रौतहटका आधा दर्जनभन्दा बढी क्रसर उद्योग सञ्चालनमा रोक
रौतहटमा अवैध र मापदण्ड विपरीत सञ्चालनमा रहेका आठ वटा क्रसर उद्योग तथा वासिङ उद्योगहरूलाई जिल्ला प्रशासन कार्यालय रौतहटले बन्द गर्न निर्देशन दिएको छ।
प्राविधिक समितिको स्थलगत अनुगमनपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संयोजकत्वमा बसेको बैठकले जिल्लाका आठ वटा क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको हो।
कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भए पनि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नरहेको र स्थानीय तहबाट पनि अनुमति नलिएका वृन्दावन नगरपालिका ६ मा सञ्चालित श्रीराम जानकी क्रसर उद्योग तथा फतुवा विजयपुर नगरपालिका ८ स्थित सुमुख क्रसर उद्योगलाई तत्काल बन्द गर्ने निर्णय भएको छ।
यस्तै, हालको मापदण्ड पूरा नगरेसम्म गरुडा नगरपालिका ५ महम्मदपुरमा सञ्चालित शिवशंकर क्रसर उद्योग, वृन्दावन नगरपालिका-१ का संकट मोचन वासिङ उद्योग तथा शिवम् वालुवा वासिङ उद्योग बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। शिवशंकर क्रसर उद्योगले नवीकरण गरेको पनि नदेखिएको बताइएको छ।
राष्ट्रिय गौरवको आयोजना तथा प्राथमिकता प्राप्त योजनाहरूको हकमा आवश्यक कागजातहरू पेश गर्न लगाई सोको अध्ययनपछि आवश्यकता र औचित्यको आधारमा सञ्चालन गर्न अनुमति दिने निर्णय भएका क्रसर उद्योगहरूमा चन्द्रपुर नगरपालिका ८ स्थित आश्रय अस्फाल्ट एण्ड क्रसर उद्योग , गुजरा नगरपालिकाको रमन-सगरमाथा जेभी क्रसर उद्योग र फतुवा विजयपुर नगरपालिकामा रहेको श्रेष्ठ धुकुछु मृत संजीवनी जेभी क्रसर उद्योग रहेका छन्। ती क्रसर उद्योग हाललाई बन्द गरी आवश्यक कागजात पेश गरी अनुमति लिएपछि सञ्चालन गर्न दिने निर्णय भएको प्रजिअ यादवले जानकारी दिए।
सञ्चालनमा रहेका क्रसर उद्योगहरूले कच्चा बिलहरूको प्रयोग गरी बिक्री वितरण गर्दै आएकोमा सोबाट राज्यलाई ठूलो राजस्व घाटा भइरहेकाले अनिवार्य रुपमा भ्याट बिल मात्र प्रयोग गर्न लगाउने तथा गिटी, बालुवा जस्ता निर्माण सामग्री ढुवानी गर्दा साथमा भ्याट बिल लिनुपर्ने निर्देशन पनि दिइएको छ।
विधिपूर्वक संचालनमा रहेका क्रसर उद्योगहरुले पनि कच्चा पदार्थ खरीद, भण्डारण, प्रशोधन तथा बिक्री वितरणसम्बन्धी नियमित अभिलेख मासिक रूपमा सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला समन्वय समितिलाई पनि उपलब्ध गराउन, कर चुक्ता र लेखापरीक्षण प्रतिवेदन समेत उपलब्ध गराउन निर्देशन दिएको प्रजिअ यादवले बताए।