सिमकोट विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी, एउटा कोठा जलेर नष्ट
हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ। आगो अझै नियन्त्रणमा आइसकेको छैन।
आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारबाट आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ। कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ भने अन्य कोठामा आगो लागिरहेको छ। बिहान ६ बज्दासम्म आगो नियन्त्रणमा आउन सकेको छैन।
आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटमा बस्ने बजारवासी, तल्लो गाउँ र माथिल्लो गाउँका नागरिक लागि परेका छन्। सर्वसाधारण र सुरक्षा निकायले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आलगाली भएको केही समयपछि नियन्त्रणमा लिन नेपाल प्रहरीले माइकिङ गरेसँगै सर्वसाधारण ठूलो सङ्ख्यामा उपस्थिति भएका हुन्।