बलात्कार मुद्दाका आरोपीलाई जिल्ला अदालतबाट सफाई
कैलालीको कैलारी गाउँपालिका वडा नं. २ का २९ वर्षीय दीपेन्द्र चौधरी (कुश्मी) लाई अभियोग दाबी नपुगेको भन्दै जिल्ला अदालतले सफाई दिएको छ। कुश्मीलाई जिल्ला अदालतले १६ मंसीरमा सफाई दिएको हो।
३२ जेठमा युवकले पसलमा बोलाएर मुखमा कपडा कोचेर बलात्कार गरेको पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। अत्यधिक रक्तस्राव भएर बेहोस भएकी बालिकालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएपछि मात्र घटना सार्वजनिक भएको थियो। त्यसपछि मात्रै युवक ११ असारमा प्रकाउ परेका थिए।
त्यसअघि पीडक पक्षले रकम दिएर मिलाउने प्रयास गर्दै घटना सार्वजनिक गरे ज्यान लिने धम्कीसमेत दिंदै आएको आफन्तले बताएका थिए। पीडितका आफन्तका अनुसार आरोपित युवालाई पुर्पक्षका लागि कारागार चलानपश्चात पनि पीडक परिवारले पटकपटक रुपैयाँमा मिल्न धम्की दिएको थियो। पीडित बालिकाले समेत अदालतमा दीपेन्द्रले पसलमा बोलाएर मुखमा कपडा कोचेर बलात्कार गरेको र घटनाबारे कसैलाई बताए हत्या गरिदिने धम्की दिएको बयान दिएकी थिइन्।
जिल्ला सरकारी वकिल कार्यालय कैलालीका प्रमुख राजेन्द्रसिंह भण्डारीले पीडित बालिका अदालतमा उपस्थित भएर जाहेरीमा लेखिए अनुसारको नै घटनाबारे बयान दिएको बताए। उनले भने, “बालिकाको बयानअनुसार निर्णय आएको छैन। न्यायाधीशले पीडकलाई कसरी सफाई दिए थाहा भएन, अब हामी पुनरावेदन जान्छौं।”
पीडितका आफान्तले आफूहरू गरिब भएका कारण मुद्दा कमजोर भएको बताएका छन्। उनीहरूले जबरजस्ती करणीको मुद्दा सरकारी वकीलले मात्रै हेर्ने भएकोले सरकारी वकील र न्यायाधीशको मिलेमतोमा आर्थिक चलखेल भएको आशंका समेत व्यक्त गरे।