काठमाडौंमा केन्द्रीय सहकारी बजार शुरू, मन्त्री अर्याल भन्छिन्- ‘सहकारी बजारले सिधै किसानलाई लाभान्वित गर्छ’
सहकारी बजार विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको शुरूआत गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार सहकारी बजारको उद्घाटन गरिन्।
भूमि मन्त्रालय र यूएनडीपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको हो। नेपाल सरकार र यूएनडीपीको सहकार्यमा बागमती प्रदेशका ६ जिल्लाका १८ पालिकाका ७१ वटा सहकारीसँग यो कार्यक्रम सञ्चालित गरिएको छ।
केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीबाट उत्पादित सामग्रीहरूको बजारीकरण आजको आवश्यकता भएको बताइन्।
अहिले उत्पादनको समस्या नरहेको भन्दै मन्त्री अर्यालले उत्पादित सामग्रीको बजारीकरण प्रमुख चुनौतीको रूपमा रहेको बताइन्।
“सहकारीमार्फत् उत्पादित सामग्रीको बजारीकरण आजको प्रमुख चुनौती हो। यही कुरालाई दृष्टिगत गरेर सरकारले सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरेको हो”, मन्त्री अर्यालले भनिन्, “सहकारीमार्फत् उत्पादित सामग्री सहकारीमार्फत् बजारीकरण गर्नका निम्ती यो कार्यक्रमको सञ्चालन गरिएको हो। यसलाई देशव्यापी बनाउन आवश्यक छ।”
किसानले उत्पादन गरेको सामग्रीले बजार नपाएर सडकमा पोख्नुपर्ने, नष्ट गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी बजार विकास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।
“किसानलाई उत्साहित बनाउन सकिएन भने, उत्पादन गरेर मात्र प्रगति हुँदैन। किसानहरूलाई उत्साहित बनाउन बजारको व्यवस्थापन आवश्यक छ”, मन्त्री अर्यालले थपिन्।