कामदार कोरिया जाने प्रक्रिया फेरि शुरु हुँदै, भाषा पास गरिसकेकाको अवधि ६ महीना थपिने
कोरोनाभाइरस माहामारीका कारण रोकिएको कामदार कोरिया जाने प्रक्रिया फेरि शुरु हुने भएको छ। कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुईवर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः ६ महीना थप्ने निर्णय पनि भएको छ।
प्रवासी श्रमिक युनियन (एमटीयू) र केसीटीयूले बुधबार कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकलगायतसँग कोरियामा ईपीएसअन्तर्गत प्रवासी श्रमिकबारे छलफल गरेको थियो। त्यसैगरी रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गरी कोरोना महामारीको कारणले प्रवेशमा लगाइएको रोक हटाउनेबारे पनि छलफल भएको थियो।
छलफलमा ६ महीना रोस्टर अवधि बढाउने र रोकिएका प्रक्रिया पुनः सञ्चालन गरी प्रवासी मजदूर ल्याउन पहल थालिने निर्णय भएको एमटीयू अध्यक्ष उदय राईले जानकारी दिए। छलफलमा एमटीयूले कोरिया आउन रोकिएका प्रवासी श्रमिकलाई चाँडो ल्याउने व्यवस्था गर्नुपर्ने, कोरोनाको कारण आउन नपाएर रोस्टरमा हुनेको दुई वर्ष अवधि सकिन लागेको श्रमिकको समयावधि थप्नुपर्ने, श्रमिक बिदामा गएको समयमा कम्पनी मालिकले सम्झौता रद्द गर्न नमिल्ने लगायत विषय उठाएको थियो।
कोरोनाका कारण कोरियाले देश प्रवेशमा कडाइ गरेको थियो। नेपालले पनि बन्दाबन्दी गरेपछि रोजगार अनुमति प्रणाली (ईपीएस) बाट कोरिया जाने सम्पूर्ण प्रक्रिया स्थगन भएको थियो।
एमटीयूसँगको छलफलमा उपस्थित मन्त्रालयका अधिकारीले कोरोना महामारीका कारण गत मार्चदेखि नयाँ प्रवासी श्रमिक ल्याउन बन्द गरिएकोमा गत महीनादेखि कम्बोडियाबाट ल्याउन शुरु गरिएको जानकारी दिएका थिए। अब छिट्टै नेपाललगायत अरु देशबाट पनि ल्याउने व्यवस्था मिलाइने र अवधि सकिन लागेको श्रमिकको ६ महीना समयावधि थप गरिने पनि जनाए।
सन् २०२० को ५६ हजार कोटामध्ये ३३ हजार १०० का लागि अनुमतिपत्र जारी गरिएको थियो। अक्टोबरसम्ममा ६ हजार ७४ जना मात्र नयाँ प्रवासी मजदूर कोरिया प्रवेश गरेका छन्।