ओली र दाहालको प्रस्ताव स्थायी कमिटीमा लैजाने नेकपाको निर्णय
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सचिवालयमा पेश भएका सबै प्रस्तावलाई छलफलका लागि स्थायी कमिटीमा लैजाने भएको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा पेश गरेका प्रस्ताव छलफलका लागि आइतबार बस्ने स्थायी कमिटीको बैठकमा लैजाने निर्णय गरेको हो।
शनिबार बसेको सचिवालय बैठकले प्रस्तावमाथि ठोस निर्णय गर्न नसकेपछि स्थायी कमिटीमा लैजाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
“अब पार्टीको संकट र यसको निवारणका लागि छलफल गरेर निश्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाइनेछ”, प्रवक्ता श्रेष्ठले भने, “पार्टीमा अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरू स्थायी कमिटीमा पेश गरेर छलफल हुनेछ।”
प्रवक्ता श्रेष्ठले शनिबार सचिवालय बैठकअघि अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफल पार्टीभित्रको समस्या समाधानमै केन्द्रीत रहेको पनि बताए।
“आजकै छलफलले कुनै निश्कर्ष निकाल्न सम्भव पनि थिएन। तर, अध्यक्ष कमरेडहरूका बीचमा छलफलको प्रक्रिया पनि अगाडि बढेको छ। आवश्यक परे नेताहरूबीचको औपचारिक/अनौपचारिक छलफल पनि हुनेछ”, श्रेष्ठले भने।
नेकपाको स्थायी कमिटी बैठक आइतबार, २१ मंसीरमा दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ।