जहाजमा चरा ठोक्किंदा उडानमा सुरक्षा चुनौती, एक वर्षमै ४९ वटा घटना
पर्यटकीय सिजन शुरु हुने सेप्टेम्बर–अक्टोबरमा हवाई गतिविधि बढी हुने र सोही वेला बढी संख्यामा देखिने चराहरू धावनमार्ग माथिको तातो हावामा रमाउन आउँदा जहाजसँग ठोक्किएर हवाई उडानमा चुनौती दिने गरेका छन्।
१४ मंसीरमा बाग्लुङबाट काठमाडौं आउँदै गरेको कैलाश हेलिकप्टर्स सर्भिसेजको हेलिकप्टर नुवाकोटको बेलकोटगढी नगरपालिका आइपुगेपछि चरा ठोक्कियो। हेलिकप्टर आकस्मिक अवतरण गराउनुपर्यो। अगाडिको शिशामै भएको क्षतिबाट हेलिकप्टर उड्न नमिल्ने भएपछि ग्राउण्डेड हुन पुग्यो। उडानका क्रम (इनरुट) मा हुने यस्तो घटना बाहेक विमानस्थलमा जहाज अवतरण र उडान गर्दा चरासँग ठोक्किने घटना अझै बढी हुने गरेको छ।
जहाजमा चरा ठोक्किने घटना सबै देशमा हुने गरेको छ। मौसम परिवर्तनसँगै चराको संख्या बढ्छ। जाडोयाममा जहाजको रुट तथा धावनमार्ग वरिपरि अन्य समयका तुलनामा चरा बढी घुम्ने गर्छन्। विमानस्थल वरपर हुने फोहोर र मासुजन्य परिकारको प्रयोगले पनि जहाजमा चरा ठोक्किने घटना निम्तिने गरेको छ। विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवामा चरा ठोक्किएको घटनाबाट हालसम्म ठूलो क्षति नभए पनि उडानमा चुनौती हुनुका साथै दुर्घटनाको जोखिम बढ्छ।
जाडोयाममा जहाजको रुट तथा धावनमार्ग वरिपरि अन्य समयका तुलनामा चरा बढी घुम्ने गर्छन्। विमानस्थल वरपर हुने फोहोर र मासुजन्य परिकारको प्रयोगले पनि जहाजमा चरा ठोक्किने घटना निम्तिने गरेको छ। विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय वायुसेवामा चरा ठोक्किएको घटनाबाट हालसम्म ठूलो क्षति नभए पनि उडानमा चुनौती हुनुका साथै दुर्घटनाको जोखिम बढ्छ।
सात महीना लामो बन्दाबन्दीपछि ५ असोज २०७७ बाट खुलेको आन्तरिक वायुसेवामा दशैंतिहारको आसपासको १५ दिनमा मात्रै पाँच वटा जहाजमा चरा ठोक्कियो। चरा ठोक्किएका जहाज सामान्य मर्मतबाटै उड्न सकेकाले सबै घटना सार्वजनिक भएनन्। बन्दाबन्दीपछि खुलेको हवाई उडानमा कात्तिकसम्म हिमालय एअरलाइन्सको एक, यतीको दुई र अन्य वायुसेवाको दुई वटा जहाजमा चरा ठोक्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
सन् २०१९ मा नेपाली आकाशमा उडेका जहाजमा ४९ पटक चरा ठोक्किएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘एभिएसन सेफ्टी रिपोर्ट २०२०’ अनुसार सन् २०१९ को फेब्रुअरीदेखि डिसेम्बरसम्ममा हरेक महीना जहाजमा चरा ठोक्किएका छन्। जनवरीमा भने एउटा पनि चरा नठोक्किएको प्राधिकरणको रिपोर्टमा उल्लेख छ।
रिपोर्टमा सबैभन्दा बढी चरा अक्टोबरमा पाँच वटा र नोभेम्बरमा १० वटा ठोक्किएको थियो। अन्य महीनाको तुलनामा अगस्टदेखि अक्टोबरसम्म बढी नै चरा ठोक्किने गरेको तथ्यांकले देखाएको छ।
विमानस्थल कार्यालयका अनुसार, चरा ठोक्किएको र हवाई दुर्घटनामा जोखिम बढाएको २०१९ को घटना सन् २०१८ को तुलनामा अत्यधिक बढी हो। कार्यालयको तथ्यांक अनुसार सन् २०१८ मा आठ पटक मात्रै चरा ठोक्किएका थिए। सो वर्ष कतार एअरवेजको जहाजमा मात्रै पाँच वटा, हिमालयमा दुई र बुद्धमा एउटा चरा ठोक्किएका थिए।
चराको गतिविधिले थपिने चुनौती
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सञ्चालन महाशाखाका अनुसार, चरा ठोक्किने घटना वर्षेनि चाडपर्वको वेला र पर्यटकीय सिजन मानिने सेप्टेम्बर–अक्टोबरमा बढी हुने गरेको छ।
"विमानस्थलको धावनमार्ग तातेपछि तातो हावा माथितिर जाने भएकाले चिसो मौसममा चरा विमानस्थलमा रमाउन आउँदा जहाजमा ठोक्किने गरेको छ। जसरी हवाई जहाजलाई ठूलो र खुला धावनमार्ग चाहिन्छ, त्यसैगरी चरालाई पनि खुला तथा तातो हावा आउने ठाउँ मन पर्छ। त्यसैले चराहरू धावनमार्ग वरपर घुम्ने गर्छन्।” - हेमसागर बराल, चरा विज्ञ
विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्ण हरेक वर्ष सेप्टेम्बर–अक्टोबरमा चराको संख्या र गतिविधि बढ्ने बताउँछन्। चरा विज्ञ समेत रहेका उनका अनुसार, यो समयमा चराले नयाँ बच्चा कोरल्ने र आहाराको खोजीमा बाहिर निस्किने भएकाले नेपालमा मात्रै नभएर संसारभरि नै चराको गतिविधि बढी हुन्छ। यही बेला नेपालमा शुरु हुने चाडबाडका क्रममा फोहोर निष्कासन र माछामासुको प्रयोग बढी हुन्छ। जसका कारण यो बेला जमीनमा फ्याँकिएका तथा अव्यवस्थित फोहोर झम्टिंदै चराहरू उड्ने क्रममा विमानस्थल वरपर आउने र जहाजसँग ठोक्किने कर्णको बुझाइ छ।
चरा विज्ञ हेमसागर बराल सेप्टेम्बरदेखि अक्टोबरसम्म चीन, साइबेरिया, मंगोलियादेखि चरा नेपाल आउजाउ गर्ने भएकाले हिउँदे चराको गतिविधि बढ्ने गरेको बताउँछन्। विमानस्थलको धावनमार्ग तातेपछि तातो हावा माथितिर जाने भएकाले चिसो मौसममा चरा विमानस्थलमा रमाउन आउँदा जहाजमा ठोक्किने गरेको बरालको भनाइ छ।
उनी भन्छन्, “जसरी हवाई जहाजलाई ठूलो र खुला धावनमार्ग चाहिन्छ, त्यसैगरी चरालाई पनि खुला तथा तातो हावा आउने ठाउँ मन पर्छ। त्यसैले चराहरू धावनमार्ग वरपर घुम्ने गर्छन्।”
बरालका अनुसार, चरा हावाको गतिसँगै उड्ने गर्छ। टेल विन्ड चलेका बेला चरा छिटो छिटो अगाडितर्फ उडिरहेको हुन्छ, त्यसै बेला विपरीत दिशाबाट जहाज आउँदा चरा हावाको वेगमै भएकाले पत्तै नपाई जहाजसँग ठोक्किन पुग्ने बराल पुग्छ।
नेपालमा जहाजसँग चरा ठोक्किने घटनामध्ये सबैभन्दा बढी जहाज अवतरण गर्दा हुने गरेको छ। चरा ठोक्किएको कुल घटनामध्ये अवतरण गर्दा ७६ प्रतिशत, जहाज उड्दा १४ प्रतिशत र आफ्नो इनरुटमा १० प्रतिशत हुने गरेको तथ्यांकले देखाउँछ।
नेपालमा जहाजसँग चरा ठोक्किने घटनामध्ये सबैभन्दा बढी जहाज अवतरण गर्दा हुने गरेको छ। चरा ठोक्किएको कुल घटनामध्ये अवतरण गर्दा ७६ प्रतिशत, जहाज उड्दा १४ प्रतिशत र आफ्नो इनरुटमा १० प्रतिशत हुने गरेको तथ्यांकले देखाउँछ।
चराको गतिविधिका कारण जहाजमा क्षति भए विमानस्थल कार्यालयले नियन्त्रण गर्ने उल्लेख गरे पनि प्रभावकारी हुनसकेको छैन। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री चरा नियन्त्रणको लागि शिकारी खटाउने र चरा देखिएको स्थानमा नजान पाइलटलाई एअर ट्राफिकले सचेत गराउनेसहितको उपाय अपनाइरहेको बताउँछन्।
उनी भन्छन्, “प्राधिकरणले जोखिम न्यूनीकरण गर्न हरेक तवरले प्रयास गर्ने गरेको छ, तर चरा उड्ने प्राकृतिक कारण र मौसमले दिने चुनौती भने संसारभर हुन्छ।”
धावनमार्गमा वन्यजन्तु आक्रमण
जहाजको बाटोमा आएर वेलावेला वन्यजन्तुले पनि व्यवधान गर्ने गरेका छन्। प्राधिकरणको तथ्यांक अनुसार, जहाज अवतरणमा ४८ प्रतिशत, उडानमा १७ प्रतिशत र अप्रोचमा पाँच प्रतिशत वन्यजन्तुको आक्रमण हुने गरेको छ।
दशैं र तिहारको बीचमा विराटनगर विमानस्थलको धावनमार्गमा बुद्ध एअरको एक जहाजसँग स्याल ठोक्किएको थियो। त्यसबेला जहाजमा कुनै क्षति भने भएन।
जहाजसँग वन्यजन्तु ठोक्किने घटना वर्षेनि उल्लेख्य रुपमा हुने गरेको प्राधिकरणको तथ्यांकले देखाएको छ। तथ्यांक अनुसार, सन् २०१९ मा जहाजमा २२ वटा वन्यजन्तु आक्रमण भएको थियो। चरा र वन्यजन्तुसहित गरेर सन् २०१९ मा जहाजमा ७० वटा आक्रमण भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।