रामचन्द्र पौडेल पक्राउको विरोधमा मुगुमा कांग्रेसद्वारा प्रदर्शन
बुधबार तनहुँमा प्रहरीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेस मुगुले आज जिल्ला सदरमुकाम गमगढीमा प्रदर्शन गरेको छ। बुधबार तनहुँको व्यास नगरपालिकामा निमार्ण भएको पूल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले पक्राउ गरेको भन्दै नेपाली कांग्रेस मुगुले आज सांकेतिक रुपमा सदरमुकाम गमगढीमा विरोध गरेको हो।
पौडेललाई बुधबारै प्रहरीले रिहा गरेपनि वर्तमान कम्युनिष्ट सरकारले देशमा अधिनायकवाद लादन प्रतिप्रक्षको शक्ति नाप्न वरिष्ठ नेतालाई पक्राउ गरेको कांग्रेसले आरोप लगाएको छ।
सरकारले विभिन्न काण्डमा मुछिएका आफ्ना नेता कार्यकताहरुको संरक्षण गरेको, अधिनायकवाद लादन खोजेको, सरकारका प्रमुख तथा मन्त्रीहरु भष्टाचार र कमिसनमा लिप्त रहेको जस्ता नारा लगाउँदै कांग्रेस समर्थक नेता-कार्यकताहरुले गमगढी बजारको परिक्रमा गर्दै कृष्ण चोकमा कोणसभा गरेका थिए।
सभालाई सम्बोधन गर्दै कांग्रेस मुगुका उपसभापति खगेन्द्रबहादुर मल्लले वर्तमान सरकारले कांग्रेसको शक्ति आकलन गर्नै नसक्ने बताउँदै नेपाली जनता विरुद्धका कृयाकलाप र शासन सत्ता चलाउने राणा, राजालाई समेत सिध्याएको कांग्रेससँग विनाकारण यसरी नै कम्युनिष्ट सरकारले निहुँ खोज्ने हो भने कम्युनिष्टका भावी दिन पनि राजा र राणाका जस्तै हुने बताए।