शान्तदासलाई विकल वाङमय र आहुतिलाई रमेश विकल सिर्जना पुरस्कार
आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कार विजेताको नाम घोषणा गरिएको छ।
रमेश विकल साहित्य प्रतिष्ठानद्वारा गठित समितिले गरेको सिफारिश अनुसार विकल वाङमय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई दिइने भएको छ। यो पुरस्कारको राशि रु.३० हजार छ।
यस्तै, रु.२० हजार राशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई दिने प्रतिष्ठानले जनाएको छ। रमेश विकल सिर्जना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतिलाई प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए।
प्रतिष्ठानका सदस्य मातृका पोखरेलको संयोजकत्वमा गठित समितिका सदस्यमा साहित्यकारद्वय कोषराज न्यौपाने र पुरुषोत्तम सुवेदी छन्।
साथै, यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बाल साहित्यकार प्रभा भट्टराई र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइदेवी विश्वकर्मालाई प्रदान गरिनेछ। रमेश विकल कला सङ्गीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने निर्णय गरिएको छ। यी सबै पुरस्कारको राशि रु.१० हजार छ।
यी सम्मान र पुरस्कार आगामी ४ पुसमा अर्पण गरिने प्रतिष्ठानका महासचिव चालिसेले बताए।