तीन दिनभित्र कोरोना बीमाको भुक्तानी गर्न सरकारको निर्देशन
सरकारले बिमीतहरुलाई तीन दिनभित्र कोराना बीमाको रकम भुक्तानी गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।
कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी तीन दिनभित्र गर्न अर्थ मन्त्रालयले बीमा समिति मार्फत बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो। मन्त्रालयले बिहीबार बीमा समितिलाई दिएको निर्देशनमा प्रक्रिया पूरा भएका दाबीको भुक्तानी गरेर दैनिक रुपमा विवरण बुझाउन पनि भनिएको छ।
कोरोना बीमा दाबी गरेको पोलिसी प्रमाणित गर्न बाँकी भए तत्काल गरेर भुक्तानी दिने व्यवस्था मिलाउन मन्त्रालयले समितिलाई निर्देशन दिएको छ। मन्त्रालयका उपसचिव गोविन्दप्रसाद सुवेदीले जारी गरेको निर्देशनमा कोरोना बीमा दाबीको भुक्तानी, पेण्डिङमा रहेको अवस्था, भुक्तानी विवरण, भुक्तानी हुन नसक्नुका समस्या, बीमा कम्पनी अनुसार परेको दाबी र समस्या समाधानका लागि गर्नुपर्ने कार्यसहितको विवरण मन्त्रालयमा उपलब्ध गराउन पनि भनिएको छ।
कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, भेरिफिकेशनको लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणित नभएका वा नक्कली दाबीको विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।
अर्थ मन्त्रालयले १८ कात्तिकमा बीमा समितिलाई कोरोना बीमाको दाबी भुक्तानी एक साताभित्र गर्न निर्देशन दिएको थियो। यसलाई बीमा कम्पनीले पालना गरेका थिएनन्। सो निर्देशनसँगै ग्राहकको गुनासो सुन्न बीमा समितिले हटलाइन फोन सेवा सञ्चालन गर्न दिएको निर्देशन पालना नभएकाले फेरि अर्को निर्देशन दिएको हो।
हालसम्म ३२ हजार ७८४ जना बिमीतले कोरोना बीमा दाबी गरेका छन्। यसमध्ये जम्मा ४ हजार ९२९ ले मात्रै कोरोना बीमाको दाबी भुक्तानी पाएका छन्। बीमा समितिमा रु.३ अर्ब १८ करोड दाबी परेकोमा हालसम्म रु.४७ लाख ७७ हजार मात्रै भुक्तानी दिइएको छ।