरा सजिलैसित बुझ्न सकिन्छ।
जीवनभर आर्थिक संकटको भारले थिचिए तापनि ३५ वर्षको अवधिभित्र हजारौं प्रकारका संगीत रचना गरेर उनले विश्व संगीतलाई ठूलो योगदान दिएका छन्। विख्यात् संगीत–रचनाकार मोचार्टको रचनाको वास्तवमा १७८१ मा प्रदर्शित ‘क्रेटका राजाईदोमेन्यो’ देखि परिपक्व भएर सफलताको खुड्किलो चढ्न थालेको थियो। तत्कालीन समाजले उनलाई वाद्य-संगीत र अरू खालका संगीतभन्दा अपेरा–संगीतको क्षेत्रमा विशेष मान्यता दिएको हामी उनको जीवनका घटनाहरूबाट अन्दाज लगाउन सक्तछौं।
जीवनभर दुःख पाएर एकजना अज्ञात व्यक्तिको लागि करीब २५०० रू. जति ज्यालामा एउटा ‘रेक्वियम’ अर्थात् मृतात्मालाई सात्वना प्रदान गर्ने संगीत बनाउँदा बनाउँदै ५ डिसेम्बर सन् १७९१ मा उनी सधैंका लागि मौन भए। बाटामा डरलाग्दो आँधीबेरी आएकाले सर्वव्यापी परमेश्वरको निगाहमा उनको मृत देहलाई बीच बाटैमा छाडी मलामी जाने साथीहरू फर्के। आजसम्म उनको शरीर कुन ठाउँमा कहाँनेर छ भनेर कसैले पनि भन्न सकेको छैन।
‘एब्डक्शन फ्रम सेराग्लियो’, ‘फिगारोको विवाह’, ‘बन जियोभानी’, ‘द मेजिक फ्लूट’ आदि जस्ता महान् अपेराको संगीत दिएर उनले जर्मन अपेराको इतिहासमा सुनौलो अध्याय थपेर ठूलो गुण गरेको जर्मनहरूले कदापि बिर्सन सक्तैनन्। सिंफोनीको क्षेत्रमा पनि उनले प्रशस्त योगदान दिएका छन्। उनका सिंफोनीहरूले जीवनका चोट र व्यथाहरूलाई चित्रित गरेको हामी उनले सन् १७८८ मा रचेका अन्तिम तीनवटा सिंफोनीहरू ई ल्पयाट मेजर, जी माइनर र सी मेजर अर्थात् ‘जुपिटर’मा पाउन सक्छौं।
यी तीनवटा सिंफोनीहरूलाइ ठूल्ठूला संगीत–आलोचकहरूले मुक्तकंठले प्रशंसा गरेका छन्। उक्त तीन सिंफोनीहरू केबल ६ हप्ताभित्र तयार पारेको हो। यसरी सिंफोनीको सशक्त रूप तयार पारेर उनले बेथोभेन र ब्राम्जको मार्गमा एउटा ठूलो संपत्ति छोडेर गएको कुरा सत्य हो। अपेरा र सिंफोनी मात्र हैन उनको कंचेटों, सोनाटा, चेम्बर म्युजिक, चर्च संगीत पनि अति प्रसिद्ध छन्।
हाइडनलाई समर्पण गरेको ६ वटा स्ट्रिङ क्वार्टेट आज यति मीठो मानिन्छ कि त्यसको यहाँ वर्णन गर्न सायद घंटौं लाग्ने छ। क्वार्टेटबाट प्रेरित भएर उनले दुइवटा भायोलिन, दुइवटा भायला र एउटा चेलोको संयुक्त रूप खडा गरेर स्ट्रिङ क्विन्टेटको आविष्कार गरेका थिए भन्नुमा सायद अत्युक्ति नहोला। पियानो कंचेर्टो, भायोलिन कंचेर्टो, क्लेरिनेट कंचेर्टो, फ्लूट कंचेर्टो अनि बेजून कंचेर्टो एकपछि अको सृजना गरेर उनले आफ्नो नामलाई सार्थक पारेको हामीले भुल्नुहुँदैन। यसले मोचार्ट को नाम संगीतमा महान् छ।
जीवनभर दुःख पाएर एकजना अज्ञात व्यक्तिको लागि करीब २५०० रू. जति ज्यालामा एउटा ‘रेक्वियम’ अर्थात् मृतात्मालाई सात्वना प्रदान गर्ने संगीत बनाउँदा बनाउँदै ५ डिसेम्बर सन् १७९१ मा उनी सधैंका लागि मौन भए। बाटामा डरलाग्दो आँधीबेरी आएकाले सर्वव्यापी परमेश्वरको निगाहमा उनको मृत देहलाई बीच बाटैमा छाडी मलामी जाने साथीहरू फर्के। आजसम्म उनको शरीर कुन ठाउँमा कहाँनेर छ भनेर कसैले पनि भन्न सकेको छैन।
(प्रस्तुत लेख नारायणगोपाल सम्पादक/प्रकाशक रहेको बागीनाको पूर्णांक १७-१८ मा 'मोचार्टः एक छाेटो परिचय' शीर्षकमा छापिएको छ।)