अन्तर्राष्ट्रिय अनलाइन किनमेल गर्न राष्ट्र ब्यांकले विदेशी मुद्राको सटही सुविधा दिने
नेपाल राष्ट्र ब्यांकले अनलाइनमार्फत अन्तर्राष्ट्रिय किनमेल गर्न सकिने सुविधा उपलब्ध गराउने भएको छ। केन्द्रीय ब्यांकले निश्चित रकमसम्मको वस्तु तथा सेवा आयात गरी त्यसको भुक्तानीका लागि विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने घोषणा गरेको हो।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र ब्यांकले डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी सेवा खोल्ने सुविधाको घोषणा गरेको हो। यो व्यवस्थापछि विदेशी ईकमर्श तथा अन्य अनलाइन किनमेलका लागि नेपालीले राष्ट्र ब्यांकमार्फत डलर वा अन्य विदेशी मुद्रामा भुक्तानी गर्न सक्नेछन्।
अब नेपालीले अमेजन वा चीनको लोकप्रिय थाओपाओ वा टीमलजस्ता ईकमर्शका साइटबाट सामान मगाउँदा नेपाल राष्ट्र ब्यांकले विदेशी मुद्राको सटही सुविधा दिनेछ। नेपालीले नेटफ्क्सि, अमेजन प्राइमजस्ता विदेशी इन्टरनेट टेलिभिजन सेवा प्रदायकको शुल्क समेत तिर्न विदेशी मुद्राको सटही सुविधा पाउनेछन्।
अहिलेसम्म विदेश जाने नेपालीले पासपोर्टको आधारमा १५०० डलरसम्म सटही सुविधा पाउँदै आएका थिए।
केन्द्रीय ब्यांकले कति रकमको सटही सुविधा कुन शर्तमा दिने भन्ने विषयमा भने छलफलपछि निर्णय गर्ने बताएको छ। “विदेशी मुद्रा व्यवस्थापन विभागले यसको निर्णय गर्नेछ”, राष्ट्र ब्यांकका प्रवक्ता डा. गुणाकर भट्टले भने।
केही दिनअघि भएको एक कार्यक्रममा राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले नेपालीलाई ५०० डलरसम्मको यस्तो सुविधा दिने गरी अकाउन्ट खोल्न दिन सकिने बताएका थिए।
विदेशी मुद्राको सञ्चिति उच्चस्तरमा पुगेपछि खर्चमा लचकता अपनाउँदै राष्ट्र ब्यांकले यस्तो सुविधा खोल्न लागेको हो। अहिले देशको विदेशी मुद्राको सञ्चितिले १४.१ महीनाको वस्तु र सेवा आयात धान्न सक्छ।