दक्षिण अफ्रिका पुर्याएर मानव बेचविखन गरेको अभियोगमा एक जना पक्राउ
गैरकानूनी रूपमा दक्षिण अफ्रिका पुर्याई मानव बेचविखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। प्रहरीले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ घर भएका ४३ वर्षीय गणेशकुमार लोंवालाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो।
उनले ३ जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा पारी गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुवई र कतार हुँदै दक्षिण अफ्रिकासम्म पुर्याई बिक्री गरेको प्रहरीले जनाएको छ।
उनीहरूलाई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४÷५ महीनासम्म बन्धक बनाई राखेको प्रहरीले जनाएको छ।
पीडितहरू भागेर नेपाली दूतावासको सम्पर्कमा पुगेका थिए। त्यसपछि दूतावासको समन्वयमा आफन्तहरूको सम्पर्कमा आई नेपाल फिर्ता भएपश्चात उनीहरूले लोंवाविरुद्ध जाहेरी दिएका थिए।
पीडितको जाहेरीको आधारमा मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले अभियुक्त लोंवालाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो।
लोंवा उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।