कस्तो प्रशिक्षकको पर्खाइमा छ नेपाली क्रिकेट ? ह्वाटमोरको सम्भावना कति ?
राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण चलिरहँदा नेपाल नयाँ मुख्य प्रशिक्षकको पर्खाइमा छ। अबको मुख्य प्रशिक्षकको काँधमा एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यतालाई कायम राख्दै टी–ट्वेन्टी क्रिकेटमा नेपालको सन् २०१४ को सफलता दोहाेर्याउनुपर्ने दायित्व छ। त्यसका लागि सबैभन्दा चर्चामा रहेको नाम हो, डेभ ह्वाटमोर।
सन् २०१४ मा नेपालले टी–ट्वेन्टी विश्वकप खेलेको मात्र होइन कि सम्झनायोग्य छाप छाडेको थियो। तीन खेलमध्ये अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो र बाङ्लादेशसँग पराजित भएको थियो। नेपाललाई यो सफलता दिलाउने प्रशिक्षक थिए, पुबुदु दासानायके।
दासानायकेअघि नेपालको प्रशिक्षक भएर श्रीलंकाली नागरिक रोय डायस नेपाल आएका थिए। अहिलेसम्म १३ विदेशी प्रशिक्षकले नेपाली खेलाडीलाई प्रशिक्षण दिइसकेका छन्। तर, तीमध्ये सम्झनायोग्य नाम दुई श्रीलंकालीको मात्र छ, पुबुदु दासानायके र रोय डायस।
डायसले सन् २००१ देखि करीब एक दशक नेपाली क्रिकेट हाँके। उनको पालामा नेपालले लगातार सन् २००२, २००४, २००६ र २००८ को १९ वर्षमुनि उमेर समूहको विश्वकपमा भाग लियो। सन् २००६ को विश्वकपमा त टेष्ट राष्ट्र न्यूजिल्याण्डलाई हराउँदै ‘प्लेट च्याम्पियन’ भएको थियो। सन् २०१० मा भने छनोट हुन सकेन।
उनको प्रशिक्षणमा लामो समय खेलेका पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचन रोय डायसले ‘ग्रास रुट’ बाटै नेपाली क्रिकेटलाई माथि उठाएको बताउँछन् । नेपाली क्रिकेट यहाँसम्म आइपुग्नका लागि डायसले नै जग बसाएको उनको भनाइ छ ।
पुबुदुले सन् २००११ देखि २०१५ सम्म नेपाली क्रिकेटका लागि समय खर्चिए। उनले सन् २०१३ मा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-३ को उपाधि जिताए। यो नेपाली क्रिकेटको ‘टर्निङ प्वाइन्ट’ थियो।
त्यसपछि आएका अर्का श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायकेले भने ‘सिनियर’ टीमलाई माथि उकासेको उनी बताउँछन्। उनले नतिजा राम्रो दिएको शक्तिको भनाइ छ। उनी भन्छन्, “नेपाल आएका प्रशिक्षकमध्ये नतिजाको हिसाबले पुबुदु सर उत्कृट हुनुभयो। उहाँले खेलाडीलाई जित्नका लागि प्रेरित गर्नुभयो। डायस सरले क्रिकेटको जग बसाएर जानुभयो।”
पुबुदुले सन् २०११ देखि २०१५ सम्म नेपाली क्रिकेटका लागि समय खर्चिए। उनले सन् २०१३ मा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-३ को उपाधि जिताए। यो नेपाली क्रिकेटको ‘टर्निङ प्वाइन्ट’ थियो। त्यसपछि डिभिजन-२ जित्दै १५ मार्च २०१८ मा नेपालले ओडीआई मान्यता पाउँदा जगत टमाटा प्रशिक्षक थिए। तर, यसमा पुबुदुको योगदान रहेको मानिन्छ।
क्षमता भएका युवा क्रिकेटरको पहिचान गर्न पुबुदु माहिर थिए। चितवन क्रिकेट एकेडेमीमा राजु खड्कासँग क्रिकेट सिक्ने सन्दीप लामिछानेलाई नेपाली टीममा भित्र्याउने पुबुदु नै थिए। सन्दीप पहिलोपटक यू–१९ टोलीमा समावेश हुनसकेका थिएनन्। तर, ‘ट्यालेन्ट हन्ट’ का लागि चितवन पुगेका पुबुदुले सन्दीपलाई सीधै काठमाडौं लिएर आएका थिए।
अबको नेपाली प्रशिक्षकले नेपाली खेलाडीको मनोवैज्ञानिक पक्ष र रणनीतिमा बढी काम गर्नुपर्ने शक्ति बताउँछन्। “सेट भइसकेका वरिष्ठ खेलाडीलाई स्किल सिकाउने होइन, उनीहरुको आत्मविश्वास बलियो बनाउने र विपक्षी टीमलाई बुझेर रणनीति बनाउने हो। पुबुदु सरले यो पक्षलाई ध्यान दिनुभएको थियो”, उनी भन्छन्।
नेपालको ब्याटिङ पक्ष परम्परागत रुपमा नै कमजोर छ। पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकरमा मात्र ब्याटिङ निर्भर छ। यी खेलाडी ‘ओपनिङ’ मा आउँदा मध्यक्रम धरासायी हुने गरेको छ। उनीहरुले मध्यक्रम सम्हाल्दा ओपनिङ गतिलो हुने गरेको छैन। खड्काबाहेक मल्ल र भेषवाकरको प्रदर्शनमा पनि स्थिरता छैन।
नेपालले अधिकांश खेल ब्याटिङकै कारण गुमाउने गरेको छ। पछिल्लो समय आरिफ शेख, रोहितकुमार पौडेल, कुशल मल्ल, सन्दीप जोरा जस्ता प्रतिभावान ब्याट्स्म्यानको उदय भएको छ। तर, उनीहरुको प्रदर्शन एकरुपको नहुँदा नतिजा सकारात्मक हुनसकेको छैन। त्यसैले अबको प्रशिक्षकले नयाँ खेलाडीलाई क्रिजमा टिक्ने आत्मविश्वास जगाउनुपर्ने आवश्यकता छ।
ब्याटिङ मात्र नभई नेपालको तीव्र र मध्यम गतिको बलिङ पनि कमजोरीको रुपमा रहेको छ। सोमपाल कामी र करण केसीले तीव्र गतिको बलिङमा केही आशा जगाएका छन्। तर, पर्याप्त ‘म्याच एक्सपोजर’ नहुँदा उनीहरुको प्रदर्शन पनि एकरुपको छैन। उनीहरुकै स्तरको तीव्र वा मध्यम गतिको तेस्रो बलर पनि नेपाली टीमसँग छैन। यो पनि अबको प्रशिक्षकको चुनौती हो।
नेपाललाई मुख्य प्रशिक्षकका अतिरिक्त ब्याटिङ र बलिङ प्रशिक्षक पनि चाहिने शक्ति बताउँछन्। जसकारण नेपाली खेलाडीमाथि प्रशिक्षकले व्यक्तिगत रुपमा ध्यान दिन सक्छ।
नेपाली क्रिकेटको फिल्डिङ पक्षलाई निकै राम्रो मानिन्छ। तर, गएको आईपीएलमा सन्दीप लामिछाने कमजोर फिल्डिङको कारण पनि दिल्ली क्यापिटल्सको अन्तिम–११ म पर्न नसकेको केही मिडियामा चर्चा चलेको थियो। त्यसकारण माथिल्लो स्तरको क्रिकेट खेल्नका लागि नेपाली क्रिकेटको फिल्डिङ थप सुधार गर्नुपर्ने आवश्यकता छ।
डेभ ह्विटमोरको सम्भावना कति ?
नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकको आवेदनकर्ता १२ जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा पठाएको जनाएको छ। क्यान सचिव अशोकनाथ प्याकुरेलले अबको साता आईसीसीले कुनै एउटा नाम अनुमोदन गर्न सक्ने सम्भावना रहेको बताए।
विभिन्न सञ्चारमाध्यममा तीन जनाको नाम अन्तिम सिफारिशमा आएको समाचार आए पनि त्यो गलत रहेको प्याकुरेलको भनाइ छ। उनी भन्छन्, “हामीले पठाएको १२ जनाबाट एक जना छनौट हुने हो। कोही तीन जनाको मात्र नाम अन्तिम सूचीमा राखिएको छैन। सबैको सम्भावना बराबर छ।”
क्यानले अष्ट्रेलियाका डेभ ह्वाटमोर, स्कटल्यान्डका निल म्याकरे, भारतका अपूर्व देसाई, चेतन शर्मा, श्रीलंकाका पुबुदु दासानायके, दक्षिण अफ्रिकाका लान्स क्लुज्नरलगायतको नाम आईसीसीमा पठाएको हो। यीमध्ये डेभ ह्वाटमोरलाई सबैभन्दा ‘हाई प्रोफाइल’ प्रशिक्षक मानिएको छ।
डेभ ह्वाटमोर प्रशिक्षक नियुक्त भए नेपाली क्रिकेटमा 'चमत्कार' हुनसक्छ, उहाँ अब्बल प्रशिक्षक हो। विश्वकप जिताइसक्नुभएको छ। उहाँ नियुक्त भए पक्कै नेपाली क्रिकेट अझै माथि उठ्नेछ।”
- पूर्व राष्ट्रिय खेलाडी शक्ति गाैचन
उनले अष्ट्रेलियाबाट सात टेस्ट र एक ओडीआई खेलेका छन्। त्यस्तै १०८ ‘फस्ट क्लास’ र २६ ‘लिष्ट ए’ को अनुभव पनि छ। उनले प्रशिक्षकको रुपमा श्रीलंकालाई सन् १९९६ को विश्वकप क्रिकेटको उपाधि दिलाएका थिए। श्रीलंकाको क्रिकेटलाई अहिलेको अवस्थामा पुर्याउन उनकै योगदान रहेको मानिन्छ।
त्यसबाहेक उनी बंगलादेश, पाकिस्तान र जिम्बाबेको प्रशिक्षक पनि भए। सन् २००८ मा विराट कोहलीको कप्तानीमा भारतले यू–१९ विश्वकप उपाधि जित्दा उनी नै प्रशिक्षक थिए। उनी गएको फेब्रुअरीमा सिंगापुरका क्रिकेट प्रशिक्षक नियुक्त भएका छन्।
डेभ ह्वाटमोर प्रशिक्षक नियुक्त भए नेपाली क्रिकेटमा 'चमत्कार' हुनसक्ने शक्ति बताउँछन्। उनी भन्छन्, “उहाँ अब्बल प्रशिक्षक हो। विश्वकप जिताइसक्नुभएको छ। उहाँ नियुक्त भए पक्कै नेपाली क्रिकेट अझै माथि उठ्नेछ।”
ह्वाटमोर यसअघि १० दिने क्याम्पका लागि सन् २०१७ मा नेपाल आएका थिए। नेपालले घरेलु मैदानमा केन्यासँग वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतका खेल खेल्नुअघि उनी ब्याट एन्ड बल फाउन्डेसनको निमन्त्रणामा नेपाल आएका थिए। क्याम्पमा सहभागी भएका गौचन ह्वाटमोरले प्रशिक्षकका क्रममा ‘स्किल’मा फोकस गरेको सम्झन्छन्। उनी भन्छन्, “उहाँ फ्रयाङ्क र फेन्ड्ली हुनुहुन्छ। खेलाडीलाई दबाब नदिई आफ्नो चाहना अनुसार खेल्न दिनुहुन्छ जस्तो लाग्छ।”
ह्वाटमोरले नेपाल आउने इच्छा व्यक्त गरे पनि कसैको पनि निश्चित नभइसकेको क्यान सचिव प्याकुरेल बताउँछन्। आईसीसीले राखेको शर्त, अब नियुक्त हुने प्रशिक्षकले नेपालका लागि दिने समय, तलबलगायत विषयमा सहमति नभई कसैको पनि सम्भावना बढी वा कम भन्न नमिल्ने उनी बताउँछन्।
अहिले सिंगापुरको राष्ट्रिय क्रिकेट हेरिरहेका ह्वाटमोरसँग तलबको कुरा मिले उनी आउने सम्भावना प्रबल छ। यसअघि नेपाल आएका उमेश पटुवाललाई आईसीसीले मासिक सात हजार डलर तलब दिएको थियो। तर, उक्त तलबबाट नेपाल सरकारले कर कट्टी गरेपछि उनी असन्तुष्ट भएका थिए।
त्यसअघि पुबुदु दासानायकेलाई मासिक १० हजार डलर दिइएको थियो। अहिले पनि उच्च श्रेणीको प्रशिक्षक नेपाल आउन चाहे क्यान १० हजार डलरसम्म तलब दिन तयार रहेको स्रोतको भनाइ छ।