भारतको एमडीएच मसलाका मालिकको निधन, मसलाको प्याकेटमा छापिन्थ्यो उनकै तस्वीर
भारतको एमडीएच मसला कम्पनीका संस्थापक महाशय धर्मपाल गुलाटीको निधन भएको छ।
९७ वर्षीय गुलाटीको बिहीबार बिहान हृदयाघातका कारण निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनी तीन सातायता अस्पतालमा उपचाररत थिए।
एमडीएच मसलाको विज्ञापन र प्याकेटमा छापिने तस्वीरबाटै उनले आफ्नो पहिचान व्यापक बनाएका थिए।
मानिसहरुले प्रेमपूर्वक 'दादाजी' र 'महाशयजी' सम्बोधन गर्ने उनी सन् १९२३ मा पाकिस्तानको पञ्जाव प्रान्तस्थित सियालकोटमा जन्मिएका थिए। पढाइमा मन नबसेपछि बीचैमा विद्यालय छाडेका उनले एकपछि अर्को काम पनि छाडेका थिए। त्यसपछि पिताको मसला व्यापारमा संलग्न भएका थिए। मसला व्यापार उनीहरुको पुस्तौनी कारोबार थियो।
सन् १९४७ मा भारत र पाकिस्तानको विभाजनपछि सियालकोट पाकिस्तानमा पर्यो। उनको परिवार सबै छोडेर भारत आयो। अमृतसरको शरणार्थी शिविरमा केही दिन बसेर परिवार दिल्ली पुग्यो। सबै कुरा पाकिस्तानमा छोडेर आएको नयाँ शिराबाट काम गर्नुपर्ने थियो। साथमा भएको सीमित नगदमध्ये केही खर्चेर एउटा टाँगा खरीद गरी दिल्लीको सडकमा चलाउन थाले।
तर, टाँगा चलाउने काममा उनको मन रमाएन। दुई महीनामै त्यो काम छाडे। उनको रस त कारोबारमै बसिसकेको थियो। बचेको केही रकमबाट घरैमा मसला बनाएर बिक्री गर्न थाले। उनले दिल्लीको करोलबागमा मसला पसल खोले।
उनको मसलाले शुद्धताको पहिचान बनाएको थियो। यसै कारण कारोबार तीव्र रुपमा बढ्यो। सन् १९५९ मा उनले औपचारिक रुपमा मसला कम्पनी स्थापना गरे।
कम्पनीको नाम उनले पिता चुन्नीलालकै कारोबारमा आधारित भएर राखेका थिए। उनका पिता पाकिस्तानमा 'महशियान दी हट्टी' (महाशयको दोकान) को नामबाट मसलाको कारोबार गर्थे। यसको संक्षिप्त रुपबाट उनले कम्पनी खडा गरे।
व्यापार क्षेत्रमा गरेको योगदान वापत उनलाई सन् २०१९ मा भारत सरकारले दोस्रो उच्च नागरिक सम्मान पद्म भूषणबाट सम्मान गरेको थियो।