७१ वर्षीय वृद्धले बल्ल पाए नागरिकता
मुगुको सोरु गाउँपालिका–३ भीइगाउँका सिंगे बुमीले ७१ वर्षको उमेरमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्। उनले बुधबार जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिए।
विसं. २००६ साल भदौमा जन्मिएका सिंगे युवा उमेरमै ज्याला मजदूरीका लागि भारत पसेका थिए। आफू ३०/४० वर्ष भातको डेपरेग गढुवाल भन्ने ठाउँमा बसेर फर्किएको उनी बताउँछन्।
“पहिलेका धेरै कुरा बिर्सिएँ। मसँग धन सम्पत्ति पनि केही छैन। राम्रोसँग नेपाली भाषा बोल्न पनि आउँदैन”, उनले भने।
अविवाहित बुमी अहिले आफ्नो भाइको घरमा बस्दै आएका छन्। लामो समय खोजी गर्दै जाँदा गत वर्षको माघमा भारतको डेपरेग गढुवाल भन्ने ठाउँमा दाजुलाई आफ्नो छोराले पत्ता लगाएर घर ल्याएको ४६ वर्षीया कान्छा भाइ मन्दीरे बुमीले बताए।
करीब ४०/५० वर्षपछि उनी भारतमा छन् भन्ने पत्ता लागेको सोरु गाउँपालिका-३ का वडा अध्यक्ष लालु धामी बताउँछन्। त्यसपछि खोजी गर्दै जाँदा उनका भाइका छोराले त्यस ठाउँमा पुगेर सिंगेलाई घर ल्याइएको उनले बताए।
सोरु गाउँपालिका-३ का वडा अध्यक्ष धामीका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र बनेसँगै उनलाई साामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सहज हुनेछ।