उदयपुरमा सौर्य सिमेन्टको चुनढुंगा खानीमा बम विष्फोट
उदयपुरको कटारी नगरपालिका–८ स्थित सौर्य सिमेन्टका लागि चुनढुंगा उत्खनन गर्ने खानीमा गए राति अज्ञात समूहले बम विष्फोट गराएको छ। विष्फोटबाट चार वटा स्काभेटर र एउटा मोटरसाइकलमा क्षति पुगेको छ।
खानीका कर्मचारी होम बस्नेतका अनुसार, मध्यराति १२ बजेतिर भएको विष्फोटबाट बा १ ख ७९९२ नम्बरको स्काभेटर पूर्णरुपमा जलेर नष्ट भएको छ भने अन्य ३ वटामा सामान्य क्षति पुगेको छ। यस्तै, स्थानीय एउटा मोटरसाइकल पूर्णरुपमा जलेको छ।
विष्फोटपछि आत्तिएर भाग्ने क्रममा खानीका पाँच जना कर्मचारी लडेर घाइते भएका छन्। घाइते भएका दुर्गाबहादुर तामाङ, विष्णुबहादुर मगर, शिवकुमार मोक्तान, सागर मोक्तान र नवीन मगरको कटारी अस्पतालमा उपचार भइरहेको छ।
बस्नेतका अनुसार अन्दाजी ७ जनाको टोली राति हल्ला गर्दै आएर बम विष्फोट गराएका थिए। उनीहरुले खानीमा स्काभेटरमा आगो समेत लगाएका थिए।
घटनाको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय कटारीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमन्त भण्डारी क्षेत्रीले चार वटा बम विष्फोट भएको र अझै खानी क्षेत्रमा दुई वटा शंकास्पद वस्तु रहेकाले डिष्पोजल टोली लिएर घटनास्थल जान लागेको जानकारी दिए। घटनास्थलाई अहिले प्रहरीले सुरक्षा गरिरहेको उनले बताए।
- ऋषि राई, कटारी