छिमेकमा घरेलु हिंसा हुँदा कानमा तेल हाल्ने तपाईं त होइन नि !
आज पनि अधिकांश व्यक्ति छिमेकमा झगडा हुँदा राति कानमा तेल हालेर सुत्छन्। हिजो जस्तै आज पनि ‘श्रीमान–श्रीमतीको झगडामा छिमेकीले बोल्नुहुँदैन’ भन्ने मानसिकता छ।
युगान्डाका कतिपय गाउँमा हिंसा पीडित महिलाको पक्षमा छिमेकीहरुले नै खबरदारी गर्ने गरेको युनिसेफको महिला हिंसा न्यूनीकरण सम्बन्धी प्रतिवेदनमा उल्लेख छ। त्यहाँ कसैको घरमा झगडा शुरु हुने बित्तिकै छिमेकीहरु थाल ठटाउँदै भेला हुन्छन्। त्यतिले नपुगे प्रहरीलाई खबर गरेपछि स्थिति साम्य हुन्छ।
हामीकहाँ ठीक उल्टो छ। देखे पनि नदेखे झैं गर्ने र सुने पनि नसुने झैं गर्ने छिमेकीहरु कुनै अकल्पनीय दुर्घटना भए मात्र जम्मा हुन्छन्। मैले किशोरावस्थामा घरेलु हिंसा पीडित छिमेकीहरुलाई नजिकबाट देखेँ। पीडितलाई सहयोग गर्न वेलावेला छिमेकी गुहार्दै पनि हिंड्थें। छिमेकी भेला हुन थालेपछि झगडा साम्य हुन्थ्यो।
बिहेपछि ठ्याक्कै त्यस्तै घरेलु हिंसा पीडित छिमेकीहरुको टोलमा बसाइ सरियो। करीब २० वर्षअघिका घटना अहिले पनि ताजै छन्। कतिपय छिमेकी महिला रातबिरात ‘म्याम मलाई त श्रीमानले कुटेर घरबाट निकालिदिए कहाँ बस्नु?’ भन्दै आउँथे। केहीलाई आफ्नै निवासमा गाँस र बासको व्यवस्था मिलाउँथें। केही दिनपछि श्रीमान् आएर अबदेखि कुटपिट नगर्ने भन्दै लिएर जान्थे।
कतिपयका श्रीमानलाई त प्रहरीकै जिम्मा लगाएँ। केही दिनपछि तीनै महिलाहरु ‘अबदेखि झगडा गर्दैन अरे उसलाई छोडिदिनु म्याम’, भन्दै आउँथे। यसरी झगडा गरेर रातबिरात घरबाट भाग्ने महिला प्रायः मधेशी मूलका थिए।
त्यस वेला पहाडे मूलका अधिकांश बासिन्दा छिमेकमा श्रीमानश्रीमतीको झगडा सुने पनि नसुने झैं गर्थे। देखे पनि नदेखे झैँ गर्थे। र अहिले पनि गर्छन्। तर, कतिपय भने घरेलु हिंसा पीडित महिलालाई बास मात्र दिंदैनथे, न्याय दिलाउन पनि अहोरात्र खट्थे।
एकपटक मेरो विद्यालयमा काम गर्ने कार्यालय सहयोगीलाई मदिरापान गरी श्रीमानले रगताम्ये हुने गरी कुटेछन्। उनी राति नै गुहार माग्न आइन्। तत्कालै उसको डेरा गइ मैले आफ्नोे निर्माणाधीन विद्यालय भवनको एउटा कोठामा सारेँ। “यस्तो कुटपिट गर्ने श्रीमानसँग बस्नुहुँदैन”, भन्दै डेढ वर्षीया छोरीसहित आश्रय दिएँ। महीना दिनपछि ‘अब आइन्दा झैंझगडा गर्दिनँ’, भन्दै श्रीमान आएर फकाए। मैले पनि अब उप्रान्त झगडा गरे सम्बन्धविच्छेदको प्रक्रिया अगाडि बढाइदिने चेतावनी दिएर उनीहरुलाई मिलाइदिएँ।
यस्तै अर्को घटना पनि सम्झन्छु। छोराले दाइजो नलिइ क्याम्पस पढ्दै गरेकी बुहारी भित्र्याएपछि मेरो सँधियारले यही निहुँमा दिनहुँजसो छोराबुहारीसँग झगडा गर्थिन्। मदिरा सेवन गरी छोराले बुहारी कुटपिट गर्दा छोराकै पक्ष लिन्थिन्। ‘छोरा मान्छे भनेको यस्तै हो, महिलाले सहनुपर्छ’ भन्दै उल्टै बुहारीमाथि जाइलाग्थिन्।
एकपटक राति झगडा भइरहेको थियो। मैले ‘अब अति भो, प्रहरी बोलाउँछु।’ भनेपछि झगडा साम्य भयो। भोलिपल्टदेखि मैले बुहारीलाई विद्यालयमा काम गर्न बोलाएँ। त्यस उप्रान्त वेला वेला सामान्य भनाभन भए पनि छिमेकी गुहार्नु परेको छैन।
हिजो रातबिरात मदिरापान गरी श्रीमानले श्रीमतीलाई अनाहक कुटपिट गर्थे भने अहिले दिउँसै वा सम्साँझैं सद्दे अवस्थामै श्रीमती कुट्छन्। केही दिनअघि मात्रै मेरो विद्यालयमा काम गर्ने एक कर्मचारी दिउँसो काम सकेर नजिकैको माइतीमा खाजा खाएर बेलुकी घर गइछन्। श्रीमानले ‘फेरि माइत गइस्!’ भन्दै भकुरेछन्। अति भएपछि उनले प्रहरीचौकीमा निवेदन दिइन्। राति प्रहरी गएर श्रीमानलाई सम्झाएपछि झगडा साम्य भयो।
महिला हिंसाको अर्को कारण बालविवाह हो। मधेशी समुदायमा कलिलै उमेरमा बिहे गरिदिने चलन छ। कोही दिदीबहिनीले बिहे गर्न नमाने वा पछि गर्ने बताए दाजुभाइले नै कुटपिट गर्छन्।
पितृसत्तात्मक नेपाली समाजमा महिला हिंसाको शुरुवात कसरी हुन्छ र हिंसा पीडित महिलाहरुको पक्षमा हाम्रो समाज कति उदार वा अनुदार छ भन्ने वास्तविकता माथिका उदाहरणले प्रस्ट्याउँछ।
वास्तवमा अशिक्षा र गरीबी मात्र नभइ अन्य प्रत्यक्ष तथा परोक्ष कारणहरुले पनि महिला हिंसाका घटना पुनरावृति भइरहेका छन्। यस्ता घटनाका कारण तपाईं हामीले सोचेभन्दा भिन्न हुन्छन्। यस्तै नदेखिने कारणहरुमध्ये एउटा वैवाहिक बलात्कार पनि हो। रातबिरात मदिरा सेवन गरी श्रीमतीको इच्छा विपरीत गर्न खोज्ने श्रीमानहरुलाई कुटपिट गर्न कुनै ठूलो कारण चाहिंदैन। श्रीमतीले अनिच्छा देखाउने बित्तिकै ‘कोसित सल्केको छस्?’ भन्दै कुटपिट गर्न थालिहाल्छन्।
महिला हिंसाको अर्को कारण बालविवाह हो। मधेशी समुदायमा कलिलै उमेरमा बिहे गरिदिने चलन छ। कोही दिदीबहिनीले बिहे गर्न नमाने वा पछि गर्ने बताए दाजुभाइले नै कुटपिट गर्छन्। पहाडे जनजाति समुदायमा बिहे नगरी बस्ने छोरीचेलीलाई घरपरिवारले बिहेका लागि कर गर्ने वा दुर्व्यवहार गर्ने चलन छैन। कतिपय अविवाहित छोरीहरु आमाबुवाका बुढेसकालका सहारा पनि बनेका छन्।
मैले थाहा पाउँदादेखि महिलामाथि हुने हिंसाको कारण र प्रकृति उस्तै छन्। तर, यति मात्र नभइ महिला हिंसा न्यूनीकरणतर्फ नागरिक समाज पनि मौन देखिन्छ। महिला हिंसाको शुरुवात कसरी र किन हुने गर्छ भन्ने चुरो पहिल्याउन तीनै तहका सरकार पनि असफल जस्तै छन्। हिंसामुक्त समाज निर्माणमा जनप्रतिनिधिहरु मौनप्रायः छन्। आफ्नो निर्वाचन क्षेत्र वा आफ्नो नगर, वडा र टोलहरुमा हुने गरेका महिला हिंसालगायत अन्य हिंसाजन्य क्रियाकलाप न्यूनीकरण गर्न जनप्रतिनिधिहरुले कहीँकतै कुनै नयाँ कार्यक्रम या परियोजना थालेको देखिंदैन।
वर्षेनि आकर्षक नारासहित लैङ्गिक हिंसा अन्त्य हुनुपर्छ भनेर २५ नोभेम्बरदेखि १० डिसम्बरसम्म १६ दिने अभियान गरिन्छ। यस वर्ष पनि ‘सामाजिक रुपान्तरणमा लगानी, महिला हिंसा अन्त्यको बिहानी’ भन्ने नारासहित अभियान चलिरहेको छ। तर, यसबारे नगरलगायत वडा र टोलवासी अनभिज्ञ छन्। अधिकांश जनप्रतिनिधिहरु पनि बेखबर जस्तै देखिन्छन्। सरकारीभन्दा पनि गैरसरकारी संघसंस्थाहरुको सक्रियतामा शुरु र समापन गरिने उक्त अभियानले हाम्रा जनप्रतिनिधिलाई हिंसामुक्त समाज निर्माण गर्न अभिप्रेरित गर्नुपर्ने भए पनि त्यसो हुनसकेको छैन। यसकारण यस्ता अभियानहरु हिंसापीडितहरुका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ हुने गरेको छ।
वास्तवमा सबैभन्दा पहिले हाम्रा जनप्रतिनिधिलाई हिंसामुक्त समाज निर्माण कसरी गर्ने भन्नेबारे तीनै तहको सरकारले अभिमुखीकरण गर्न जरुरी छ। विशेषगरी हिंसापीडितहरुलाई न्याय दिलाउन र पीडकलाई दण्डसजायको भागिदार बनाउन सरकारी संयन्त्रलाई चलायमान बनाउनुपर्छ।
घरेलु हिंसा र महिला हिंसा सम्बन्धी बनेका कानूनहरुबारे जानकारी गराउन गाउँपालिकालगायत वडा कार्यालयहरुको वडापत्रमा उल्लेख गर्न जरुरी छ। पीडितहरुको गुनासो सुन्ने नागरिक समाज सम्मिलित समिति निर्माण गर्न सके र सोही अनुरुप पीडितलाई न्याय र पीडकलाई दण्डसजायको भागिदार बनाउन सके महिला हिंसाको अन्त्य असम्भव छैन। यसका लागि हाम्रा जनप्रतिनिधिहरुमा दृढ इच्छाशक्ति चाहिन्छ।