किन हिन्दू धर्म त्यागेर बौद्ध बने अम्बेडकर?
हिन्दू धर्ममा रहुञ्जेलसम्म जातीय विभेदको मुक्ति सम्भव नहुने निष्कर्षका साथ डा. भीमराज अम्बेडकरले उत्तरार्धमा बौद्ध धर्म ग्रहण गरे। के वास्तवमै बौद्ध धर्ममा वर्ण र जातको विभेद छैन त!
भारतका प्रभावशाली बौद्धिक व्यक्तित्व डा. भीमराव अम्बेडकरलाई जातीय विभेद विरुद्धका मसीहाका रूपमा पनि लिइन्छ। जीवनको पूर्वाद्र्धकालसम्म पनि जातीय विभेदको कटु अनुभव गरेका उनले उत्तराद्र्धमा हिन्दूबाट बौद्ध धर्ममा धर्मान्तरण गरे– व्यक्तिगत मात्रै नभई लाखौं अछूतहरूका साथ।
अम्बेडकरको निष्कर्ष थियो– हिन्दूू व्यवस्थाभित्रै रहेर जातीय विभेदबाट मुक्ति सम्भव छैन, त्यसैले धर्म परिवर्तन अनिवार्य छ। हिन्दू धर्म त्याग्ने मनस्थितिमा पुगेका अम्बेडकरलाई आकर्षित गर्न अन्य धर्मका व्यक्तिहरूले पनि उनलाई सम्पर्क गरेका थिए तर उनले बौद्ध धर्म नै अपनाए।
हिन्दू समाजमा व्याप्त जातीय विभेदको अनौचित्यता स्वयं गौतम बुद्ध (इ.पू. ५६३–४८३) ले सिद्ध गरेका कुरा हुन्। बुद्धको मूल उद्देश्य जातपातलाई अनौचित्य सिद्ध गर्ने, विभेदजन्य छुवाछूत हटाउने तथा समाज सुधार गर्ने कदापि थिएन तर धर्म अभ्यासको मार्गमा जातीय व्यवस्था बाधक देखिएपछि उनले त्यसविरुद्ध हुँकार गरेका थिए।
तत्कालीन वैदिकहरू बुद्धविरुद्ध खनिनुुको खास कारण धर्मदर्शन वा नास्तिकतामा जोड दिई वैदिकविरुद्ध अभियान थालेकाले नभई परम्परागत जातीय व्यवस्थाको विरोध थियो। किनभने, वेदको निन्दा तथा नास्तिकता बुद्धभन्दा उग्ररूपमा यसअघि नै महावीर वर्धमानलगायत अन्य थुुपै्र आचार्यहरूले गरिसकेका थिए।
जातीय विभेदले आक्रान्त डा. अम्बेडकरले बुद्धलाई पढेनन् मात्र, अछूत भनिएको समुदायलाई धर्मको माध्यमबाट नयाँ दिशामा लैजाने कार्यमा बुद्ध शिक्षालाई प्रयोग पनि गरे। त्यही भएर प्रशंसकहरू उनलाई ‘बोधिसत्व’ मान्दछन्। अरूको भलाइमा जीवन समर्पण गर्ने तथा भविष्यमा स्वयं बुद्ध हुने लक्ष्य राखेका व्यक्तित्वलाई ‘बोधिसत्व’ भन्ने गरिन्छ।
जातीय विभेद मुक्तिका खातिर आफ्नो समुदायलाई बौद्ध धर्ममा दीक्षित गरे पनि अम्बेडकर धार्मिक नेताका रूपमा चिनिएनन्। बरु बौद्ध धर्मदर्शनका विद्वान् लेखक र कतिपय स्रोतव्यक्ति बने। ‘द बुद्ध एण्ड हिज् धम्म’, ‘बुद्ध अर कार्ल माक्र्स’, ‘एन्निहाइलेसन अफ कास्ट’ जस्ता उनका थुप्रै चर्चित पुस्तक छन्।
ब्राह्मणवाद विरुद्ध बुद्ध
मेरो प्राध्यापनको विषय ‘बुद्धिस्ट एप्रोच टु ह्युमन राइट’ मा एउटा अध्याय छ– जातीय व्यवस्थामा बौद्ध दृष्टिकोण। यो अध्यायमा तत्कालीन ब्राह्मण समाजको सोच तथा व्यवहार उल्लेख छ।
जम्मा ४२३ गाथाको ग्रन्थ ‘धम्मपद’ मा ‘ब्राह्मणवग्गो’ भन्ने छुट्टै अध्याय समावेश छ, जसमा ४२ गाथा संकलित छन्। ‘जटाधारी हुँदैमा, गोत्र पाउँदैमा जाति मात्रले पनि ब्राह्मण हुँदैन, जोसँग सत्य र धर्म हुन्छ उही पवित्र हो, ब्राह्मण हो’ भन्ने चर्चित गाथा यसैमा संग्रहित छ। ब्राह्मण कस्तालाई भन्ने वा नभन्ने भन्ने सन्दर्भमा बुद्धका उपदेशहरूबाट स्वयं ब्राह्मणहरू नै प्रभावित भई बुद्धसँग दीक्षा मागेको थुप्रै प्रसङ्ग पाइन्छन्।
‘ब्राह्मणहरू कति गुणले युक्त पुरुषलाई ब्राह्मण मान्दछन् ?’ जन्ममा आधारित जातिवाद, वर्ण, पाण्डित्याइँ ठूलो कुरा होइन। शीलवान र पण्डित मेधावी गुण भने ब्राह्मणमा हुर्नैपर्ने प्रसङ्ग ‘सोणदण्डसुत्त’ मा पढ्न पाइन्छ।
एक पल्ट श्रावस्ती (भारत) स्थित जेतवन महाविहारमा एसुकारी नामका ब्राह्मण बुद्धसँग ‘एक वर्णले अर्को वर्णलाई कस्तो व्यवहार गर्नुपर्दछ ?’ भन्ने विषयमा चर्चा गरिरहेका थिए। कसले कसको सेवा गर्ने भन्ने विधान बनाउँदा ब्राह्मणलाई अरू वर्णका मानिसहरूले उक्त अधिकार नदिएको बुद्धको भनाइ थियो। ‘यो त गरीबको घरमा मासुको पोका दिई यो तिम्रो हो, नखाइहुँदैन भन्ने अनि अन्त्यमा मासुको मूल्य चुकाउन बाध्य पारेको जस्तो भएन र?’ भन्ने प्रश्न गरेका थिए। यो प्रसङ्ग ‘एसुकारीसुत्त’ (मज्झिमनिकाय) मा परेको छ।
वाशिष्ठ र भारद्वाज नामका दुई ब्राह्मणबीच ‘जो मातृकुल–पितृकुलबाट सात पिंढीसम्म शुद्ध छ, उही ब्राह्मण’ वा ‘जो शीलवान छन् अथवा व्रत नियम पालना गर्दछन्, उही ब्राह्मण’ भन्ने विषयमा विवाद हुन्छ। विवाद सुल्झाउन उनीहरू बुद्धसमक्ष पुग्दछन्। यस प्रसङ्गमा बुद्धले ‘जीवजन्तुहरूमा जातिभेद स्पष्ट रूपमा देखिए पनि तिनीहरू तल्लो र माथिल्लो जातिको कुरा गर्दैनन्। तर त्यस प्रकारको जातिभेद मनुष्यमा नपाइने भनी दिएको उपदेश ‘मज्झिमनिकाय’मै संग्रहित ‘वासेट्ठसुत्त’ मा पढ्न पाइन्छ।
‘ब्राह्मणहरू कति गुणले युक्त पुरुषलाई ब्राह्मण मान्दछन् ?’ एकपटक बुद्ध सोणदण्ड नामका अत्यन्तै धनी तथा प्रभावशाली ब्राह्मणसँग प्रश्न गर्छन्। जवाफमा ती ब्राह्मण पाँच गुण बताउँछन्, पहिलो– आमाबाबु दुवै तर्फबाट शुद्ध, दोस्रो– अध्यापक (वेदपाठी, मन्त्रधर), तेस्रो– अभिरुपी, दर्शनीय, गौर वर्णयुक्त, चौथो– शीलवान र पाँचौं– पण्डित मेधावी, यज्ञ–दक्षिणा ग्रहण गर्नेमा प्रथम वा द्वितीय गुण भएका।
बुद्धसँगको सवाल–जवाफमा सोणदण्ड यी पाँचमध्ये एउटा गुण छाड्नु परे सबैभन्दा पहिले तेस्रो–अभिरुपी, दर्शनीय, गौर वर्णयुक्त, पुनः अर्को गुण छाड्न परे दोस्रो– अध्यापक (वेदपाठी, मन्त्रधर) रहेको बताउँछन्। बाँकी रहेका तीनमध्ये फेरि एक छाड्नुपरे पहिलो– आमाबाबुु दुुवैतर्फबाट शुद्धलाई त्याग गर्न सकिने तर्क गर्छन्। तर, चौथो र पाँचौं गुण क्रमशः शीलवान र पण्डित मेधावी गुण भने ब्राह्मणमा हुर्नैपर्ने बताउँछन्। यसबाट बुझिन्छ– जन्ममा आधारित जातिवाद, वर्ण, पाण्डित्याइँ ठूलो कुरा होइन। यो प्रसङ्ग ‘सोणदण्डसुत्त’ मा पढ्न पाइन्छ।
औचित्यहीन वर्ण र जात
बुद्धोपदेश संग्रहित त्रिपिटकअन्तर्गतका विभिन्न निकाय ग्रन्थहरूमा संग्रहित अम्बट्ठसुत्त, मधुरसुत्त, वसलसुत्त, सुन्दरिकभारद्वाजसुत्तलगायत दर्जनौं सूत्तहरूमा जातिवादको अनौचित्यका उपदेशहरू पाइन्छन्।
बौद्ध साहित्यमा ‘वियनपिटक’को ठूलो महत्व छ। भिक्षु र भिक्षुुणीहरूको नियमसम्बन्धी बुद्धले बेला बेलामा दिएका उपदेशहरूको संग्रह नै विनयपिटक हो। विनय बारे बुझ्नु परे ठूलाठूला भिक्षुहरू पनि उपालि नामका भिक्षुुकहाँ पुुग्थे। बुद्धको निधनपछि उपदेशहरू संकलन गर्ने क्रममा ‘विनयपिटक’ उनीबाट नै संभव भएको थियो।
उपालि कपिलवस्तुका नाइँ समुदायसँग सम्बद्ध थिए। भिक्षु बन्न कपिलवस्तुका शाक्य कुमारहरू भद्दीय, अनुरुद्ध, आनन्द, भृगु, किम्भिल र देवदत्त बुद्ध बसिरहेको अनुप्रिय नामको आम्रवनमा जाँदा उनीहरूका सेवक उपालि भने केही पछि पुुगेका थिए।
संघमा जेठो–कान्छोको हिसाब जन्मको आधारमा नभई कसको उपसम्पदा (विधिवत् भिक्षु हुने प्रक्रिया) कहिले भएको भन्ने आधार लिने गरिन्छ। तर, उपालिलाई नै पहिले उपसम्पदा दिएर ज्येष्ठ भिक्षु बनाइए आफ्नो जातीयको अहं तोड्न सहायक हुने भनी ती शाक्यहरू स्वयंले बुद्धसँग मन्त्रणा गर्नुले गहन अर्थ बोक्दछ।
‘सुुणीत’ तल्लो जातिका व्यक्ति थिए। उनलाई देखे मात्र पनि अपशकुन हुने भन्दै दण्डित हुनुपर्ने भयले उनी बिहान उज्यालो हुनुुअघि नै बाटो बढार्ने कार्य सम्पन्न गरिसक्थे। एक बिहान उनलाई बुद्धले भेटे र भिक्षु बनाए।
वर्ण र जातको औचित्य नरहेको पुष्टि गर्न बुुद्धले चालेको यस्ता कदमबाट तत्कालीन ब्राह्मण समाज क्रूद्ध भएको थियो। तल्लो जाति भनिएकाहरूबाट भिक्षु बनाइएकाहरूमा सोपाक, सुप्पिय, समंगल, छन्न, धनिय, कप्पर–कुर आदि प्रसिद्ध छन्। भिक्षुणी प्रकृति पनि तल्लो जातिकै प्रतिनिधि थिइन्।
जगतमा भएका प्राणीहरूको चेतनास्तर फरक रहे पनि मूल रूपमा सबैलाई बराबर नै मान्नुपर्ने बौद्ध मान्यता छ। जीवनप्रवाहका क्रममा कर्मअनुसार पशुु, पक्षी, मानव मात्र नभई देवता तथा प्रेतको रूपमा जन्मनुपर्ने तथा सधैं एउटै योनिमा स्थिर नहुने बौद्ध धर्म–दर्शनको आधारभूत मान्यता हो। यस हिसाबमा मानव समाजभित्रै ठूलो जात र सानो जात भनी गरिने विभेदको कुनै औचित्य नरहेको सिद्ध हुन्छ।
अम्बेडकरका सबै काम–कुरा बुद्ध र बौद्ध धर्मसँग जोडेर अध्ययन गर्न मिल्दैन। तर, जातीय विभेद विरुद्धका उनका गतिविधि तथा धर्मान्तरको अभियान बुद्ध र बौद्ध धर्मकै उपज भएको सहजै मान्न सकिन्छ। यसर्थमा उनलाई ‘बोधिसत्व बाबा’ भनिनु अस्वाभाविक होइन।
जातीय व्यवस्था भएको ठाउँमा बौद्ध धर्मको विकास नहुने र बौद्ध धर्म भएको ठाउँमा जातीय व्यवस्था नटिक्ने कथनबाट पनि यी दुईबीचको सम्बन्ध बुझ्न सकिन्छ। प्रारम्भिककालमा मात्रै नभएर पछिसम्म पनि धर्मलाभी अनेकौं भिक्षु तथा विद्वान्हरू तल्लो जात भनिएको समाजबाटै आएको पाइन्छ। प्रसिद्ध ८४ महासिद्धहरूमा ब्राह्मण मात्रै नभएर जातीय विभेद गरी छुवाछूतमा पारिएका पनि थिए।
पहिले बौद्ध, पछि शूद्र
आधुनिक भारतमा बौद्ध धर्मको पुनर्जागरणमा तमिलनाडुका अगुवा अयोत्ती तासरलाई पनि लिइन्छ। कुनै बेला आफूहरू बौद्ध नै रहेको तर बौद्ध धर्मको पतनको क्रममा शूद्र वर्गमा राखी जातीय विभेद गरेको भन्दै उनी लगायतका केही व्यक्ति श्रीलंका पुगी ब्रिटिश अधिकारी आलकोटको सहयोगमा बौद्ध बनेका थिए।
अनागरिक धर्मपालका नामबाट प्रसिद्ध श्रीलंकाली र आलकोटले पनि भारतमा बौद्ध धर्मको पुनर्जागरणमा धेरै योगदान दिएको पाइन्छ। अम्बेडकरवादी बौद्धहरूको मान्यता पनि कुनै बेला आफूहरू बौद्ध नै रहेको र बौद्ध धर्मको पतनपछि समाजले शूद्र वर्गमा राखेको भन्ने छ। अम्बेडकर पनि अयोत्ती तासरको नेतृत्वमा भएको सामाजिक आन्दोलन तथा अनागरिक धर्मपालसँग प्रभावित थिए।
महाराष्ट्रको दीक्षा भूमिमा दशौं लाख अछूतहरूलाई बौद्ध धर्ममा दीक्षा दिनुअघि अम्बेडकर बौद्ध धर्मसम्बन्धी बहस, भाषण तथा लेखनमा सरिक भई बौद्ध व्यक्तित्वका रूपमा प्रसिद्ध भइसकेका थिए। १५ अक्टोबर १९५६ मा नागपुरस्थित दीक्षाभूमिमा उनी विधिवत् बौद्धमा दीक्षित भए।
सोही वर्ष १५–२० नोभेम्बरमा ‘वल्र्ड फेलोसिप अफ बुद्धिस्ट’द्वारा काठमाडौंमा आयोजित चौथो विश्व बौद्ध सम्मेलनमा सहभागी हुन अम्बेडकर काठमाडौं पनि आए। काठमाडौंमा उनी पशुपतिनाथ मन्दिर प्रवेश गर्लान् भन्ने ठूलो पीर भारतीय हिन्दू नेताहरूको थियो। यसलाई रोक्न प्रशासनिक बन्दोबस्त पनि मिलाइएको थियो। तर, अम्बेडकरले पशुपतिनाथ जाने आफ्नो कुनै योजना नभएको प्रतिक्रिया दिए।
अम्बेडकरका सबै काम–कुरा बुद्ध र बौद्ध धर्मसँग जोडेर अध्ययन गर्न मिल्दैन। तर, जातीय विभेद विरुद्धका उनका गतिविधि तथा धर्मान्तरको अभियान बुद्ध र बौद्ध धर्मकै उपज भएको सहजै मान्न सकिन्छ। यसर्थमा उनलाई ‘बोधिसत्व बाबा’ भनिनु अस्वाभाविक होइन।
यो पनि पढ्नुहोस्:
राजा महेन्द्रकै सामु अम्बेडकरले भने, ‘भिक्षु नै कार्ल मार्क्स, बौद्धधर्म नै साम्यवाद’
यस्तो थियो अम्बेडकरको नेपाल यात्रा
नेपाललाई मार्क्स होइन, अम्बेडकरको खाँचो छ