च्याम्पियन्स लिगः पीएसजीसँग म्यानु पराजित, बार्सिलोना, युभेन्टस र चेल्सी विजयी
च्याम्पियन्स लिगअन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदान वल्ड ट्राफोडमा नै पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ३-१ ले पराजित भएको छ। म्यानुका फ्रेडले रातो कार्ड पाएको खेलमा नेयमारले दुई गोल गरेका छन्।
छैटौँ मिनेटमा नै गोल गर्दै नेयमारले पीएसजीलाई अगाडि बढाएका थिए। म्यानुका मार्कस राशफोर्डले ३२औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। तर, ६९औँ मिनेटमा पुनः गोल गर्दै माक्विन्होले पीएसजीलाई अगाडि बढाए।
त्यसलगत्तै ७०औँ मिनेटमा म्यानुका फ्रेड दोहोरो पहेँलो कार्ड पाएर बाहिरिए। दोस्रो हाफको इन्जुरी समयमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरे।
समूह ‘एच’ मा म्यानु शीर्षस्थानमा भए पनि पीएसजी र रासेनबालस्पोर्ट लेइपजिङसहित तीन वटै टीमको नौ अंक छ। अब अन्तिम चरणको खेलले अघिल्लो चरण प्रवेशको टुंगो लाग्नेछ।
अन्य खेलमा बार्सिलोनाले फेरेन्क्भारोस र युभेन्टसले डाइनामो किभलाई समान ३-० गोलले पराजित गरे। यो समूहबाट बार्सा र युभेन्टस अघिल्लो चरणमा पुगिसकेका छन्।
त्यस्तै चेल्सीले सेभिल्लालाई ४-० ले पराजित गरेको छ। यी दुवै टीम पनि अघिल्लो चरणमा पुगिसकेका छन्।