यस्तो थियो अम्बेडकरको नेपाल यात्रा
सिंहदरबारको ग्यालरी बैठकमा थालनी भएको चौथो विश्व बौद्ध सम्मेलन १५ नोभेम्बर १९५६ को दिउँसो राजा महेन्द्रद्वारा उद्घाटन गरिएको थियो। हिन्दू राजाको उपस्थितिमा बौद्ध सम्मेलन हुनु र सरकारले सार्वजनिक बिदा समेत दिनु अनौठो परिघटना थियो।
गौतम बुद्ध जन्मिएको देशमा विश्वकै दुई जना महानतम दार्शनिकः बुद्ध र कार्ल माक्र्सबारे प्रवचन । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको, बुद्ध भएपछि पहिलो उपदेश दिएको र महापरिनिर्वाण (देहत्याग) गरेको भूमिमा जन्मिएका विद्वान्द्वारा बुद्ध दर्शन र माक्र्सवादी दर्शनबारे भाषण ।
हिन्दू धर्मलाई राज्य धर्मको रूपमा कायम राखिएको देशमा चतुर्थ विश्व बौद्ध सम्मेलन हुनु र हिन्दुस्थानका बौद्ध विद्वान् एवं राजनीतिक नेताद्वारा बुद्धवाद र साम्यवादबारे गहन सम्बोधन अनौठो घटना थियो । त्यो पनि हिन्दू अधिराज्यका हिन्दू सम्राट मानिने राजा महेन्द्रको सामु दुई गणतन्त्रवादी सिद्धान्तबारे व्याख्या गर्नु थप छक्कलाग्दो परिघटना थियो ।
यस अर्थमा धेरै अनौठा ऐतिहासिक पक्षको संयोग थियो सन् १९५६ मा काठमाडौँमा भएको चौथो विश्व बौद्ध सम्मेलन ।
सम्मेलनको उद्घाटन राजा महेन्द्रबाट भएको थियो भने भारतबाट डा. भीमराव अम्बेडकर र राहुल सांकृत्यायनजस्ता विद्वान् आएका थिए । एक थिए भारतीय संविधानका निर्माता, दलित नेता तथा बुद्ध धर्मावलम्बी विद्वान्, अर्का थिए आर्यसमाजी र बौद्ध भिक्षुबाट माक्र्सवादी लेखक बनेका महापण्डित । उनीहरूलाई सम्मेलनमा आमन्त्रण गरेका थिए, ‘वल्र्ड फेलोशीप अफ बुद्धिस्ट’का संस्थापक र सभापति प्रा. (डा.) जी.पी. मालासेकराले ।
बुद्ध धर्मबारे विद्वता र प्रतिबद्धता देखेर उनले सन् १९५० मा श्रीलंकामा र सन् १९५४ मा बर्मामा भएको विश्व बौद्ध सम्मेलनमा बोलाउँदै अम्बेडकरलाई विश्व बौद्ध मञ्चमा प्रस्तुत गरेका थिए ।
६ दशकभन्दा अघि भएको चौथो विश्व बौद्ध सम्मेलन दक्षिण एसियामा बुद्ध धर्मको पुनर्जागरणका लागि महत्वपूर्ण सावित भएको थियो । करोडौँ श्रमिक र शिल्पीलाई ‘शूद्र’ र ‘अछूत’ बनाउने हिन्दू वर्णव्यवस्था, ब्राम्हणवादी मूल्यमान्यता तथा जातपात–छुवाछूत प्रथाविरुद्ध दलित आन्दोलनको अगुवाइ गरेका अम्बेडकरले सो सम्मेलनको एक महिनाअघि मात्रै लाखौँ दलित अनुयायीका साथ बौद्ध धर्म अँगालेका थिए । त्यसले हिन्दूवादी भारतीय समाज, राज्यतन्त्र र धार्मिक व्यवस्थामा हलचल मच्चाइरहेकै बेला उनी नेपाल आएका थिए ।
‘यमि छेँ’मा बसाइँ
संसारमा ‘दलित’ शब्दलाई आत्मसम्मानको पहिचानका रूपमा प्रख्याति दिलाएका अम्बेडकरका लागि विश्व बौद्ध सम्मेलन पनि लडाइँको मोर्चा थियो । उनका सहकर्मीहरूको आग्रहका कारण उनी काठमाडौँमा हुने सम्मेलनमा सहभागी हुन तयार भएका थिए, जबकि उनी त्यसबेला शारीरिक रूपमा अस्वस्थ थिए ।
यस्तो अस्वस्थताबीच पनि उनी आफ्नो स्वास्थ्य उपचारको जिम्मा लिँदै आएका डा. मालवंकरका साथ नेपालसम्मको यात्रामा निस्केका थिए । उनी र उनको समूह पटनाबाट काठमाडौँका लागि १९५६ नोभेम्बर १४ मा उडेका थिए । समूहमा उनकी पत्नी डा. सविता अम्बेडकरका साथै औरंगाबादस्थित मिलिन्द महाविद्यालयका प्रिन्सिपल एम.बी. चिट्निस र बी.एच. वारेल पनि थिए ।
विमानस्थलमा ओर्लिंदा पनि उनलाई अरुको साथ र सहयोग जरुरी थियो । पाइलटको काँध समातेर प्लेनबाट झरेका अम्बेडकरको स्वास्थ्यमा काठमाडौँ बसाइँमा पनि खासै सुधार भएन ।
अम्बेडकरका लागि काठमाडौँमा बस्ने व्यवस्था कलकत्ताका एम. ज्योतिले मिलाएका थिए । उनीहरूलाई काठमाडौँमा ‘यमि छेँ’ नामक त्यस्तो घरमा बसाइएको थियो, जहाँ जातभात र छुवाछूतविरुद्ध व्यावहारिक संघर्ष छेडिएको थियो ।
जातभात र छुवाछूतका विरोधी धर्मरत्न यमि र हिरादेवी यमिको भुरांख्यःस्थित घरमा उनीहरूको बसाइँ आफैमा ऐतिहासिक थियो । लोकतान्त्रिक आन्दोलनका योद्धा एवं पूर्व उपमन्त्री धर्मरत्न यमिकै घरमा राहुल सांकृत्यायनको नेपाल बसाइ हुन्थ्यो । सम्भवतः सम्मेलनका लागि नेपाल आएका ती दुवै विद्वान्को एकसाथ बसाइँ भएको थियो ।
अम्बेडकरले काठमाडौँ बसाइँको क्रममा सम्पादनको काम गर्नेगरी केही पाण्डुलिपि लिएर आएका थिए । ती पाण्डुलिपि उनका अपूर्ण किताब र लेखसँग सम्बन्धित थिए । ‘दि बुद्ध एण्ड हिज धम्म’जस्ता बृहत् किताब लेखेपछि उनी ‘बुद्ध एण्ड माक्र्स’ र ‘रिभोल्युशन एण्ड काउन्टर रिभोल्युशन इन एन्शियन्ट इण्डिया’ नामक पुस्तक लेख्दैथिए । यात्रा, तनाव र अस्वस्थताबीच पनि उनको लेखाइ र सम्पादन जारी थियो । चतुर्थ बौद्ध सम्मेलनमा व्यक्त विचार त्यसकै प्रतिविम्बन र पोस्टस्क्रिप्ट थियो ।
धार्मिक क्रान्ति र बुद्ध धर्ममा रुपान्तरण
सिंहदरबारको ग्यालरी बैठकमा थालनी भएको चौथो विश्व बौद्ध सम्मेलन १५ नोभेम्बरको दिउँसो राजा महेन्द्रद्वारा उद्घाटन गरिएको थियो । हिन्दू राज्य भएको देशमा पनि टंकप्रसाद आचार्यको सरकारले देशभरि सार्वजनिक बिदा दिएको थियो । हिन्दू राजाको उपस्थितिमा बौद्ध सम्मेलन हुनु अनौठो परिघटना थियो ।
यसैबीच उद्घाटन समारोहलाई सम्बोधन गर्न उभिँदा अम्बेडकरलाई सबै प्रतिनिधिले हार्दिकतापूर्वक स्वागत गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विश्वसामु बुद्ध धर्म नै सबै धर्मभन्दा महानतम धर्मको रूपमा आफूले फेला पारेको तथ्य घोषणा गर्न सम्मेलनमा उपस्थित भएको मन्तव्य राखे । उनले बुद्ध धर्म कुनै एक धर्ममात्रै नभएर महान् सामाजिक सिद्धान्त पनि भएको निष्कर्ष पनि सुनाए ।
६ दिनसम्म चलेको सम्मेलनको क्रममा नोभेम्बर २० को दिन ३ बजे आयोजना गरिएको समापन समारोहमा राजा महेन्द्रको पनि उपस्थिति थियो । राजगद्दीमा बसेका राजा महेन्द्रसँगै भिक्षु ऊ चन्द्रमणि महाथेरा, प्रा. जी.पी. मालासेकरा, भिक्षु अमृतानन्द महाथेरा र बर्माका प्रधान न्यायाधीश ऊ चान तुन वरपर थिए ।
अपरान्ह ३ बजे तोकिएको समयमा डा. अम्बेडकर समारोहस्थल पुग्दा उनलाई ऊ चान तुन र उनकी पत्नीले सघाउपघाउ गरे । र, उनलाई सबै आयोजक र प्रतिनिधिहरूले उभिएर धूमधामका साथ हार्दिकतापूर्वक स्वागत गरे ।
प्रा. जी.पी. मालासेकराले स्वागत मन्तव्य राख्ने क्रममा भने, ‘‘आज, यो विश्व बौद्ध सम्मेलनमा भारतका महान् व्यक्ति हामीसँगै हुनुहुन्छ । उहाँको नाम होः डा. बीआर अम्बेडकर । उहाँले भारतको नागपुर शहरमा ५ लाख पददलितलाई बौद्ध धर्मावलम्बीमा धर्मान्तरण गर्दै महान् धार्मिक क्रान्ति सम्पन्न गर्नुभएको छ । आजको दिन विश्वभरिको प्रतिनिधिको तर्फबाट म उहाँलाई यस बौद्ध सम्मेलनमा हार्दिकतापूर्वक स्वागत गर्न चाहन्छु ।’’
अम्बेडकरलाई रंगीचंगी माला लगाएर भव्य स्वागत गरियो र धार्मिक विषयमा प्रवचनका लागि आग्रह गरियो । सुरुमा उनलाई आयोजक प्रा. मालासेकराले ‘बुद्ध धर्ममा अहिंसाको स्थान’बारे बोल्न प्रस्ताव गरेका थिए । प्रस्तावलाई सहजै सकारेका अम्बेडकरलाई बहुमत प्रतिनिधिले ‘बुद्ध र कार्ल माक्र्स’बारे सम्बोधन गर्न आग्रह गरे ।
उनको सम्बोधनको विषयको शीर्षकबारे भने मतैक्य छैन । कसैले ‘बुद्ध वा कार्ल माक्र्स’ भनेका छन् भने कसैले ‘बुद्ध र कार्ल माक्र्स’ । प्रवचनका लागि उनी उठ्दा उनकी पत्नी डा. सविता पनि उभिइन् । उनको उत्साह बढाउन सभास्थलमा व्यापक रूपमा ताली बज्यो । र, एकछिन चम्केका क्यामेरा पनि एकाएक मौन भए । त्यसपछि उनले ऐतिहासिक सम्बोधन गरे ।
काठमाडौँ प्रवचन अम्बेडकरको जीवनमा विश्वस्तरका कार्यक्रममा दिइएको अन्तिम सम्बोधन सावित भयो । नोभेम्बर २१ मा बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गरेका अम्बेडकर भोलिपल्टै काठमाडौँ फर्केर पटनातिर उडे । त्यसपछि बुद्धसँग जोडिएका बोधगया, कुशीनगर र सारनाथजस्ता महत्वपूर्ण स्थानको भ्रमणसँगै नोभेम्बर ३० मा दिल्ली गएपछि अस्वस्थता बढेपछि डिसेम्बर ६ मा उनको देहान्त भयो ।
सन् १८९१ अप्रिल १४ मा महार (सार्की) परिवारमा जन्मिएर भारतीय संविधानको निर्माताको हदसम्म भूमिका खेलेका अम्बेडकर मूलतः प्रख्यात दलित आन्दोलनका अभियन्ताको पहिचानसहित संसारमा परिचित छन् । कोलम्बिया युनिभर्सिटी र लण्डन स्कुल अफ इकोनोमिक्सजस्ता विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका अम्बेडकरले वर्ग (क्लास) र वर्ण (कास्ट) को मुद्दालाई जनमुखी लोकतान्त्रिक रूपान्तरणको एजेण्डा बनाएका थिए ।
गोरखापत्रमा अम्बेडकर
भारतीय संविधानका निर्माता डा. भीमराव अम्बेडकर आफ्नो जीवनकालमा एकपटक मात्रै नेपाल आएका थिए ।
चौथो विश्व बौद्ध सम्मेलनको अवसरमा ३० कार्तिक २०१३ मा अम्बेडकरको नेपाल आगमन र नेपाली दलित आन्दोलनमा अम्बेडकरका विचारको प्रभावलाई त्यस बखतको नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थालाई जोडेर हेर्नुपर्ने हुन्छ ।
अम्बेडकरको आगमनलाई तत्कालीन सरकारले निकै महत्व दिएको थियो । त्यस बेला राज्यको मुखपत्र मानिने ‘गोरखापत्र’मा प्रकाशित समाचारमा उनको यात्रालाई सरकारले विशेष महत्व दिएको तथ्य झल्किन्छ ।
२०११ सालमा बर्माको रंगुनमा तेस्रो बौद्ध सम्मेलन भएको थियो । त्यसै क्रममा तत्कालीन राजा त्रिभुवनको पालामा नेपालले चौथो सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको थियो । सम्मेलनको आयोजना गर्न नपाउँदै उनको मृत्यु भएको थियो । सम्मेलनको बेला राजगद्दीमा राजा महेन्द्र थिए भने प्रधानमन्त्रीको रूपमा टंकप्रसाद आचार्य थिए ।
चौथो विश्व बौद्ध सम्मेलनको अवसरमा गोरखापत्रले चौथो बौद्ध सम्मेलन विशेषांक प्रकाशित गर्न लेखकहरूसँग लेखरचना आह्वान नै गरेको थियो (गोरखापत्र २०१३ कार्तिक १०ः ३) । उक्त सम्मेलनमा नेपालका तर्फबाट जम्मा ३५ प्रतिनिधिले भाग लिएका थिए । तीमध्ये धर्मोदय सभाको तर्फबाट भिक्षु अमृतानन्द स्थविर, चित्तधर उपासक, भिक्षु सुवोद नन्द, सत्यमोहन जोशी, आशाराम शाक्य, कृष्णबहादुर मानन्धर र मणिहर्ष ज्योति थिए (२०१३ कार्तिक २६ ः १) ।
त्यस्तै, गोरखापत्रले सम्मेलनको अवसरमा कार्तिक ३० गते विशेषांक नै प्रकाशित गरेको थियो । सम्मेलनको आयोजनाका लागि तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य, फिल्डमार्सल केशर शम्शेरलगायतले चन्दा समेत दिएका थिए (कार्तिक १५ : १) ।
त्यसैगरी, विश्व बौद्ध सम्मेलनका निम्ति विभिन्न व्यक्तिले जम्मा १४ वटा मोटर धर्मोदय सभालाई प्रदान गरेका थिए (कार्तिक १३: २) । कार्तिक ३० गते भएको चौथो विश्व बौद्ध सम्मेलनका लागि टुँडिखेलस्थित खरीको रुख वरपर बौद्ध कलायुक्त भव्य मञ्च बनाइएको थियो । डा. मलाला शेखर (मलालासेकरा) को अध्यक्षतामा भएको समारोहको उद्घाटन राजा महेन्द्रले गरे भने स्वागत मन्तव्य प्रधानमन्त्री टंकप्रसाद आचार्यले दिए ।
त्यसपछि अर्धसरकारी समितिका सदस्य तथा प्रि.प्रा.से.मी.सु. लोकदर्शन, भिक्षु अमृतानन्द, डा. मलाला शेखर र डा. भीमराव अम्बेडकरले बौद्ध धर्मबारे भाषण गरे।
रेडियो नेपालले सो समारोहको प्रत्यक्ष प्रसारण गर्यो । सोही दिन दिउँसो सिंहदरबारस्थित ग्यालरी बैठकमा अतिथिहरूका लागि जलपान समारोह आयोजना गरियो (कार्तिक ३०: १४) ।
यो सम्मेलनले नै लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थलका रूपमा विधिवत् मान्यता दियो । डा. अम्बेडकरलगायतका सम्मेलनका प्रतिनिधिले कार्तिक ३० गते बेलुका सिंहदरबारमै ‘शान्तिदूत नाटक’ अवलोकन गरे । त्यस्तै, मंसिर १ गते सिंहदरबार नाचघरमा बालकृष्ण समद्वारा लिखित ‘हरित तारा’ नामक नाटक अवलोकन गरे । मंसिर २ गते नारायणहीटीमा राजाले जलपान समारोह आयोजना गरे ।
मंसिर ६ गते डा. अम्बेडकरसँगै भारतबाट आएका अर्का विद्वान राहुल सांकृत्यायनले मूल श्रीमहाविहारमा देखाइएको महायानी सांस्कृतिक कार्यक्रम हेरे। कार्यक्रम सिद्धिसकेपछि पनि डा. अम्बेडकरले करिब डेढ घन्टासम्म बज्रयानका विशेषज्ञसँग कुराकानी गरे । डा. अम्बेडकरहरू ७ गते लुम्बिनी हुँदै भारततर्फ लागे (मार्ग ८: १) ।
यसअघि २०१३ कार्तिक ८ गते भारतका राष्ट्रपतिले नेपाल भ्रमणको क्रममा सिंहदरबारमा आयोजित एक समारोहबीच नेपालमा हुन लागेको बौद्ध सम्मेलनको सफलताको शुभकामना दिएका थिए (कार्तिक १०ः२) ।
(राजेन्द्र महर्जन र शिवहरि ज्ञवालीद्वारा संकलित/सम्पादित ‘बुद्ध र कार्ल मार्क्स’ (२०७४) पुस्तिका बाट लिइएको सम्पादित अंश । पुस्तिकालाई समता फाउन्डेसनले प्रकाशित गरेको हो ।)