नेपाललाई मार्क्स होइन, अम्बेडकरको खाँचो छ
भारत र नेपालको सर्वहारा वर्ग वर्णव्यवस्थाको गर्भबाट पैदा भएको हुनाले यहाँ मार्क्सवाद हुबहु लागू हुन सक्दैन। मार्क्सभन्दा अम्बेडकर नै बढी सान्दर्भिक देखिन्छन्।
डा. भीमराव अम्बेडकरको विचारधारा लोकजीवनका लागि आज पनि उत्तिकै उपयोगी छ। उनले अछूत र मजदूरको जीवन बाँचे। दलित र मजदूर वर्गकै हित र अग्रगतिका लागि उनका विचार र कर्म केन्द्रित रहे। उनको स्मृति दिवसको अवसर संसारभरिका दलित तथा श्रमजीवी वर्गले स्वतन्त्रता, समता र भ्रातृत्वको विचारधारा आत्मसात् गर्ने उपयुक्त प्रस्थानविन्दु हुनसक्छ।
नेपालमा भएका सम्पूर्ण सामाजिक तथा राजनीतिक आन्दोलनलाई मसिनो गरी अध्ययन गर्दा अम्बेडकरको दृष्टिकोण कतै देखिंदैन। २००७ सालको आन्दोलनदेखि २०६२/६३ सालको जनआन्दोलन, माओवादी सशस्त्र विद्रोह, मधेश विद्रोह, दलित आन्दोलन र महिला आन्दोलनमा अम्बेडकर सुनिंदैन। आश्चर्यको कुरा के छ भने, अम्बेडकरले काठमाडौंमा २० नोभेम्बर १९५६ मा ‘बुद्ध वा कार्ल मार्क्स’ भन्नेबारे दिएको ऐतिहासिक भाषणबाट पनि यहाँको दलित बहुजन तथा श्रमजीवी वर्ग अनभिज्ञ छन्। सवर्ण सत्ताले अम्बेडकरको क्रान्तिकारी विचारधारालाई लुकाउन सक्दो कोशिश गर्यो।
अम्बेडकर र मार्क्सको बीचमा वैचारिक रूपमा कैयौं समानता छन्। साथै, अम्बेडकरले दक्षिणएशिया खासगरी भारत र नेपालको परिवेशमा मार्क्सको विचारधारामाथि अनेकौं प्रश्न पनि उठाएका छन्, जुन नेपालका श्रमजीवी वर्ग (दलित बहुजन) ले मनन गरे ज्ञानवद्र्धक हुनसक्छ।
अम्बेडकरलाई मार्क्स विरोधीका रूपमा पनि चित्रण गरिएको पाइन्छ। तर, यो आरोपको आधार कमजोर छ।
अम्बेडकरले सन् १९३६ मा गठन गरेको पहिलो दल ‘इन्डिपेन्डेन्ट लेबर पार्टी’ थियो। उनले ‘अल इन्डिया ट्रेड यूनियन वर्कर्स अध्ययन शिविर’ (१९४३ सेप्टेम्बर ८–१७) मा समापन भाषण गरेका थिए, जुन ‘लेबर एन्ड पार्लियामेन्ट्री डेमोक्रेसी’ विषयमा केन्द्रित थियो।
भाषणका क्रममा उनले श्रमिक वर्गलाई रुसोको ‘द सोसल कन्ट्राक्ट’, मार्क्सको ‘कम्युनिष्ट मेनिफेस्टो’, पोप लियो तेह्रौंको ‘अन द कन्डिसन्स अफ लेबर’ र जोन स्टुअर्ट मिलको ‘लिबर्टी’ अध्ययन गर्न आग्रह गरेका छन्। यी चार ग्रन्थ आधुनिक संसारको समाज र शासन व्यवस्थालाई संगठित गर्ने मूल दस्तावेज हुन्।
मनु मार्क्सवादीले दलित बहुजनलाई मार्क्स पढ्न आग्रह गर्छन्, तर स्वयं अम्बेडकर पढ्न तयार छैनन्। नेपालमा मनु मार्क्सवादीको त कुरै छाडौं, मार्क्सवादी दलित चिन्तकहरू सार्वजनिक रूपमा अम्बेडकर पढ्नुहुँदैन भन्दै हिंडेका छन्।
श्रमिक वर्गलाई मार्क्सको कम्युनिष्ट मेनिफेस्टो पढ्न आग्रह गर्ने अम्बेडकर भारत र नेपालको मार्क्सवादीको नजरमा मार्क्स विरोधी कसरी भए ? उनी मार्क्स विरोधी थिएनन्, बरु मनु मार्क्सवादी विरोधी पक्कै थिए।
मनु मार्क्सवादीले दलित बहुजनलाई मार्क्स पढ्न आग्रह गर्छन्, तर स्वयं अम्बेडकर पढ्न तयार छैनन्। नेपालमा मनु मार्क्सवादीको त कुरै छाडौं, मार्क्सवादी दलित चिन्तकहरू सार्वजनिक रूपमा अम्बेडकर पढ्नुहुँदैन भन्दै हिंडेका छन्। बहुसंख्यक दलित बहुजनले मार्क्सवादी तथा माओवादी विद्रोहमा शहादत दिए। सर्वहारा वर्गको अधिनायकत्व निर्माणको आन्दोलनमा होमिएकै हुन्। तर, उनीहरूले के पाए ? परिणाम बाघ र बाख्राको मित्रताको कथा जस्तै साबित भयो। तिर्खा लाग्दा खोलासम्म सँगै जाने, तर भोक लाग्यो भने बाख्राले घाँस र बाघले बाख्रा खोज्ने।
प्रधान अन्तरविरोध जाति प्रथा
अम्बेडकरले यूरोपका मजदूर र भारत तथा नेपालका मजदूरका समस्यामा अन्तर देख्थे। यूरोपको मजदूर केवल आर्थिक शोषणको शिकार थिए, भारतका मजदूरलाई भने आर्थिक शोषणसँगै सामाजिक शोषण पनि हुन्छ।
गरीबी, स्रोत–साधनमा असमान पहुँच, अवसरमा असमानता वैश्विक समस्या हुन्। अर्थात् यी समस्या संसारका सबै देशमा छन्। तर, भारत र नेपालमा गरीबी, स्रोत–साधनमा असमान पहुँच र अवसरमा असमानतालाई जात (अ) व्यवस्थाले कैयौं गुणा बढाउन सहयोग गर्छ। यहाँ प्रधान अन्तरविरोध आर्थिक वर्ग नभएर सामाजिक वर्ण (जात) व्यवस्था हो।
अम्बेडकरको सम्पूर्ण जोड जातको विनाशमा थियो। जातको विनाश नगरेसम्म आर्थिक वर्ग निर्माण हुन नसक्ने उनको मान्यता थियो। वर्ग निर्माण नभएसम्म वर्ग संघर्ष झनै सम्भव हुँदैन। प्रधान अन्तरविरोध वर्ग भएको भए सर्वहारा वर्गको क्रान्ति उहिले नै भइसकेको हुन्थ्यो।
अम्बेडकरको सम्पूर्ण जोड जातको विनाशमा थियो। जातको विनाश नगरेसम्म आर्थिक वर्ग निर्माण हुन नसक्ने उनको मान्यता थियो। वर्ग निर्माण नभएसम्म वर्ग संघर्ष झनै सम्भव हुँदैन। प्रधान अन्तरविरोध वर्ग भएको भए सर्वहारा वर्गको क्रान्ति उहिले नै भइसकेको हुन्थ्यो।
अम्बेडकरले कम्युनिज्मलाई सर्वहारा वर्गको मुक्तिको सिद्धान्त मान्छन्। सर्वहारा वर्गले जीविकाको लागि पूर्णतया आफ्नो श्रम बिक्री गर्छ। कुनै पूँजीबाट हासिल गरेको मुनाफालाई मान्दैन। यसको आधारमा नेपालको दलित बहुजन नै साँचो सर्वहारा वर्ग हुन्। तर, अम्बेडकरको भनाइमा फ्रेडरिक एंगेल्सले भने जस्तो सर्वहारा वर्गको जन्म औद्योगिक क्रान्तिबाट भएको कुरा भारत र नेपालमा सम्भव छैन। एंगेल्सको विचार इङ्ल्याण्ड, जर्मनी र फ्रान्समा लागू हुनसक्छ, भारत र नेपालमा लागू हुन सक्दैन।
नेपालको सर्वहारा वर्गको जन्म वर्ण–व्यवस्थाको गर्भबाट भएको हो। जसले श्रमलाई मात्र विभाजन गरेन, श्रमिकलाई पनि जन्म–जन्मान्तर विभाजन गर्यो। असमानताको मात्र विकास गरेन, क्रमिक असमानता (ग्रेडेड इनइक्वालिटी) को सामाजिक तथा आर्थिक ढाँचा निर्माण गर्यो। भारत र नेपालमा जुन समय वर्ण–व्यवस्था अस्तित्वमा आयो, त्यही समयमा सर्वहारा वर्ग पनि अस्तित्वमा आए। नेपालको सर्वहारा वर्ग कुनै औद्योगिक क्रान्तिको परिणाम होइन। उनीहरू जन्मदेखि नै सर्वहारा, अछूत र दास छन्।
मार्क्सवादले उद्योगमा निजी स्वामित्वको पूर्ण उन्मूलन चाहन्छ। उद्योगको स्वामित्व सामूहिक हुनुपर्छ भन्छ। अम्बेडकर पनि उद्योगमा निजी स्वामित्वको पूर्ण उन्मूलनको पक्षमा छन्। तर, उन्मूलन कसरी गर्ने ? अम्बेडकरको भनाइमा भारतमा (नेपालमा पनि) निजी स्वामित्व मनुको न्याय व्यवस्थाको अंग हो, जसलाई धर्मको स्वरुप प्रदान गरिएको छ।
भारत र नेपालमा निजी स्वामित्वको इतिहास र त्यसको अवधारणा मार्क्स र एंगेल्सले प्रमाणित गरेको पश्चिमा इतिहास र अवधारणा भन्दा भिन्न छन्। भारत र नेपालमा वर्ण–व्यवस्थाले उद्योग, व्यापार र व्यवसाय गर्ने अधिकार केवल वैश्य वर्णलाई दिएको छ। भारत र नेपालमा पूँजीको केन्द्रीकरण हिन्दू अर्थ–व्यवस्थाको देन हो, जुन वर्ण–व्यवस्थाको रूपमा हिन्दूको प्राण हो। यो वर्ण–व्यवस्था विनाश नगरेसम्म निजी स्वामित्वलाई उन्मूलन गर्न सम्भव छैन।
मजदूरका हिमायती
भारतमा मजदूर नेताको रूपमा अम्बेडकरको योगदान महत्वपूर्ण छ। मजदूरको हकहितका लागि निरन्तर लागेका उनले मजदूरको कामको समयदेखि बीमा अधिकारसम्मका लागि संघर्ष गरे। उनले दैनिक काम गर्ने समय १४ घण्टाबाट घटाएर ८ घण्टा बनाएका थिए।
यति मात्र होइन, मजदूरको दुर्घटना बीमा, मजदूरको ‘प्रोविडेन्ट फण्ड’ (पीएफ), टीए÷डीए, मेडिकल लिभ, द कोल माइन्स सेफ्टी बिल, द फ्याक्ट्रिज (अमेन्डमेन्ट) बिल, वर्कर्स वेलफेयर एन्ड सोशल सेक्युरिटी बिल, माइन्स म्याटरनिटी (अमेन्डमेन्ट) बिल लगायत मजदूरको हकहितका लागि कैयौं कानून बनाइएको थियो।
अम्बेडकरका यी कामबाट हामी सहजै भन्न सक्छौं, उनले मार्क्सवादलाई भारतको मौलिक स्वरूपमा लागू गरेका थिए। तर विडम्बना के छ भने, मजदूर आन्दोलनमा उनी कतै देखिंदैनन्।
“मजदूर वर्गले आफ्नो विरुद्धमा ठूलो अपराध गरेका छन्। उनीहरूले सरकारमाथि नियन्त्रण गर्ने आकांक्षालाई आफूभित्र विकसित हुनै दिएनन्। आफ्नो हित रक्षाका लागि सरकारमाथि नियन्त्रण गर्नुपर्ने आवश्यकतालाई बुझ्नै सकेनन्। मजदूरको लागि यो सबभन्दा ठूलो त्रासदी हो।” - अम्बेडकर
अम्बेडकर फ्रान्सिसी क्रान्तिबाट प्रभावित थिए, तर स्वतन्त्रता, समानता र भ्रातृत्वको विचार तथागत बुद्धबाट लिएका थिए। फ्रान्सिसी क्रान्तिले मूलतः दुई सिद्धान्तलाई जन्म दिएको थियो। पहिलो स्वशासन (स्वराज) र दोस्रो आत्मनिर्णय (स्वाधीनता)। त्यसभित्र बाह्य दबाब विना, समान विचार र उद्देश्यसहित निर्णय लिन मानिसलाई संगठित गर्ने भावना अन्तर्निहित थियो। तर, हाम्रा राष्ट्रवादीहरू श्रमिक वर्गकै दुश्मन भए।
अम्बेडकरले भनेका थिए, ‘मजदूर वर्ग राष्ट्रवादका लागि पूजाको वस्तु (ताबिज) बन्न तयार हुनुहुँदैन। यदि राष्ट्रवादको मतलब प्राचीन अतीतको पूजा गर्नु भइदिन्छ भने मजदूर वर्गले त्यस्तो राष्ट्रवाद स्वीकार गर्न हुँदैन। मजदूर वर्गका लागि राष्ट्रवाद आफंैमा लक्ष्य हुनुहुँदैन, एउटा लक्ष्यसम्म पुग्न साधन मात्र हुनुपर्छ।’ अम्बेडकरले भारतको कम्युनिष्टहरूलाई ‘बन्च अफ द ब्राह्मण बोइज’ भन्थे र अफसोस गर्दै ‘गरीब र मजदूरको मुक्तिको क्रान्तिकारी आन्दोलन भारतमा गलत मान्छेको हातमा गएर बर्बाद भएको’ बताउँथे। जुन नेपालमा सन्दर्भमा पनि मेल खान्छ।
अम्बेडकर सर्वहारा वर्गलाई सबभन्दा पहिले राजनीतिक प्रभुत्व प्राप्त गर्न सुझाव दिन्छन्। सन् १९४३ को भाषणमा अम्बेडकरले मार्क्सवादमाथि टिप्पणी गर्दै भनेका छन्, “मजदूर वर्गले आफ्नो विरुद्धमा ठूलो अपराध गरेका छन्। उनीहरूले सरकारमाथि नियन्त्रण गर्ने आकांक्षालाई आफूभित्र विकसित हुनै दिएनन्। आफ्नो हित रक्षाका लागि सरकारमाथि नियन्त्रण गर्नुपर्ने आवश्यकतालाई बुझ्नै सकेनन्। मजदूरको लागि यो सबभन्दा ठूलो त्रासदी हो।”
अम्बेडकरको विचारमा कम्युनिष्ट घोषणापत्रको प्रभाव देखिन्छ। समाजवादी विचारक मधुलिमये संभवतः पहिलो व्यक्ति थिए, जसले समाजवादी आन्दोलनमा अम्बेडकरको भूमिकालाई महसूस गरेका थिए। उनले अम्बेडकरको पुस्तक ‘जातको विनाश’ लाई मार्क्सको ‘कम्युनिष्ट मेनिफेस्टो’ बराबरको महत्व दिएका थिए।
अम्बेडकरले मार्क्सको गहिरो अध्ययन गरेका थिए। साथै, उनले भारतीय तथा पश्चिमा समाजको चरम व्यक्तिवादको विकास र पूँजीवादलाई नजिकबाट अध्ययन गरेका थिए। उनको समाजवादी दृष्टिकोण अन्यभन्दा फरक थियो। उनले कुनै पनि दर्शन, सिद्धान्त र विचारलाई करोडौं दलित बहुजन तथा श्रमिक वर्गको दृष्टिकोणबाट हेर्थे।
अम्बेडकरको ‘जाति प्रथाको विनाश’ पुस्तक हिन्दू समाजको मूल समस्याको पहिचान हो भने उनको अर्को पुस्तक ‘राज्य र अल्पसंख्यक’ मा समाधानको सूत्र छ, जसलाई राज्य समाजवाद पनि भनिन्छ। राज्य समाजवादको अवधारणालाई भारतको सन्दर्भमा लागू गर्न प्रस्ताव गरेका छन्।
भारत र नेपालको सर्वहारा वर्ग वर्ण–व्यवस्थाको गर्भबाट पैदा भएको हुनाले यहाँ मार्क्सवाद जस्ताको त्यस्तै लागू हुन सक्दैन। नेपालको मजदूर वर्गले मार्क्ससँगै अम्बेडकरबाट पनि सिक्नुपर्छ। वास्तवमा यहाँ मार्क्सभन्दा अम्बेडकर बढी सान्दर्भिक छन्।
अम्बेडकर मजदूर वर्गलाई दुई वटा सुझाव दिन्छन्। जुन यति क्रान्तिकारी छन्, मार्क्सवादी विचारक पनि नकार्न सक्दैनन्। पहिलो सुझाव, मजदूर वर्गलाई संसदीय लोकतन्त्रभित्र रहनु छ भने यसलाई आफ्नो हितमा बदल्न मजदूरको सरकार गठन गर्ने लक्ष्य राख्नुपर्छ। यसका लागि मजदूरको छुट्टै राजनीतिक पार्टी गठन गर्नुपर्ने उनको राय छ।
दोस्रो, मजदूरले सफल रूपमा शासन संचालन गर्ने प्रमाणित गर्नुपर्छ, अरूको तुलनामा जनपक्षीय शासन संचालन गर्न सक्छु भनेर मात्र पुग्दैन। मजदूरको सरकारको मोडल अन्य सरकारको मोडल भन्दा ज्यादै कठिन हुनेछ। यसका लागि पर्याप्त ज्ञान र प्रशिक्षणको खाँचो हुन्छ। अम्बेडकरले दुःख मान्दै भारतको मजदूरले सिक्न नचाहेको बताउँथे। भारत र नेपालमा पनि मजदूर नेताले पूँजीपतिलाई गाली गर्न मात्र जानेका छन्।
भारत र नेपालको सर्वहारा वर्ग वर्ण–व्यवस्थाको गर्भबाट पैदा भएको हुनाले यहाँ मार्क्सवाद जस्ताको त्यस्तै लागू हुन सक्दैन। नेपालको मजदूर वर्गले मार्क्ससँगै अम्बेडकरबाट पनि सिक्नुपर्छ। वास्तवमा यहाँ मार्क्सभन्दा अम्बेडकर बढी सान्दर्भिक छन्।
(रजक अम्बेडकरी अध्येता हुन्।)