गैरव्यावसायिक काम गरेको भन्दै दुई एसपी र एक इन्स्पेक्टर निलम्बित
गैरव्यावसायिक र संगठनको आचरणविपरीत काम गरेको भन्दै नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) निलम्बनमा परेका छन्।
प्रहरी प्रधान कार्यालयको सिफारिसपछि गृह मन्त्रालयले १६ मंसीरदेखि लागू हुनेगरी एसपीद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेत तथा इन्स्पेक्टर मेघराजप्रसाद चौरसियालाई निलम्बन गरेको हो।
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहँदा आचरणविपरीत गैरव्यवसायिक काम गरेको अभियोगमा उनीहरू निलम्बरमा परेका प्रहरी प्रवक्ता, बसन्तबहादुर कुँवरले हिमालखबरलाई बताए।
थप छानविनका लागि प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा समिति बनेको छ। आवश्यक अनुसन्धानपछि थप कारबाहीको प्रक्रिया अघि बढ्ने प्रहरी प्रवक्ता कुँवरले बताए।
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयको प्रमुख हुँदा एसपीद्वय यादव र बस्नेतले मातहतका युनिटबाट मासिक रकम उठाएको प्रधान कार्यालयमा उजुरी परेको थियो। प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई निलम्बन गरिएको हो।
इन्स्पेक्टर चौरसिया पनि यसअघि कर्णाली प्रदेश ट्राफिक कार्यालयमा कार्यरत थिए। हाल उनी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत छन्। एसपी यादव महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाह पथ र बस्नेत महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्।
यादव यसअघि सिन्धुलीमा कार्यरत रहँदा पनि गाँजा उत्पादन गर्नेप्रति नरम देखिएको चर्चा चलेको थियो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहेका बेला प्रहरी प्रधान कार्यालयले एसपी यादवमाथि छानविन गरेको थियो।