वन्यजन्तुलाई पानी अभाव
कृत्रिम पोखरीमा पानी सुकेपछि बाँके राष्ट्रिय निकुञ्जमा जनावरलाई समस्या भएको छ ।
पानी नहुँदा जनावरलाई पानी पिउन र पौडी खेल्न समस्या भएको हो ।
५५० वर्गकिलोमिटर क्षेत्रफलको निकुञ्जमाप्राकृतिक खोला, ताल, पोखरी र सीमसार छैनन् । निकुञ्जका अनुसार १० वर्गकिलोमिटर क्षेत्रमा एउटा पानीको स्रोत आवश्यक पर्ने हुँदा कम्तीमा ५५ पोखरी चाहिन्छ ।
जसमा बाह्रै महीना पानी हुनुपर्छ । तर समस्या समाधान गर्न निर्माण गरिएका २६ वटा कृत्रिम पोखरीमा पनि हिउँदको समयमा पानी हुँदैन ।
निकुञ्जभित्रका जनावरहरु पानी खोज्न बाहिर निस्कँदा मान्छेलाई आक्रमण गर्ने र मान्छेको आक्रमणमा पर्ने समस्या रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए ।
राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ छ । निकुञ्जमा जङ्गली हात्ती, चित्तल, जरायो, लगुना, बँदेल, नीलगाई, चितुवा, भालुलगायतका धेरै जनावर छन् ।
निकुञ्ज भएर बहने सिक्टा सिंचाइको नहर वन्यजन्तुले पानी पिउन सक्ने प्रकारको छैन । जसका कारण पानी पिउन नहर पसेका चित्तल डुबेर मर्ने गरेका छन् ।
निकुञ्जको सीमामा रहेको बबई नदीमा निर्माण भइरहेको भेरी डाइभर्सनबाट निकुञ्जमा पानी ल्याउने सम्भावना छ ।
निकुञ्जका अनुसार करीब ६० प्रतिशत भूभाग भावर र चुरे क्षेत्रमा पर्दछ ।
अधिकांश वन्यजन्तुको बासस्थान भावर क्षेत्रमा छ । त्यसैले भावर क्षेत्रमा पानी सोस्ने र चुरे क्षेत्रमा मुहान भए पनि जनावर नपुगने भएकाले समस्या छ ।