पूर्वस्वीकृति नलिई अन्तर्वार्ता लिने तीन वैदेशिक रोजगार कम्पनीलाई ६ महीना निलम्बन
गैरकानूनी रुपमा अन्तर्वार्ता लिएको भन्दै वैदेशिक रोजगार विभागले लाजिम्पाटस्थित होप इन्टरनेसनल प्रालि, धापासीस्थित एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटस्थित डीडी ह्युमन रिसोर्स प्रालिलाई ६ महीनाको लागि निलम्बन गरेको छ।
गत सोमबार र मङ्गलबार कतार पुलिसका लागि मागको पूर्वस्वीकृति नलिइकन अन्तर्वार्ता लिएको सूचनाका आधारमा विभागले ती कम्पनीमा छापा मारेको थियो। त्यस क्रममा विनास्वीकृति गोप्य रुपमा अन्तर्वार्ता लिएको पाइएपछि विभागले तीन वटै कम्पनीलाई ६ महिना निलम्बन गरिएको जनाएको छ।
विभागका सूचना अधिकारी टीकामणि नेउपानेका अनुसार, तीनवटा कम्पनीलाई पहिलो कारबाहीस्वरुप सबै कारोबार रोक्का गरी निलम्बन गरिएको हो। गोप्य अन्तर्वार्ता सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस भएपछि ऐनमा व्यवस्था भएअनुसार थप कारबाही हुनेछ।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ मा वैदेशिक रोजगारीमा कामदार पठाउन म्यानपावर कम्पनीले पूर्वश्रम स्वीकृति र सम्बन्धित निकायलाई जानकारी नगराई अन्तर्वार्ता गरे ६ महिनासम्म कामकारबाही रोक्का र ऐनअनुसार आर्थिक जरिवाना गर्न सक्ने व्यवस्था छ। सोही अनुसार छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्मका लागि ६ महिना निलम्बन गरिएको विभागले जनाएको छ। ऐनमा कारबाहीस्वरुप रु.३ लाख देखि ५ लाखसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैदको समेत व्यवस्था छ।
वैदेशिक रोजगार व्यवसायीको छाता सङ्गठन नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले पनि तीन कम्पनीले गैरकानूनी काम गर्दा सम्पूर्ण व्यवसायीले लज्जा महसुस गरेको भन्दै साधारण सदस्यताबाट हटाएको छ। केही दिनअघि बसेको बैठकले ती कम्पनीलाई साधारण सदस्यसमेत नरहने गरी खारेज गर्ने निर्णय भएको सङ्घका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए।