माउण्टेन फ्लाइटमा नेपालीहरू आकर्षित, पहिलो दिन नै चार उडान हुने
कोरोनाभाइरस संक्रमणको महामारी शुरु भएपछि बन्द भएका माउण्टेन फ्लाइट पुनः सञ्चालनमा आउने तयारी भएसँगै ती उडानमा नेपालीको रुचि देखिएको छ। निजी क्षेत्रका वायुसेवाहरूले विदेशी पर्यटकलाई मात्र लक्षित गर्दै आएका माउण्टेन फ्लाइट अहिले विदेशी आगमन शून्य भएपछि नेपालीका लागि केन्द्रित गर्ने निर्णय गरेका थिए।
कोरोनाभाइरस संक्रमण (कोभिड–१९) को जोखिमका कारण ६ चैत २०७६ देखि बन्द रहेको माउन्टेन फ्लाइट शनिबार, २० मंसीरदेखि पुनः खुल्दैछ। निजी क्षेत्रको वायुसेवा कम्पनीद्वय बुद्ध एअर र यती एअरलाइन्सले एकैदिन शुरु गर्ने यस्तो औपचारिक उडानमा दुईदुई वटा उडान हुँदै छन्। दुवै वायुसेवा कम्पनीले साढे आठ महीनापछि गर्ने उडानको लागि पहिलो दिन आगामी शनिबारलाई एक-एक वटा मात्रै उडान तय गरेका थिए।
ग्राहकको रुचिका कारण दुई दिनमै एउटा जहाज भरिएकाले बुद्ध र यती दुवैले अर्को उडान पनि गर्ने गरी अनुमति मागिसकिएकाे छन्। सस्तो टिकट भएको र एउटा किन्दा दुईवटा पाइएको कारण पनि यात्रुको आकर्षण देखिएको हो।
ग्राहकको रुचिका कारण दुई दिनमै एउटा जहाज भरिएकाले अर्को उडान पनि गर्ने गरी अनुमति मागिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। उनका अनुसार सस्तो टिकट भएको र एउटा किन्दा दुईवटा पाइएको कारण पनि यात्रुको आकर्षण देखिएको हो। यतीले सगरमाथा अवलोकनमा लैजाने भएकोले सगरमाथाकै उँचाइ अनुसार रु.८८४८ मा एउटा टिकट किन्दा अर्को टिकट सित्तैंमा उपलब्ध गराइरहेको छ।
अर्कोे वायुसेवा कम्पनी बुद्ध एअरले पनि एउटा जहाजको बुकिङ पूर्ण भएकोले अर्को पनि उडान गर्ने गरी अनुमति मागेको छ। बुद्ध एअरका अपरेशन निर्देशक सुवर्ण खरेलका अनुसार एउटा मात्रै उडान गर्ने भनेर शुरु गर्न लागिएको भए पनि पहिलो दिनमै दुईवटा उडान हुने भएका छन्।
सस्तो टिकट दिएको र लामो समयसम्म घुम्न नपाएको कारण नेपालीले पर्वतीय उडानमा रुचि दिएको खरेल बताउँछन्। बुद्ध एअरले पनि रु.८९०० मा दुईवटा टिकट उपलब्ध गराएको छ। सामान्यतया विदेशी नागरिक मात्रै जाने पर्वतीय उडानमा झ्यालतर्फको सिट मात्रै प्रयोग हुन्छ।