नेकपा सचिवालय बैठक २० गतेलाई सर्यो, २१ गते स्थायी कमिटी
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक २० मंसीरसम्मका लागि स्थगित भएको छ।
बुधबार बालुवाटारमा केहीबेर बसेको सचिवालय बैठकले २० मंसीरसम्मका लागि बैठक सारेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार सचिवालयको अबको बैठक २० मंसीर दिउँसो १ बजे बस्नेछ।
आजको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित थिएनन्। ओली सहभागी नभए पनि बैठक एकछिन बसेको थियो।
बुधबारको बैठकले प्रधानमन्त्री ओलीलाई २० गतेको बैठकमा अनिवार्य उपस्थित हुनका लागि अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।
मंगलबार बसेको सचिवालय बैठकले आजका लागि मिति तय गरेको थियो। तर, मंगलबारको बैठकमा भनाभन भएपछि ओलीले बैठकमा सहभागी नहुने बताएका थिए।
आजपनि सचिवालय बैठकअघि ओलीले आफूनिकटका नेताहरूसँग परामर्श गरेका थिए।
बैठकको औचित्य नरहेको भन्दै ओलीले बैठकमा उपस्थित नहुने बताएको केही नेताले सार्वजनिक गरेका थिए।
तर, हिमालखबरसँगको कुराकानीमा ओलीनिकट स्थायी कमिटी सदस्य एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने ओलीले ‘बैठकको आवश्यकता छैन’ भनेर नभनेको बताए। कार्यव्यस्तताले बुधबारको बैठकमा उपस्थित हुन सक्दिनँ भनेको नेम्वाङले बताएका थिए।
यस्तै, भोलि १८ मंसीरलाई तय स्थायी कमिटी बैठक पनि पनि सरेको छ। स्थायी कमिटी बैठक अब २१ मंसीरमा बस्ने प्रवक्ता श्रेष्ठले बताए।