शिकारीले छाडेको बन्दुक ल्याउने क्रममा वन रक्षकको मृत्यु
बुधबार राति उदयपुर बेलका नगरपालिकास्थित तपेश्वरीको सबडिभिजन वन कार्यालय तपेश्वरीका वनरक्षक ४० वर्षीय लेखनाथ बाँस्तोलाको शिकारीले छाडेको भरुवा बन्दुक पड्केर मृत्यु भएको छ।
शिकारीले छाडेको बन्दुक बोकेर कार्यालयमा ल्याउने क्रममा पड्किंदा बाँस्तोलाको मृत्यु भएको डिभिजन वन कार्यालय उदयपुर गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साह जानकारी दिए। मृतकका आफन्तले बिहीबार रातिसम्म पनि शव बुझ्न नमानेका साहले बताए। शव वन कार्यालयमै छ।
डिभिजन वन कार्यालय गाईघाटका अनुसार बुधबार राति सबडिभिजन वन कार्यालय तपेश्वरीका दुई जमदार, दुई सिपाही र दुई वनरक्षक गरेर छ जना रात्रिगस्तीमा गएका थिए। जङ्गलमा चोरी शिकारी फेला परेपछि वनका कर्मचारीले घेर्ने क्रममा शिकारी बन्दुक छाडेर भागेपछि उक्त बन्दुक वनरक्षक बाँस्तोलाले बोकेर गाडीबाट कार्यालयसम्म ल्याएको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ।
बाँस्तोलाले राति १० बजे उक्त लोड भएको भरुवा बन्दुक कार्यालयभित्र लैजाने क्रममा ढोका नजिकै पड्किंदा आफैंलाई लागेर घटनास्थलमै उनको मृत्यु भएको डिभिजन वन कार्यालय गाईघाटका प्रमुख अम्बिका पौडेलले बताए।
घटनापछि बिहीबार सुनसरी दुहबी घर भएका वनरक्षक बाँस्तोलाका आफन्तलाई बोलाइएको र घटनाबारे जानकारी गराएर प्रहरी र वनका कर्मचारीले शव बुझ्न आग्रह गरेको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ। मृतकका एक आफन्तले आफैं बन्दुक पड्कन असम्भव रहेको र यसभित्र रहस्य भएको भन्दै सत्यतथ्य पत्ता लगाउन छानबिन नभएसम्म आफूहरुले शव नबुझ्ने बताए।