साउनयता पुनर्निर्माण भए ४६ हजार निजी घर
आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महीनामा ४६ हजार २७० निजी घरहरू पुनर्निर्माण भएका छन्। २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पनि पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
चार महीनाको अवधिमा ६ हजार ६०० पुनर्निर्माण लाभग्राहीले दोस्रो किस्ता लिएका छन् भने ५ हजार ११४ ले तेस्रो किस्ता लिएका छन्। यसै अवधिमा थप ६८५ प्रवलीकरण लाभग्राहीले सम्झौता गरेका छन्ज, समध्ये ४५० ले पहिलो किस्ता बराबर ५० हजार रूपैयाँ बुझेका छन्।
यो अवधिमा ११० जना लाभग्राही थपिएका छन् र पहिले नै लाभग्राही कायम भएका समेत गरी १ हजार ३५० ले अनुदानका लागि सम्झौता गरेका छन्। यसै अवधिमा पुनर्निर्माण सम्पन्न भएको रानीपोखरीको उद्घाटन भएको छ भने धरहरा पुनर्निर्माणमा निरन्तर काम भई १९ तलासम्मको ढलान सकिएको प्राधिकरणले जनाएको छ।
यस अवधिमा समग्र पुनर्निर्माणमा ७ अर्ब ८४ करोड ७२ लाख रूपैयाँ खर्च भएको शुक्रबार आयोजित समीक्षा बैठकमा जानकारी दिइएको छ।
समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनहरूमाथि टिप्पणी गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले सक्रिय रूपमा काम गर्ने अवधि साढे सात महीनाभन्दा कम रहेको उल्लेख गर्दै सम्पूर्ण प्रयास केन्द्रित गरेर तोकिएका लक्ष्य हासिल गर्न लाग्नुपर्नेमा जोड दिए।
ज्ञवालीले निजी आवास अनुदानका किस्ता लिने अन्तिम समयसीमा किटान भएकोले घर बनाउन बाँकी रहेका लाभग्राहीसम्म पुगी घर निर्माण शुरू गर्नका लागि प्रोत्साहित गर्न पनि निर्देशन दिए।
त्यस्तै, चालु आर्थिक वर्षको चार महीनाको अवधिमा भूमिहीन लाभग्राहीको व्यवस्थापनमा काम भइ १ हजार ४४८ जनालाई हाल बसिरहेको ठाउँमा घर पुनर्निर्माण गर्न स्वीकृति दिइएको छ भने ७७ जनालाई जग्गा खरिद गर्न दुई लाख रूपैयाँ अनुदान उपलब्ध गराउने निर्णय भएको छ।
यो अवधिमा पुनरावेदन गर्ने लाभग्राहीको संख्या उल्लेखनीय बढेको छ। १८ हजार २२१ व्यक्तिहरूले पुनरावेदन गरेका पत्र पुनरावेदन समितिमा दर्ताका लागि संकलन भएका छन्। यसबीचमा १ हजार ३६८ वटा निवेदनको फैसला भएको छ।
१५ मंसीरमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ। पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्षभरि बजेट परिचालनसहित सक्रिय रूपमा काम गर्नेछ भने बाँकी ५ महीना १० दिन दस्तावेज हस्तान्तरण, लेखा परीक्षणलगायतका काम गर्ने जनाएको छ।