कांग्रेस वरिष्ठ नेता पौडेलले भने- महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन तनहुँले बुधबार दमौलीमा आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ भनेर आफूले आन्तरिकरुपमा सङ्घर्ष गरिरहेको बताए।
उनले भने, “प्रजातन्त्रको मुल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो। त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर मैले पार्टीभित्रै लडाइँ गरिरहेको छु।”
पार्टी र विधानको रक्षा गर्न पनि तोकिएको समयमा नै महाधिवेशन हुनुपर्नेमा उनले जोड दिए।
वरिष्ठ नेता पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रवर्द्धन र अन्यायविरुद्ध कांग्रेस सक्रिय भएर लाग्ने बताए।