सुदूरपश्चिम होइन, सुन्दरपश्चिम चिनाउने अभियान (तस्वीरहरू)
सुदूरपश्चिमलाई प्रकृतिप्रेमीहरू सुन्दरपश्चिम भन्छन्। सुदूरपश्चिमका तालतलैया, हिमाल, चुचुरा, सांस्कृतिक तथा धार्मिक महत्वका क्षेत्रको छुट्टै पहिचान छ। भूगोलले देशको केन्द्रदेखि यो क्षेत्र जति सुदूर छ, त्योभन्दा कैयौं गुणा सुन्दर छ।
तर, अझै पनि यो क्षेत्र पर्यटनका हिसाबले मूलधारमा आउन सकेको छैन। यद्यपि, पछिल्लो समय यो क्षेत्रको पर्यटनबारे धेरथोर चर्चा हुन थालेको छ। पर्यटकहरू पुग्न थालेका छन्।
ओझेलमा परेको पश्चिम नेपाललाई मूलधारमा ल्याउन निरन्तर कोशिश गरिरहेका पात्र हुन्, पत्रकार भरतबन्धु थापा। थापा क्यामेरा बोकेर कहिले खप्तडमा डुलिरहेका हुन्छन् भने कहिले रारा तालको मनमोहक दृश्यमा डुबुल्की मारिरहेका हुन्छन्।
कहिले डोल्पा पुगेर शे–फोक्सुन्डोको गहिराई नाप्छन् लेन्सहरूमा, कहिले शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जसँग मीत लाउन पुग्छन्। कहिले हिमाली जीवनसँग प्रित गाँस्छन्, कहिले थारु समुदायको घुँगी चाख्छन्। जहाँ पुग्छन्, उनी सोच्छन्– यो दृश्य मैले विश्वसामु पुर्याउनुपर्छ।
लोभलाग्दा दृश्य क्यामेरामा कैद गर्दा निकै आनन्दानुभूति गर्ने उनलाई लाग्छ–मान्छेले प्रकृति चिनेकै छैनन्। सुन्दरता बुझेकै छैनन्।
२०५३ देखि फोटो खिच्न थालेका थापा कहिले काठमाडौंमा फोटो प्रदर्शनी गर्छन्, कहिले सुर्खेतमा। उनलाई कर्णालीवासीलाई नै पनि चिनाउनु छ कर्णालीको सुन्दरता। कर्णालीको भव्यता।
दैलेखको कट्टीमा जन्मिएका उनलाई आफ्नो क्षेत्र (पश्चिम नेपाल)को प्राकृतिक सुन्दरता खेर गइरहेकोमा पटक्कै चित्त बुझेको छैन। यसैले त उनले पश्चिम नेपाल चिनाउने विभिन्न पुस्तकहरू प्रकाशन गरेका छन्।
यसैको पछिल्लो संस्करण हो, एक्सप्लोर फार वेस्ट (द हिडन ट्रिजर अफ फार वेस्ट नेपाल)। यो उनको चौथो पुस्तक हो। यसमा उनले सुदूरका सबै पर्यटकीय क्षेत्रका बारेमा समेटेका छन्। यसअघि उनले पश्चिम नेपालका प्राकृतिक गन्तव्य, रहनसहन र जंगली–जीवनका फोटो संग्रहित तीन पुस्तकहरू प्रकाशित गरिसकेका छन्।
लामो समयदेखि पश्चिमको पर्यटन प्रवर्द्धनमा काम गर्दै आएका थापाले पुस्तकमा ती क्षेत्रसम्म कसरी पुग्न सकिन्छ, तिनको महत्व के छ भन्नेबारेमा सम्पूर्ण जानकारी समावेश गरेका छन्।
“थारु संस्कृति, ऐतिहासिक तथा प्राकृतिक तालतलैया, हिमाल, चराचुरुंगी, पार्कका विषयका जानकारीसहित यी क्षेत्रमा कुन माध्यमबाट कसरी पुग्न सकिन्छ भन्ने पूर्ण जानकारी पुस्तकमा समेट्ने कोशिश गरेको छु”, थापा भन्छन्, “त्यहाँ पुग्नेहरूका लागि यो किताब सहयोगी बन्छ भन्ने विश्वास लिएको छु।”
थप तस्वीरहरू: