राजतन्त्र र हिन्दूराष्ट्रका पक्षमा हेटौंडामा राप्रपाको प्रदर्शन
राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दूराष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकल र्याली गरेको छ।
पार्टी कार्यालय सानोपोखराबाट निस्किएको र्यालीले बजार परिक्रमा गरेको थियो। प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारीलगायतका विषयमा नाराबाजी गरिएको थियो।
शहर परिक्रमापश्चात् सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले जनताले परिवर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने धारणा राखे।
कांग्रेस–कम्युनिष्टको गलत नीति र अवधारणाले मुलुक समस्याको दलदलमा भासिएको भन्दै अधिकारीले राप्रपा अबको वैकल्पिक शक्ति भएको दाबी गरे।
पार्टीका युवा नेता राजाराम बर्तौलाले राष्ट्रवाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो दियो निभ्न नदिइने बताए। राप्रपाको नेतृत्वमा असली परिवर्तनको आन्दोलन अघि बढ्ने बर्तौलाले दाबी गरे।
कार्यक्रममा केन्द्रीय सदस्य नवराज बिष्ट, जिल्ला अध्यक्ष रामहरि न्यौपाने ,युवा संगठन अध्यक्ष शुक्र प्रजा लगायतले बोलेका थिए।
पछिल्लो समय राजसंस्था र हिन्दूराष्ट्रको माग गर्दै देशभर प्रदर्शन भइरहेका बेला राप्रपा मकवानपुरले शुक्रबार पार्टीको ब्यानर र झण्डामा कार्यक्रम गरेको हो।