एक ‘अरोगेन्ट’ महान गायक !
नारायणगोपाललाई 'अरोगेन्ट' भन्नेहरुका लागि पनि उनी निसन्देह रुपमा एक महान् गायक थिए।
आधुनिक नेपाली सङ्गीतका महान गायक नारायणगोपाल (वि.सं. १९९६–२०४७) स्वर्गवासी भएको १९ मंसीरबाट ३० वर्ष लाग्यो।
बितेको ३० वर्षभित्र गोपाल योञ्जन, नातिकाजी, शिवशंकर, फत्तेमान, कोइलीदेवी, तारादेवी, धर्मराज थापा, पाण्डव सुनुवार, झलकमान गन्धर्व, अरुण थापा, राम थापा आदि गरी थुप्रै नेपाली गीत–सङ्गीतका रत्नहरुले यो धरती छाडेर गए। यी कलाकारहरूले एकपछि अर्को गर्दै महाप्रस्थान गर्दा नेपाली गीत–सङ्गीत क्षेत्रले नमीठो शून्यता अनुभूत गरिरहेको छ।
नारायणगोपालले नेपाली आधुनिक सङ्गीतको सर्वाधिक सिर्जनशील युगको एकछत्र नेतृत्व गरेका थिए। नेपाली सुगम सङ्गीतको जग पनि उनैले निर्माण गरेको मानिन्छ। प्रेम–माणिकको सङ्गीतमा 'आँखाको भाका आँखैले' र 'स्वर्गकी रानी मायाकी खानी' नारायणगोपालका प्रथम स्पूल रेकर्ड भएका गीतहरू मानिन्छन् भने 'सबलाई रिझाऊँ भन्दा पसलमा बेचिएछु' र 'सानै हुरीमा बैंसको सपना' प्रसारण समयमै लाइभ रेकर्ड भएका गीतहरू थिए। गायनमा वर्चश्व राखेका नारायणगोपाल नेपाली गीतसङ्गीतको गरिमा र उँचाइ बढाउने थोरै कलाकारमध्येमा पर्छन्।
एउटा कलाकारको रुपमा नारायणगोपालको बौद्धिकता–विद्वत्ता बागीना (बाजा, गीत र नाच) पत्रिकाको सम्पादकत्वले स्पष्ट पारेकै हो। सत्ता–शक्तिसँग साझेदारी वा सम्झौता नगर्ने कलाकारका रूपमा पनि उनलाई लिने गरिन्थ्यो, ऊबेला। विशेषतः गोपाल योञ्जन र नगेन्द्र थापासँग मिलेर साङ्गीतिक सिर्जनाको सङ्लो त्रिवेणी बनाएका नारायणगोपाल भाषा–साहित्यका पनि एक अब्बल अध्येता थिए भन्ने कुरा पनि बुझाउँछ, 'बागीना' प्रकाशनले।
काठमाडौं–दार्जीलिङ जोड्न अम्बर गुरुङ र अगमसिंह गिरीले बनाउन थालेको साङ्गीतिक सुकीर्तिको बाटोलाई मीतज्यूहरु नारायणगोपाल र गोपाल योञ्जनले फराकिलो बनाएका थिए। नवीन बर्देवा, अशोक राई, हीरादेवी वाइबा, कर्म योञ्जन, दिलमाया खाती, कुमार सुब्बा, रन्जित गजमेर आदि पनि नेपाली साङ्गीतिक मूलमेसोमा जोडिने क्रम जारी थियो, नारायणगोपाल युगमा। यतिबेला काठमाडौं र सिक्किम साहित्य–सङ्गीतको सेतुबाट नजिक छ भने दार्जीलिङ पहिचानको समरमा।
सन् १९८५–८६ पछि नारायण गोपाल, गोपाल योञ्जन र नगेन्द्र थापाको साङ्गीतिक ट्राइपोर्ट अस्पृश्य रूपमा भाँचिन पुगेपछि नारायणगोपालले दिव्य खालिङ र आफ्नै सङ्गीतमा 'द ब्लु नोट्स' एलपी डिस्क रेकर्ड ल्याएका थिए। त्यसले नारायणगोपालको स्वतन्त्र व्यक्तित्व निर्माण गर्न खोजेको देखिन्छ, सिर्जनामा। 'द ब्लु नोट्स' पछिका दिनहरू नारायणगोपालको साङ्गीतिक अनुलोम–विलोम व्यावसायिक सङ्गीतमा पनि अगाडि बढ्यो।
आर्थिक उपार्जनको मनसुवाले हुनसक्छ, त्यस अवधिमा उनले केही नेपाली चलचित्रका मनोरञ्जनात्मक गीतहरु पनि गाए। नेपाल टेलिभिजनमा एकल गायनको आरम्भ पनि नारायणगोपालदेखि नै शुरु भयो। सुगम सङ्गीतका हकमा गायन–सङ्गीतलाई व्यावसायिक तुल्याउनुपर्छ भन्ने हेतु प्रथमतः नारायणगोपालले नै राखेको पाइन्छ। नत्र, उनले रूपरेखा सङ्गीत यात्रादेखि दार्जीलिङ–डुवर्ससम्मको एकल गायन यात्रा गर्ने थिएनन् होला।
नेपाली सङ्गीत आर्जनको पेशा नबनिसकेको अवस्थामा नारायणगोपाल नाचघरको महाप्रबन्धक बन्नु स्वाभाविक थियो। आर्थिक अभावको अक्कर काट्न उनले कसैलाई रिसाउने कसैलाई खुसाउने त्यो प्रशासनिक पेशाको करबल बेहोरेका थिए। सोख त उनको साथीभाइसँग खुलेर जोक्स सुन्दै सुनाउँदै पिउनु पिलाउनु थियो।
नारायणगोपाललाई कसै कसैले 'अरोगेन्ट' पनि भने। मेरो सम्झनामा भने उनी सरासर सरल र मिलनसार हुन्। उनको बानी–व्यक्तित्वमा कहिल्यै बनावटी बडप्पन पाइनँ मैले। तर, आफूलाई 'अरोगेन्ट' ठान्नेहरुका लागि पनि उनी महान् गायक रहे, रहनेछन्।
(हिमाल खबरपत्रिकाको २१–२७ मंसीर २०७१ को अंकमा प्रकाशित 'एक सर्वकालिक गिताङ्गे' शीर्षकको निधनालेख सम्पादनसहित)