कर्णालीमा मष्टो पूजा: मेलामा खानपान र नाचगान (तस्वीरहरु)
साविकको कर्णाली क्षेत्रका बासिन्दाले कुलदेवताका रुपमा पुज्ने मष्टोको विशेष रुपमा पूजा गरेका छन्। मष्टो देवताको पूजा विभिन्न पूर्णिमामा गरी वर्षमा ६ पटक हुने भए पनि यो बेला कार्तिक पूर्णिमामा अझ विशेष रुपमा पूजा हुने र मेला लाग्ने गर्छ। कार्तिक पूर्णिमा अर्थात् १५ मंसीरदेखि शुरु भएको पूजा बुधबार (१७ मंसीरमा) सकिएको छ।
यो समयमा मष्टोसँगै धलपुरो देवताको पूजा गरिन्छ। मुगुमा पनि यी देवताको पूजा हुनुका साथै मेला लागेको थियो। मुगुको छायानाथ रारा नगरपालिकाभित्रका कार्कीबाडा, छत्यालबाडा, ढुम गाउँ तथा खत्याड गाउँपालिकाका धेरै गाउँमा मेला लाग्यो।
मष्टोको पूजामा देवताको थानमा गएर पुरी, भात तथा स्थानीय परिकार पकाएर खाने, इष्टमित्र तथा नातागोता जम्मा भएर देउडा खेलेर रमाइलो गर्ने परम्परा छ।
नौ पुस्ता अघि भारतको पिथौरागढबाट मष्टो देवता आएर थार्प गाउँको रुखमुनि बस्ने जेठा भाइ रहेको र अन्य गाउँमा रहेका मष्टा पनि त्यसकै रुप रहेको स्थानीय पाका व्यक्तिहरू बताउँछन्।