नेकपामा गहिरिंदै संकटः दाहाल–नेपाल समूहका विद्यार्थीले गरे छुट्टै भेला
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरूले काठमाडौंमा भेला गरेका छन्।
थापाथलीस्थित् इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरूले भेला गरेका हुन्। नेकपामा दुई अध्यक्षबीच विवाद चर्किंदै गएका बेला दाहाल–नेपाल समूहका विद्यार्थीहरू भेला भएका हुन्। विद्यार्थीहरूको भेलालाई नेकपाका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरूले सम्बोधन गरेका छन्।
भेलालाई सम्बोधन गर्न पुगेकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै शनिबार सचिवालय बैठक बस्नैपर्ने बताइन्। प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा भाग लिन्नँ भन्न नपाउने उनको टिप्पणी छ।
बैठकमा भाग लिएर निकास दिनुपर्ने शाक्यको मत छ। “भोलिको सचिवालयको बैठक हुनै पर्छ। अस्ति अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठकमा म आउँदिनँ, म बस्दिनँ, म छलफलमा भाग लिन्नँ भनेर भन्नुभयो”, शाक्यले भनिन्, “प्रचण्डको प्रतिवेदन पनि म मान्दिनँ भन्नुभयो। यो भन्न उहाँले पाउनुहुन्न। त्यसैले निकास बैठकबाटै हुनुपर्छ।”
दुईवटा प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा गइनसक्ने पनि नेता शाक्यले बताइन्। शनिबारको सचिवालयमा बसेर संयमताका साथ बहस गर्न नेताहरूलाई आग्रह गरिएको पनि शाक्यले बताइन्।
“दुईवटा प्रतिवेदन आयो भन्दैमा पार्टी विग्रहमा जान्छ भन्ने मलाई पटक्कै लाग्दैन। त्यसैले पहिलो कुरा भोलि सचिवालयको बैठक बस्ने र दुई वटै प्रतिवेदन अगाडि राखेर अत्यन्तै संयमताका साथ, नैतिकताका साथ लागेका कुराहरू खुलस्त ढंगले एकअर्कामा आलोचना नै गरेर प्रस्तुत भएर छलफल गर्ने हो भने एक दुई दिन जान्छ होला। त्यसपछि एउटा निष्कर्ष आउँछ” शाक्यले थपिन्, “अब कसरी एक ढिक्का बनाएर पार्टीलाई लैजाने भन्ने कुराको निष्कर्षमा पुग्नै पर्छ। त्यो भन्दा अरु विकल्प खोज्नुभयो भने नोक्सान हुन्छ।”
अध्यक्ष दाहालले प्रस्तुत गरेको दस्तावेज मान्दिनँ पनि भन्ने त्यसैको प्रतिउत्तर पनि दिने ओलीको शैलीमाथि शाक्यले प्रश्न उठाइन्। लिखित प्रतिउत्तर दिने तर, छलफलमा बस्दिनँ भन्न नमिल्ने उनको टिप्पणी छ।
“दस्तावेज मान्दिनँ भनेर भनेको हो भने उहाँले प्रतिउत्तर किन दिनुपर्यो? प्रचण्डले पेश गरिसकेपछि जे जे त्यहाँभित्र छ त्यसको प्रतिउत्तर उहाँले दिइसक्नुभयो। लिखित प्रतिउत्तर दिने अनि छलफलमा भाग नलिने भनेर भाग्न मिल्छ ? बैठक छोडेर जान मिल्छ ? उहाँले समस्याको समाधान कसरी दिन खोजिराख्नुभएको छ, कहाँ गएर खोजिराख्नुभएको छ? बाहिरबाट समस्याको समाधान हुँदैन”, शाक्यले भनिन्।
अध्यक्ष ओलीले नै पहल गरेर एकता भएको पार्टीभित्र देखिएका समस्याको समाधान गर्दै सबैलाई एक बनाएर लैजाने दायित्व पनि उनकै भएको शाक्यको भनाइ छ। बैठकबाट भाग्ने विषय लोकतान्त्रिक चरित्र नभएको शाक्यले टिप्पणी गरिन्।
भेलालाई सम्बोधन गर्न पुगेकी अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि पत्रकारहरूसँग कुराकानी गर्दै शनिबारको बैठकमा अध्यक्ष ओली उपस्थित हुने विश्वास व्यक्त गरिन्। समस्याको समाधान गर्न बैठकमा भाग नलिनेलाई नेतृत्व मान्न नसकिने भुसालले बताइन्।
“प्रधानमन्त्रीले अस्तिको बैठकमा आउन्न भन्नुभएको हो। भोलिको बैठकमा आउनुहुन्न भन्ने लाग्दैन। आफैंले ३८ पेजको प्रस्ताव पेश गर्नुभएको छ र उहाँसित सम्बन्धित भएर सचिवालयमा अरुले पनि प्रस्ताव राख्नुभएको छ” भुसालले भनिन्, “ती प्रस्तावहरूको छलफलमा सहभागी नबनेर, त्यसबाट उम्केर समस्याको हल हुन्न। उहाँ आउनुहुन्छ, आउनुपर्छ र बसेर छलफल गरेर समस्याको सामना गर्नुपर्छ। समस्याको सामना नगर्ने नेतृत्व हुन सक्दैन।”
उनले जसले समस्याको छलफल गर्न सक्छ वा अन्तर विरोधको हल गर्न सक्छ त्यो मात्रै सही नेतृत्व हुने बताइन्। भेलालाई दाहाल–नेपाल निकट स्थायी कमिटी सदस्यहरू शाक्य, भुसाल, केन्द्रीय सदस्यहरू रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैरेलगायतले सम्बोधन गरेका थिए।