काठमाडौँ महानगरले बनायो स्थानीय पाठ्यपुस्तक ‘येँ देय् म्हसीके’, विद्यालयहरुले अनिवार्य पढाउनुपर्ने
काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरेको छ। कामपाले आधारभूत कक्षाका लागि अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरेको हो।
आगामी शैक्षिक सत्रदेखि कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा पाठ्यपुस्तक अनिवार्य लागू हुनेछ। अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन गरिने छ।
नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्थाअन्तर्गत धारा ३२ को उपधारा २ र ३ मा हरेक स्थानीय तहले आफू मातहतका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रूपमा एक विषय अध्ययनअध्यापन गराउन सकिने व्यवस्था छ। सोही व्यवस्थाका आधारमा कामपाले यो पाठ्यपुस्तक तयार गरेको हो।
कामपा शिक्षा विभागका अधिकृत मोती खनालका अनुसार गएको वैशाख–जेठदेखि पाठ्यपुस्तक बनाउन शुरु गरिएको थियो। कोभिड–१९ र त्यसको असरबाट उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइलगायत काममा ढिलाइ भएको हो। पाठ्यपुस्तकमा महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीपकौशल, व्यवसाय, नैतिक शिक्षा, जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपि जस्ता विषय समेटिएका छन्।
प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, परम्परागत खेलजस्ता विषय पनि समेटिएका छन्। अहिले कक्षा १ का लागि पाठ्यपुस्तक तयार भइसकेको छ। कक्षा २ देखि कक्षा ८ सम्मका पुस्तक डिजाइनका चरणमा छन्। पूर्ण रूपमा रङ्गीन ८० पृष्ठ रहेको यो पुस्तक नेपालभाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सक्ने शैलीमा लेखिएको छ। पुस्तकमा नेपालभाषाका शब्द र पदावलीको अर्थ नेपाली भाषामै लेखिएको छ।
कामपाका सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्छन्। कामपाका सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन्।