ओली–दाहाल मिलाउने प्रयास जारी, दाहालमाथि बढ्यो दबाब
फुटकै चर्चा हुने गरी संकट मडारिएको नेकपामा शनिबार बस्ने सचिवालय बैठकअघि अध्यक्षद्वय ओली र दाहाललाई मिलाउने प्रयत्न पनि चुलिएको छ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलिंदो संकट समाधानका लागि भन्दै बोलाइएको केन्द्रीय सचिवालयको अर्को बैठक शनिबार दिउँसो बस्दैछ। गत बुधबार, १७ मंसीरमा बोलाइएको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा केहीबेर बसेको बैठकले शनिबारसम्मलाई बैठक स्थगन गर्ने निर्णय गरेको थियो। त्यसक्रममा नेताहरूले अर्को बैठकअघि दुवै अध्यक्षबीच अनौपचारिक समझदारी बनाउने प्रयासका लागि तीन दिनको समय दिने निर्णय गरिएको बताएका थिए।
नेकपामा अहिले एउटा समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली तथा अर्को समूहको नेतृत्व गरेका कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल आमनेसामने जस्तै छन्। तर, यसबीचमा अनौपचारिक सम्वादमार्फत समझदारी खोज्ने प्रयास भए पनि त्यसले कुनै ठोस नतिजातर्फ उन्मुख गराउन सकेको छैन। विवाद समाधानका लागि दोस्रो तहका नेताहरू बुधबारदेखि नै सक्रिय छन्। उनीहरूले औपचारिक र अनौपचारिक दुवैखाले भेटघाट र छलफल तीव्र पारेका छन्। स्थायी कमिटी सदस्य भीम रावलले पार्टीभित्रको विवाद समाधानका लागि पछिल्लो बैठकयता थुप्रै भेटघाट र छलफलहरू भए पनि उल्लेख्य प्रगति हुन नसकेको हिमालखबरलाई बताए। “अनौपचारिक रूपमा थुप्रै भेटघाट र छलफल भएका छन्, तर समाचार बन्न लायक प्रगति भएको छैन,” रावलले भने।
२८ कात्तिकमा दाहालले १९ पृष्ठ लामो प्रस्ताव सचिवालयमा पेश गरेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि केही गम्भीर आरोपसमेत लगाएका थिए। त्यसपछि १३ मंसीरको बैठकमा ओलीले पनि दाहालको प्रत्युत्तर प्रस्ताव पेश गरेर झन् गम्भीर आरोप लगाएका थिए।
गत बुधबार बोलाइएको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र दाहालले एक अर्कालाई गम्भीर आरोप लगाउँदै सचिवालयमा प्रस्तुत गरेका प्रस्तावमाथि छलफल हुने पूर्वनिर्धारित कार्यसूची थियो। तर, ओली बैठकमै अनुपस्थित भएपछि केहीबेर बसेर शनिबारसम्मका लागि बैठक स्थगित भएको थियो। गत २८ कात्तिकमा दाहालले १९ पृष्ठ लामो प्रस्ताव सचिवालयमा पेश गरेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि केही गम्भीर आरोपसमेत लगाएका थिए। त्यसपछि १३ मंसीरको बैठकमा ओलीले पनि दाहालको प्रत्युत्तर प्रस्ताव पेश गरेर झन् गम्भीर आरोप लगाएका थिए। पछिल्लो समय ओली र दाहालबीच अनौपचारिक छलफलसमेत हुन छाडेको छ। यसले नेकपाभित्रको संकट थप गहिरिंदै गएको देखाउँछ।
ओली–दाहाल मिलाउने प्रयत्न
नेकपामा यसअघि पटकपटक आउने संकट ओली र दाहालबीच हुने लेनदेनको सहमतिबाटै साम्य हुने गरेको थियो। तर, पछिल्लो पटक ओली र दाहालबीच औपचारिक तथा अनौपचारिक भेटघाट र छलफलको कुनै तारतम्य मिल्न नसकेपछि अर्को उपाय अवलम्बन गरिएको छ। दुवै अध्यक्षबीच बढेको दूरी र अविश्वास घटाएर सहमति गराउन दोस्रो तहका नेतादेखि राष्ट्रपति विद्यादेवी भण्डारीसम्म सक्रिय बनेका छन्।
नेकपाको गत बुधबारको सचिवालय बैठक तीन दिनका लागि स्थगित भएपछि बिहीबार अध्यक्षद्वय ओली र दाहालले राष्ट्रपति भण्डारीसँग छुट्टाछुट्टै भेटेर छलफल गरेका थिए। त्यसैगरी, शुक्रबार सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रधानमन्त्री ओलीको सन्देश लिएर छलफलका लागि दाहाल निवास खुमलटार पुगेका थिए। बिहीबार पनि ओली र दाहालपक्षका दोस्रो तहका नेताहरूबीच छलफल भएको थियो। नेकपा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा र शंकर पोखरेलबीच बिहीबार अर्थ मन्त्रालयमा छलफल भएको थियो। तीन नेताहरूबीच छलफल भएपछि त्यहाँबाट उनीहरू सीधै दाहालनिवास खुमलटार पुगेका थिए। तर, यो दौडधुपमा सहभागी नेताहरूले अहिलेसम्म बालुवाटारमा कुनै आशलाग्दो सन्देश पुर्याएका छैनन्।
दबाबमा दाहाल
नेकपामा देखापरेको पछिल्लो संकटले पार्टी नै विभाजनको सँघारमा पुगेको टिप्पणी भइरहँदा अध्यक्षद्वय ओली र दाहाल समूहबीच भइरहेका अनौपचारिक भेटघाट र छलफलहरूले सकारात्मक संकेत दिएको छलफलमा सहभागी एक नेता बताउँछन्। “गम्भीर रूपमै आरोप-प्रत्यारोप भएपछि अब कसरी सेफ ल्याण्डिङ्ग गर्ने भन्ने समस्या हो” छलफलमा सहभागी ओलीनिकट एक स्थायी कमिटी सदस्यले भने, “अहिले दुवै पक्षलाई विन–विन हुने गरी सहमतिको खोजी भइरहेको छ।”
प्रधानमन्त्री ओलीनिकट नेताहरू केन्द्रीय सचिवालयमा पेश भएका दुवै अध्यक्षका प्रस्तावलाई फिर्ता गराएर दुवैको सहमतिमा साझा प्रतिवेदन ल्याउनुपर्छ भन्ने प्रयासमा लागेका छन्।
नेकपामा अध्यक्षद्वय ओली र दाहालबीचको सहमतिमा निर्णय हुने ‘परम्परा’को वरिष्ठ नेता माधवकुमार नेपालले शुरूदेखि विरोध गर्दै आइरहेका छन्। पछिल्लो पटक ओलीसँग पदीय भागबण्डा नमिलेपछि बिच्किएका दाहाल नेपालसँग नजिकिएपछि नेकपामा पछिल्लो संकट आएको हो। निकटस्थहरूका अनुसार ओली अहिले पनि दाहालसँगै सहमति गरेर अघि बढ्ने प्रयत्नमा छन्। त्यही प्रयत्नअनुरूप नै नेपालसँग भन्दा ओली पक्षका नेताहरूले दाहालसँगको भेटघाटलाई प्राथमिकता दिइरहेका छन्।
प्रधानमन्त्री ओलीनिकट नेताहरू केन्द्रीय सचिवालयमा पेश भएका दुवै अध्यक्षका प्रस्तावलाई फिर्ता गराएर दुवैको सहमतिमा साझा प्रतिवेदन ल्याउनुपर्छ भन्ने प्रयासमा लागेका छन्। स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सचिवालयमा पेश भएका दुई प्रस्ताव फिर्ता गरेर दुई अध्यक्षको सहमतिमा साझा प्रस्ताव ल्याउँदा नै पार्टी अघि बढ्ने बताए।
अहिले दूरी बढाएर जाँदा निकट भविष्यमै हुने एकता महाधिवेशन र त्यसपछि समेत ओलीको साथ नपाउने, योसँगै ओलीको कदम पूर्वएमालेलाई एकजुट पार्ने हुनसक्ने आकलनमा पनि छन्, दाहाल। त्यहीकारण उनी आफूले जितेको देखाएर ‘सेफ ल्याण्डिङ्ग’को मनस्थितिमा पुगेको नेकपाकै एकथरी नेताहरूको भनाइ छ। यद्यपि, दाहाल र नेपाल पक्षले ओलीमाथि दबाब सिर्जना गर्नका लागि अनेक प्रयास गरिरहेका छन्।
यसबीचमा प्रधानमन्त्री ओलीले आफूविरुद्ध पैदा हुने जस्तोसुकै परिस्थितिसामु नझुक्ने, बरु सामना गरेर जाने सन्देश दाहाललाई पुर्याइरहेका छन्। त्यसमाथि पूर्वमाओवादीको एउटा समूहले शुरूदेखि नै दाहाललाई ओलीसँग समझदारी गरेर अघि बढ्न दबाब दिइरहेको छ। “ओली तत्कालीन एमालेबाट निर्वाचित भएर आएका अध्यक्ष भएकाले उहाँलाई अध्यक्ष मान्दैनाैं भन्न मिल्दैन, पूर्वएमालेमा खेल्न खोजेर कुनै फाइदा छैन,” आफ्नो नाम उल्लेख गर्न नचाहने पूर्वमाओवादीतर्फका एक स्थायी कमिटी सदस्य भन्छन्।
पूर्वएमालेको माधवकुमार नेपाल समूहभित्रकै केही नेता कार्यकर्ताको समूहले पार्टी विभाजनको अवस्थामा कुनै पनि हालतमा पुग्न नहुने, त्यो अवस्था पूर्वमाओवादीसँग मिलेर सिर्जना गर्नु झनै घातक हुने भन्दै नेताहरूमाथि दबाब बढाएको छ।
त्यसबाहेक पूर्वएमालेको माधवकुमार नेपाल समूहभित्रकै केही नेता कार्यकर्ताको समूहले पार्टी विभाजनको अवस्थामा कुनै पनि हालतमा पुग्न नहुने, त्यो अवस्था पूर्वमाओवादीसँग मिलेर सिर्जना गर्नु झनै घातक हुने भन्दै नेताहरूमाथि दबाब बढाएको छ। तत्कालीन एमालेको नवौं महाधिवेशनमा माधवकुमार नेपाल समूहमा रहेर काम गरेका युवासंघ नेपालका केन्द्रीय सदस्य देवराज पोखरेल भन्छन्, “हामीले नेताहरूलाई पार्टी विभाजन गर्ने काम नगर्नुस् भनेर खबरदारी गरेका छौं, त्यसमाथि प्रचण्डको साथमा लागेर जाने कुरा त स्वीकार्य नै हुँदैन।”
तत्कालीन एमालेका रूपन्देही उपसचिव राजेन्द्र पन्थी आफ्नो क्षेत्रबाट निर्वाचित सांसद एवं नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कार्यकर्ताले पार्टी विभाजनको काममा नलाग्न खबरदारी गरेको बताउँछन्।
दाहाल र नेपालपक्षका नेताहरूले शनिबारको बैठकमा ओली अनुपस्थित भए बहुमतीय प्रक्रियाबाट निर्णय गरेर अघि बढ्ने बताउँदै आएका छन्। ओलीनिकट नेताहरूले पनि बैठकका लागि मात्र बैठक बस्ने भए ओली उपस्थित नहुने बताइरहेका छन्। ओली शनिबारको बैठकमा आउने वा नआउने टुंगो छैन। तर, पछिल्ला घटनाक्रमले बहुमतबाट निर्णय हुने प्रष्ट संकेत पनि गरेका छैनन्।