'उपमेयरको गाडी रोकेको हो, जलाउन खोजेको होइन'
नेपाल विद्यार्थी सङ्घ झापाका सभापति राजेन्द्र उप्रेतीले बिहीबारको घटनामा मेचीनगर नगरपालिकाका उपमेयर मीना पोखरेल उप्रेती चढेको गाडी आफूहरुले जलाउन नखोजेको बताएका छन्।
बिहीबार उपमेयर उप्रेती चढेको गाडीलाई नेवि संघका कार्यकर्ताले अवरोध गरेका थिए। सभापति उप्रेतीले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रको निर्देशन अनुसार सरकारी गाडी चलाउन नदिने क्रममा उपमेयर पोखरेल चढेको गाडी कार्यकर्ताहरुले रोकेको स्वीकार गरेका छन्।
उपमेयरले दाबी गरे जस्तो गाडी जलाउने प्रयास नभएको उनले विज्ञप्ति मार्फत स्पष्ट परेका छन्।
उपमेयर पोखरेलले भने मेचीनगर नगरपालिका–१३ चारआलीस्थित पूर्व-पश्चिम राजमार्गमा मे १ झ १७२ नम्बरको सरकारी गाडीमा दिउँसो नगरपालिका कार्यालय जाँदै गरेका बेला नेविसङ्घका कार्यकर्ता बताउने दुई व्यक्तिले पेट्रोल छर्केर जलाउन खोजेको बताउँदै आएकी छिन्।
बुधबार तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको विरोधमा नेवि सङ्घले बिहीबार देशैभरि सरकारी गाडी चल्न नदिने निर्णय गरेको थियो।