नेकपाको सचिवालय बैठक एक घण्टा धकेलियो
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक एक घण्टा धकेलिएको छ। बुधबार दिउँसो १ बजेका लागि तय बैठक २ बजेसम्मलाई सरेको हो।
महासचिव विष्णु पौडेलले कार्यव्यस्तता देखाउँदै बैठक एक घण्टा पछि सार्न अध्यक्षद्वयलाई अनुरोध गरेका थिए। महासचिवको कार्यव्यवस्तताले बैठक एक घण्टा सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
प्रधानमन्त्रीको कार्य व्यस्ततालाई समेत मध्यनजर गरी सचिवालयको बैठक पूर्वघाेषित १:०० बजेकाे सट्टा २ बजे सार्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
बुधबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको प्रस्तावमाथि छलफल हुनेछ। मंगलबारको बैठकमा छलफल प्रारम्भ भएको थियो। प्रस्तावमाथि मंगलबार अध्यक्षद्वय ओली र दाहालले धारणा राखेका थिए।
बुधबारको बैठकअघि दुवै अध्यक्षले आफू निकटका नेताहरूसँग छलफल, परामर्श गरेका छन्। ओलीले केही नेतालाई बालुवाटार बोलाएर छलफल गरेका हुन् भने केही नेतासँग टेलिफोनमा परामर्श गरेका हुन्।
अध्यक्ष दाहालले पनि आफ्नो समूहमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामेदव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ष्ठसँग परामर्श गरेका छन्।
नेकपामा पछिल्लो समय चर्किएको शक्ति संघर्ष दुई अध्यक्षबीच बैठकमा बाहेक बोली बाराबारको अवस्थामा छ। अध्यक्षद्वय ओली र दाहालबीचको विवाद लिखित रूपमै आरोप प्रत्यारोपको उच्चतम तहमा पुगेको छ। एकले अर्कोलाई पार्टी विभाजन गर्न खोजेको लिखित आरोप लगाएपछि परिस्थिति थप गम्भीर बनेको हो।
मंगलबारको बैठकमा दुई अध्यक्षबीच ‘भनाभन’ भएको नेताहरूले बताएका छन्। त्यसपछि बुधबारको बैठकमा ओलीले अनुपस्थित हुने बताएका थिए। तर, आजको बैठकमा ओली पनि सहभागी हुने उनीनिकट नेताहरूले बताएका छन्।