कोरोनाविरुद्धको खोपलाई मान्यता दिने बेलायत पहिलो देश बन्यो, फाइजरको खोप अर्को हप्ताबाट लगाइने
कोरोनाभाइरसविरुद्धको खोपलाई मान्यता दिने बेलायत संसारकै पहिलो देश भएको छ। बेलायतले अर्को हप्ताबाट प्रयोगमा ल्याउन फाइजर र बोयोनटेकले बनाएको खोपलाई मान्यता दिएको हो।
बेलायतको नियामक द एमएचआरएले यो खोप संक्रमितहरुका लागि ९५ प्रतिशतसम्म प्रभावकारी भएको बताएको छ। त्यहीकारण अर्को हप्तादेखि प्रयोगमा ल्याउन अनुमति दिइएको एमएचआरएले जनाएको छ। अब केही दिनभित्रै उच्च आवश्यकताका समूहलाई खोप दिन शुरु गरिने बीबीसीले जनाएको छ।
यो नयाँ प्रकारको एमआरएनए खोप भएको बताइएको छ। यसअघि एमआरएनए खोप मान्छेलाई प्रयोग गर्न कहिल्यै पनि अनुमति दिइएको थिएन। यद्यपि यसको क्लिनिक परीक्षणका लागि भने मान्छेहरुलाई लगाइएको थियो।
यो खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्छ। इसलाई विशेष प्रकारको बक्समा सुख्खा आइसले छोपेर एक ठाउँबाट अर्को ठाउँ लैजानुपर्छ। यसलाई पाँच दिनसम्म फ्रिजमा राख्न सकिन्छ।
बेलायतले चार करोड डोज खोप माग गरिसकेको छ। त्यसले दुई करोडलाई लगाउन पुग्छ। एक जनालाई दुई डोज लगाउनुपर्छ। करीब एक करोड डोज तुरुन्तै उपलब्ध हुने जनाइएको छ।
फाइजरको खोप अवधारणादेखि परीक्षणसम्ममा सबैभन्दा छिटो विकास गरिएको खोप हो। यो खोप करीब १० महीनाको प्रयासमा बनाइएको छ, जुन चरणहरु पार गर्न सामान्यतः दशकसम्म लाग्छ। त्यहाँका स्वास्थ्य सचिव म्याट हान्कोकले नेशनल हेल्थ सर्भिस अर्को हप्तादेखि खोप दिन तयार भएको जनाएका छन्। तर, विज्ञहरुले खोप लगाए पनि संक्रमण रोक्न स्वास्थ्य मापदण्डहरु पालना गर्नुपर्ने बताएका छन्।