टिकटकले लम्ब्याउँदैछ भिडिओको सीमा
छोटो अवधिको भिडिओ शेयर गर्न मिल्ने लोकप्रिय मोबाइल एप टिकटकले भिडिओको सीमा बढाउने तयारी गरिरहेको छ।
हाल टिकटकमा ६० सेकेन्डसम्मको भिडिओ राख्न सकिन्छ। यसलाई बढाएर तीन मिनेटसम्मको भिडिओ शेयर गर्न सकिने सुविधा ल्याउने तयारी भइरहेको सामाजिक सञ्जालका विश्लेषकहरुले बताएका छन्। टिकटकले केही सीमित व्यक्तिलाई तीन मिनेटको भिडिओ अपलोड गर्न सक्ने सुविधा दिएर यसको प्रयोग गरिरहेको छ।
त्यसमध्येका एक, सामाजिक सञ्जाल विज्ञ मेट नवाराले तीन मिनेट लामो भिडिओ राख्न सकिने भन्दै टिकटकबाट आएको सन्देशसहितको ट्वीट मार्फत यसबारे जानकारी दिएका छन्। यस्तो सुविधा मोबाइल एप र डेस्कटप दुवैमा परीक्षणका रुपमा ल्याइएको छ।
टिकटकको यो तयारीले उसले आफ्नो दायरा बढाउँदै प्रयोगकर्ताको फैलिंदो आकांक्षालाई सम्बोधन गर्न खोजेको देखिन्छ। किनकि, यसका कतिपय प्रयोगकर्ताले एक मिनेटको भिडिओमा आफ्नो विषयवस्तु समेट्न नसकेको गुनासो गर्ने गरेका छन्। जसका कारण टिकटकमा बाँकी भागका लागि 'पार्ट २' को प्रचलन पनि बढेको छ। भिडिओ अवधि लम्बिने सुविधा थपिएपछि त्यस्तो सन्देशको प्रचलन अन्त्य हुन सक्नेछ।
अर्कातिर, छोटो भिडिओबाट तत्काल ध्यान तान्ने टिकटकको विशेषतालाई लामो भिडिओ सुविधापछि कत्तिको धैर्यपूर्वक हेर्लान् र रुचाउँलान् भन्ने प्रश्न पनि छ।
सामाजिक सञ्जालको दुनियाँमा आफ्नो दायरा विस्तार गर्ने टिकटकको कदम नयाँ होइन। गएको सेप्टेम्बरमा इन्स्टाग्रामले 'रिल्स' मा राखिने भिडिओ क्लिपको समय १५ सेकेण्डबाट लम्ब्याएर ३० सेकेण्ड बनाएको थियो। त्यस्तै, सन् २०१७ मा माइक्रो ब्लगिङ साइट ट्वीटरले १४० अक्षरको सीमा दोब्बर पारेको थियो।