नेपालभित्र परम्परादेखि चल्दै आएका नापतौल सम्बन्धी व्यवहार, भाषा र शब्दलाई संरक्षण गर्न जोड
सांसदहररूले नेपालभित्र परम्परादेखि चल्दै आएका नापतौलसम्बन्धी व्यवहार, भाषा र शब्दलाई संरक्षण गरेर जानुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिमा नापतौल ऐन २०२५ लाई संशोधन गर्न बनेको विधेयको दफावार छलफलमा सहभागी भएका सांसदहरुले नेपालभित्र प्रचलनमा रहेका नापतौलसम्बन्धी भाषा, इकाइलाई संरक्षण गर्नुपर्ने बताएका हुन्।
समिति सभापति पर्शुराम मेघी गुरुङले धेरै वर्षपछि अध्ययन अनुसन्धान हुँदा नेपालमा प्रचलनमा रहेको नापतौल सम्बन्धी इकाइ र भाषाले देशको तत्कालीन अवस्था देखाउने हुँदा संरक्षण गर्नुपर्ने बताए।
यस्तै, सांसद बेदुराम भुसालले नापतौल इकाइका अंग्रेजी शब्दको सट्टा नेपाली शब्द प्रयोगमा ल्याउनुपर्ने बताए। नेपाली भाषाको संरक्षणको लागि पनि अंग्रेजी शब्दको नेपालीकरण आवश्यक रहेको बताए।
सांसद ठगेन्द्रप्रकाश पुरीले नापतौल जनाउने अंग्रेजी शब्दको नेपाली भए नेपाली र अंग्रेजी मात्र भए नेपालीमा बुझिने गरी पारिभाषा दिएर स्पष्ट पार्नुपर्ने बताए। सरकारले नापतौलको इकाइलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन मिटर, किलोग्राम, सेकेण्ड, एम्पियार, केल्भिन, क्याण्डेला र मोल जस्ता शब्द प्रयोगमा ल्याउन ऐन संशोधन गर्न लागेको छ।