नेकपा सचिवालय बैठकअघि सहमतिको प्रयास, ओली आफू निकट नेताहरुसँग परामर्शमा
नेकपाको आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकअघि सहमति जुटाउने प्रयास भइरहेको छ। जसका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरुले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन्।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति कायम गराउन अनौपचारिक माध्यमबाट विभिन्न प्रयास भइरहेको नेकपाका एक स्थायी समिति सदस्यले हिमालखबरलाई बताए। “प्रयासहरु जारी छन्, साढे १२ बजेसम्म केही हुन्छ कि भन्ने सकारात्मक संकेत मिलेको छ,” ओली र दाहाललाई मिलाउन लागिपरेका ती नेताले भने।
नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले पनि सचिवालय बैठकअघि सहमति कायम गर्न प्रयास जारी रहेको बताए। नेकपाका अध्यक्षद्वय ओली र दाहालबीचको विवादले नेकपाभित्र संकट उत्पन्न भएको छ। जसकारण एकले अर्कोलाई सचिवालय बैठकमै लिखित रुपमा आरोप प्रत्यारोप गरेपछि दुईबीच झण्डै एक महीनादेखि प्रत्यक्ष संवाद भएको छैन।
दोस्रो तहका नेताहरुमार्फत भइरहेका छलफल पनि अहिलेसम्म सहमति उन्मुख भएका छैनन्। हिजो दाहालसँग ओलीका तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेल र स्थायी समिति सदस्य सुवास नेम्वाङले छलफल गरेका थिए।
दाहालले अहिलेसम्म गरिएका सहमति कार्वान्यन नभएको गुनासो गर्दै सहमतिको ठोस प्रस्तावबारे जानकारी मागेका थिए। ओली पक्ष सचिवालयमा पेश भएका दुवै प्रस्तावलाई फिर्ता गरेर साझा प्रस्ताव ल्याउने गरी दाहाललाई मनाउने तयारीमा छन्। विगतमा सहमति गरेर पनि ओलीले आफूलाई पेलेको महसूस गरेका दाहाल माधवकुमार नेपालसँग मिलेर यही वेला ओलीलाई गलाउने रणनीतिमा छन्। तर, आउने सबै परिस्थितिको सामना गर्ने ओलीको तयारी छ।
आज पनि बिहानैदेखि ओलीले आफू निकटका नेताहरुसँग छलफल गरिरहेका छन्। नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल, सुवास नेम्वाङ बिहानै बालुवाटार पुगिसकेका छन्। आज तय भएको सचिवालय बैठक स्थगित गरेर सहमतिका लागि थप गृहकार्य गर्न ओली पक्षीय नेताहरुले आग्रह गरेका छन्।