‘मच्छिन्द्रबहालमा भजन गाउने हिम्मत कसरी गर्यो नारायणगोपालले ?’
नारायणगोपाल (गुरुवाचार्य) लाई सबैले चिन्दछन्। सुनहरि चाहिं मेरा दिवङ्गत ससुरा हुनुहुन्थ्यो। काठमाडौंको पुरानो ठाउँ भेडासिंको जनबहाल वा मच्छिन्द्रबहालको हुनुहुन्थ्यो सुन्दरहरि प्रजापति। साथीहरूले उहाँको नाम छोट्टयाएर सुनहरि राखिदिए। मैले उहाँकी छोरी रञ्जनारानी प्रजापतिलाई बिहे गरेपछि म सुनहरिको ज्वाइँ हुन पुगें।
नारायणगोपाल रञ्जनाका ठूला दाजु बराबर थिए। उनी भेडासिं नजिकैको किलागल टोलमा बस्थे। रञ्जनाका दाजुहरू रामकृष्ण ‘तुफान’ प्रजापति र श्यामकृष्ण प्रजापति नारायणगोपालका बाल्यकालीन मित्र थिए। यी सम्बन्धहरूका कारण म नारायणगोपाललाई जेठान वा दाइ भन्न थालें। उनले पनि मलाई ज्वाइँसाब वा ज्वाइँनारायण भनी बोलाउन थाले।
हाम्रो यस नाता–सम्बन्धले अर्को गोपालसँगको मेरो सम्बन्धमा तत्कालै परिवर्तन ल्यायो। ऊ थियो बहुमुखी सङ्गीतस्रष्टा गोपाल योञ्जन। हामीले ‘गोफ्ले’ भनी बोलाउने गोपाल योञ्जनलाई हामी दार्जीलिङमा अम्बर गुरुङको आर्ट एकेडेमी अफ म्युजिकको सदस्य हुँदादेखि नै म चिन्थें। ऊ त नारायणगोपालको ‘मीतज्यू’ पो भइसकेको रहेछ। अब जेठानको मीतज्यूसँग त साथीको जस्तो व्यवहार गर्नुभएन।
त्यसैले काठमाडौंमा दुवै गोपालहरूसँगको मेरो व्यवहार अत्यन्तै शिष्ट र औपचारिक हुन गयो। हामीहरू भीडभाडमा मात्र भेट्थ्यौं र रेडियो नेपालका रेकर्डिङ स्टुडियोमा पूरै व्यावसायिकता साथ प्रस्तुत हुन्थ्यौं। त्यहाँ म सेसन सङ्गीतकारका रूपमा गिटार र अकुस्टिक डबल बेस बजाउँथेँ। साथै शहरमा हुने अन्य सार्वजनिक कार्यक्रममा पनि म गिटार बजाउँथें।
यो चाहिं अलिक अनर्थकै कथा हो र यो सन् १९७८ को अन्त्यतिरको कुरा हो।
हामीहरू मासंगल्लीमा रहेको नेवार साहूको ठर्रा पसलमा पिउनका लागि नियमित रूपमा भेट्थ्यौं। संयोगले साहूको नाम पनि नारायण नै थियो। उनका नियमित ग्राहकमा चित्रकार/कवि उत्तम नेपाली, नर्तक/अभिनेता रवि शाह र कोकिल गुरुङ, अभिनेता भीमवरसिंह थापा, ‘माइतीघर’ चलचित्रमा खेलेका पुराना अभिनेता यमबहादुर खड्का, नर्तक श्यामकृष्ण प्रजापति (मेरा जेठान) र अन्य धेरै थिए। गृह मन्त्रालयबाट खटिएका कालो टोपी लाउने जासूस र लल्लुपञ्जुहरू पनि हामीसँग घुलमिल हुन आइपुग्थे।
नारायणगोपाल पनि त्यहाँको नियमित ग्राहक थिए। उनी नारायण साहूको ठर्रा पसलमा पाइने नेवारी रक्सी र सित्तन मन पराउँथे। कडा रक्सी खान सक्ने तथा मसालेदार खानेकुरा मन पराउने उनको बानी उनलाई चिन्नेहरू सबैलाई थाहा थियो।
एक रात ठर्रा पसलबाट बाहिरिने अन्तिम दुई ग्राहकमा नारायणगोपाल र म थियौं। त्यतिखेर रातिको लगभग ११ बजेको थियो। शरद्कालीन रात्रि ताजगीपूर्ण र सुखदायक थियो। म चाँदनीको उज्यालोमा हनुमानढोकास्थित तलेजु भवानी मन्दिरको गजुर देख्न सक्थें।
हामीहरू हिंड्दै सेतो मच्छिन्द्रनाथ मन्दिरको ढोका सामुन्नेको दोबाटोमा पुग्यौं। ठ्याक्कै अगाडि इन्द्रचोक जाने सडक थियो भने पूर्वतिर असन र छेउछाउका गल्लीतिर जाने सडक।
हामीले मन्दिरभित्र भजनमण्डलीले गाइरहेको सुन्यौं। जनबहालका अनिद्राले ग्रस्त बूढापाकाहरू त्यहाँ प्रत्येक रात भेला भएर रात्रिकालीन भजन गाउने गरेको मलाई थाहा थियो। मलाई यो किन राम्ररी थाहा थियो भने यो मेरो ससुराको टोल थियो। राति जागेर सङ्गीत उराल्ने जमातका प्रमुख सदस्य हुनुहुन्थ्यो सुनहरि। उहाँ उनीहरूको गाँजा तयार पार्ने उस्ताद पनि हुनुहुन्थ्यो। उहाँ र उहाँका गीतांगे साथीहरू आनन्दको मात्रालाई बढाउन तथा पृथ्वीमा बाँचुञ्जेलसम्म सृष्टिकर्तासँग एकाकार हुनका लागि गाँजा खाने गर्थे।
‘ल, त्यहाँ जाऊँ !’ नारायण दाइ यसो भन्दै मन्दिरतिर लम्किए। म उनको पछि लागेँ। भित्र फलामे डण्डीले घेरिएको मञ्चमा १५–१६ जना बूढाहरू चर्को स्वरमा गाइरहेका थिए। गोरा र जापानी पर्यटकहरू चाहिं भजन सुनिरहेका थिए अनि मन्दिरको सार्वजनिक घेराभित्रबाट फोटो लिइरहेका थिए। उस बेला यस्ता भजनमण्डलीहरू काठमाडौंका प्रमुख रात्रिकालीन दृश्यावलोकन गतिविधिमा पर्दथे।
मेरा ससुराबा त्यहाँ आफ्ना मण्डलीका सदस्यहरूबाट घेरिएर बसिरहनुभएको थियो।
केही बेरपछि भजन गायनमा विश्राम भयो। मेरा ससुराबाले त्यस विश्रामको समयमा लामो समय लगाएर एउटा चिलिम तयार पार्नुभयो अनि त्यसलाई स्वाट्ट सल्काएर अरूलाई तान्न दिनुभयो। मन्दिरको भित्री भाग केही सेतोसेतो र नीलो धुवाँले भरियो अनि हामी सबैले त्यो धुवाँ निल्नुप-यो।
ठीक त्यतिखेर नारायण दाइले जुत्ता खोले। नेवारीमा का–का–का (ठीक छ, ठीक छ) भन्दै उनी मञ्चमा उक्लिए र हार्मोनियम अगाडि पलेंटी कसेर बसे। कसैले उनलाई चिलिम दियो। उनले चिलिमको लामो र गहिरो सर्को लिए अनि आगोको मुस्लो फाल्ने ड्र्यागन जस्तै धुवाँको मुस्लो मुखबाट निकाले।
त्यसपछि गहन ध्यानमा आफ्ना आँखा बन्द गरेर उनी गाउन थाले। उनले लगातार एकपछि अर्को ६ वटा भजन गाए। बूढाहरूले उनलाई आफ्नै बिरादरीको आफू जस्तै भजन गायक भनी चिनिहाले। उनीहरूले उनलाई हार्मोनियममा तबला, ढोलक, त्रिंगाल, झ्याम्टा र एकतारे बजाएर उत्साहपूर्वक साथ दिए। रात जीवन्त भयो: भजनमण्डलीको स्वरले पूरै टोल थर्कियो।
नारायण दाइले अन्तिम भजन गाइसकेपछि हाँसोठट्टा र गफगाफ चल्यो। अन्तमा उनले बिरादरीका एक जनाबाट चिलिम लिए, एक सर्को ताने र फेरि धुवाँको अर्को मुस्लो फाले।
म दर्शकदीर्घाबाट सबै कुरा हेरिरहेको थिएँ। चिलिम तान्ने र गाउने अवधिभरि ससुरा र मैले आँखा जुधाएनौं। मैले गाँजा तान्न र लागूऔषध खान वर्षौंअघि नै छोडिसकेको थिएँ। त्यसैले त्यस साँझ नारायण साहूको भट्टीमा जे पिएँ त्यसैबाट म सन्तुष्ट थिएँ।
नारायण दाइले तल झरेर जुत्ता लगाएपछि हामी त्यहाँबाट हिंड्यौं। हामी त्यही दोबाटोमा छुट्टियौं, उनी उत्तरतर्फ ठमेलस्थित नरसिंहक्याम्पातर्फ लागे भने म चाहिं पाटनस्थित कोपुण्डोलतर्फको लामो पदयात्रामा लागें।
XXX
त्यस घटनापछि कुराले एकदमै नराम्रो मोड लियो।
एक साँझ रञ्जना उत्तेजित अवस्थामा घर आइन्। ‘भेडासिंमा ठूलो होहल्ला भएछ,’ उनले सास फुलाउँदै भनिन्।
‘किन ?’ मैले सोधेँ।
उनले चिच्याएर भनिन्, ‘तपाईंले नारायण दाइलाई मन्दिरको भजनमण्डलीमा लानुभएछ।’
‘हैन,’ मैले प्रतिकार गरेँ। ‘उनले पो मलाई त्यहाँ लगेका हुन्।’ उनले रमाउँदै गाँजा तानेको र भजन गाएको पनि मैले बताएँ। ‘बूढाहरूले पनि उनीसँगै गाँजा ताने र भजन गाए,’ मैले भनेँ।
मैले भनेका कुरा रञ्जनाले आफ्ना दाजुहरू रामकृष्ण ‘तुफान’ र श्यामकृष्णलाई सुनाइन्। उनीहरू त्यतिखेर पुरानो काठमाडौँका नामी दादाका रूपमा चिनिन्थे।
तर मेरो स्पष्टीकरण काम लागेन। खासमा नारायणगोपालमाथि उनको टोल किलागलसँगको पुरानो झगडाका कारण भेडासिं आउन प्रतिबन्ध लगाइएको रहेछ। रञ्जनाको टोलका सबै नेवारहरू क्रूद्ध भएछन्। ‘मच्छिन्द्रबहालमा आएर भजन गाउने हिम्मत कसरी गर्यो नारायणगोपालले ?’
यसको उत्तर तयार रहेछ, ‘किनकि सुनहरिको ज्वाइँले उसलाई यहाँ ल्यायो।’
‘कुन ज्वाइँ ?’
‘त्यही प्याटर कि पित्तल कि पित्तर भन्ने छ नि दार्जीलिङको। त्यही रञ्जनालाई बिहे गर्ने क्या ! हो त्यही।’ (मेरो अंग्रेजी नाम काठमाडौँका लागि अहिलेसम्म पनि पहेली नै छ।)
त्यसपछि त ममाथि गालीको वर्षा शुरू भयो। ए, त्यो पिटर ? त्यो गाई खाने, वेश्याको छोरो, मामपाका ... ! त्यो दार्जीलिङबाट आएको प्रवासी, त्यो क्रिस्चियन, त्यो निकम्मा भाते, भोटे ! अरू थुप्रै नेवारी गालीहरू पनि ममाथि बर्साइए, ती सबैलाई यहाँ छाप्न पनि मिल्दैन।
त्यो आक्राेश त भजनकाण्ड पो बन्यो। यसले जन्माएको विवादका कारण म पनि नारायण दाइ जस्तै भेडासिंमा प्रतिबन्धित भएँ। म ससुरालीमा समेत आउन नपाउने भएँ। सन् १९८३ मा मेरा ससुरा सुनहरि बितेपछि मात्र म रञ्जनाको माइती जान पाएँ: मलाई त्यतिखेर मात्र माफी दिइयो।
तर मैले चित्त दुखाइनँ। म नेवारहरूको सामुदायिक शत्रुता बुझ्थेँ। आखिर काठमाडौं उपत्यकामा एकताका मल्ल राजा दाजुभाइहरूको शासन थियो। उनीहरू शताब्दीयौँसम्म एकअर्कासँग झगडा गरिबसे। सन् १८०० मा भीमसेन थापाले नभत्काएसम्म काठमाडौं पर्खालले घेरिएको टोलैटोलको एक भूलभुलैया न थियो। काठमाडौँमा अहिलेसम्म पनि देखिने नागरिक आचरणको अभाव यही पारिवारिक, जातिवादी र वर्गीय विभाजनको कारणले गर्दा हो।
नारायणगोपालले मेरो विरुद्धका यी घटनाक्रम थाहा पाए कि पाएनन् त्यो मैले पत्ता लगाउन सकिनँ। उनले गरेका कामको दोष सबैले मलाई नै लगाए भन्ने उनले थाहा पाए कि पाएनन् भन्ने पनि मैले थाहा पाउने स्थिति रहेन।
तर हाम्रो प्रायः भेटघाट भइरहन्थ्यो। म विशेषगरी एउटा रमाइलो साँझ सम्झिन्छु जुन बेला म ठमेलको नरसिंहक्याम्पास्थित उनको डेरामा गएको थिएँ। म उत्तम नेपाली दाइ र नारायणगोपालसँग नजिक रहेका अरू वरिष्ठ नेवारहरूसँग थिएँ। हामीहरूले घरैमा बनाएको नेवारी ‘वास’ र उनकी पत्नी पेमला भाउजूले तयार पारेको गजबको सित्तन खायौँ। नारायण दाइले नेवारी लोकगीत र परम्परागत धुनहरू हार्मोनियम बजाएर हामीलाई सुनाए।
मसँग बुझ्ने, माफी दिने र बिर्सने क्षमता थियो भने हालसालै भेडासिंमा उनका कारण जे भयो त्यो उनले पत्तो नपाउनु उनको हितमा थियाे।
त्यसपछि हाम्रो भेटघाट खासै भएन। आफ्नो अद्वितीय आवाजका कारण उनी नेपालको स्वरसम्राट भनी चिनिन लागे। उनी र उनकी पत्नी पेमलाले महाराजगञ्जमा एउटा घर बनाए। त्यसपछि उनी राष्ट्रिय नाचघरको प्रबन्ध निर्देशक नियुक्त भए जहाँ उनले तिरस्कृत तानाशाहका रूपमा शासन चलाए।
केही वर्षपछि मेरा ससुराको श्राद्धका बेलामा मेरा जेठान श्यामकृष्णले त्यस रात नारायणगोपाललाई भजनमण्डली भए ठाउँ लगेको आरोप ममाथि लगाउनमा ‘बाहिरी तत्वहरू’ जिम्मेवार रहेको बताए।
XXX
‘भेडासिं जस्तो पुरानो, बन्द र सुरक्षित टोलमा कुन बाहिरी तत्व हुन सक्छ र ?’ मैले सोधेँ।
उनले व्याख्या गरेनन्।
नारायणगोपाल हामीमाझ छैनन्। पुरानो काठमाडौँको सेतो मच्छिन्द्रनाथ मन्दिर वा जनबहाल गुठीको प्रसिद्ध भजनमण्डलीका अधिकांश सदस्यहरू पनि बितिसके। नारायण साहूको ठर्रापसल उहिल्यै बन्द भइसक्यो। त्यहाँ जाने हामी नियमित ग्राहकहरू पनि बूढा हुँदै गयौं र लाखापाखा लाग्यौं।
सुनहरिका एक नाति अझै पनि भेडासिंमा बस्छन् र उनी राति भजन गाउने प्रसिद्ध मण्डलीका सदस्य हुन्। भजन गाउने पुरानो काठमाडौंका मन्दिरहरूमा रातिराति पर्यटकहरू सके अझै घुम्न जान्छन् होला।
नारायणगोपालको जन्म ४ अक्टोबर १९३९ र मृत्यु ५ डिसेम्बर १९९० मा भएको थियो।
- १० सेप्टेम्बर २००३ को द काठमान्डु पोष्ट मा प्रकाशित। २८ जुलाई २०१५ मा इगेन, मिनियापोलिसमा र सन् २०१६ को अन्त्यतिर कोपुण्डोलमा अनि १० अप्रिल २०१७ मा काठमाडौंको शान्तिनगरमा परिमार्जित।
- अंग्रेजी मूलबाट अनुवादः विन्देश दहाल
(स्व. पिटर जे.कार्थक लिखित यो लेख हामीले हिमाल बुक्सद्वारा प्रकाशित पुस्तक 'नेपाली सङ्गीतस्रष्टा' बाट लिएका हौं । 'नेपाली म्युजिकमेकर्स' को अनुवाद यो पुस्तक २७ मंसीरमा लोकार्पण हुँदैछ।)