'सुरक्षा खतरा नहुने भएपछि' रिहा भए रामचन्द्र पौडेल
तनहुँबाट प्रहरी नियन्त्रणमा रहेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्। पूलको उद्घाटन गर्न जाने क्रममा तनहुँबाट आज दिउँसो कार्यकर्तासहित नियन्त्रणमा लिइएका पौडेललाई प्रहरीले जिल्लाको सदरमुकाम पुर्याएको थियो।
जिल्लाको व्यास नगरपालिकामा निर्माण सम्पन्न भएको मोटरेबल पूलको उद्घाटन गर्न नेता पौडेल जाने तय भययता नै यस विषयमा विवाद उत्पन्न भएको थियो। विवाद बढेर झडप हुने स्थिति भएपछि प्रशासनले त्यहाँ निषेधित क्षेत्र घोषणा गरेको र त्यही स्थानमा उनी जान लागेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले पौडेल र निषेधित क्षेत्रमा अब कुनै सुरक्षा खतरा नहुने भएपछि छोडेको बताएको छ। "पहिले नै निषेधित क्षेत्र घोषणा गरेको ठाउँमा उहाँ कार्यक्रम गर्न जान लाग्नु भएपछि हामीले उहाँ र निषेधित क्षेत्रको सुरक्षाका लागि नियन्त्रमा लिएका थियौं", जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज तिमिल्सेनाले हिमालखबरसँग भने, "अहिले स्थिति सामान्य भएपछि हामीले उहाँलाई स्थानीय नेताहरूको जिम्मामा छोडिदिएका छौं।"
नेता पौडेल प्रहरीको नियन्त्रणमा परेपछि व्यापक विरोध भएको थियो। पौडेललाई नियन्त्रणमा लिएको कांग्रेसलगायत विभिन्न राजनीतिक दलका नेता तथा बुद्धिजीविहरूले विरोध जनाएका थिए।
रिहा भएलगत्तै नेता पौडेलले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै लोकतन्त्र अपमानित भएको बताएका छन्। उनीसँगै कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई पनि प्रहरीले छोडिसकेको बताएको छ।