पूर्वराजाको कारको ठक्करले घाइते अर्का युवाको पनि मृत्यु
पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल छाडेर झापा फर्कने क्रममा कारको ठक्करले घाइते भएका अर्का एक युवकको पनि मृत्यु भएको छ ।
गत २७ चैत साँझ मोरङको सुन्दरहरैचा–४ मा बा३च ७९६२ नम्बरको कारले ठक्कर दिंदा को१५प ९९७८ नम्बरको मोटरसाइकलमा सवार इटहरी ९ का हेम चौधरी (२२) को मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका चालक प्रकाश चौधरी (२२) को मंगलबार बिहान विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले बताएको छ ।
एक महीना झापा बसाइँपछि काठमाडौं फिरेका पूर्वराजा शाहलाई विमानस्थलमा छाडेर फर्कने क्रममा कारले मोटरसाइकललाई ठक्कर दिएको थियो । सो कार पूर्वराजा चढ्ने नभई पछाडि गुड्ने रहेको सुरक्षा स्रोतले बताएको छ ।
मजदुरी गर्ने चौधरीद्वय सुन्दर हरैंचामा काम गरेर घर फर्कने क्रममा दुर्घटनामा परेका थिए ।
नोबेल मेडिकल कलेजले रकम जम्मा गरेपछि मात्रै अप्रेशन गर्ने जनाएपछि प्रकाशलाई सोही दिन राति विराट नर्सिङ होममा ल्याएर टाउकोमा जमेको रगत निकालिएको थियो । हेमको भने दुर्घटनापछि अस्पताल ल्याउने बित्तिकै मृत्यु भएको थियो ।